भूकम्प आउने गलत हल्लाले चिसोमा घरबाहिरै रात बिताए

मुगु । विपद् बाजा बजाएर आउँदैन, कुन बेला आउँछ कुनै जानकारी नै हुँदैन । तर, कर्णालीका मुगु, हुम्ला, जुम्लामा भूकम्प आउने भन्दै स्थानीय रातभर जाग्राम बसेका छ्न् ।

मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत कर्णालीका जुम्ला, हुम्लाका स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका हुन् । केही दिनअघि बाजुरा केन्द्रन्दु बनाइ भूकम्प गएको थियो ।

त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी फेरि आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाको पछि लागेर रातभर घर घरबाहिर चिसोमा रात बिताउन पुगे । माघ महिनाको चिसो मौसममा न्यानो सिरकभित्र मस्त निन्द्रामा सुतेका कर्णालीका स्थानीयलाई राति १२ बजेपछि एकाएक निन्द्रा खुल्दै गयो ।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला छ्याप्छ्याप्ती भएपछि मानिसहरु हतारहतार घरबाहिर निस्किएर खुल्ला चौरमा बसे । तर, यस्तो गलत भ्रम कसले फैलायो भन्नेबारे थाहा छैन । मानीसहरु एकाएक गर्दै घरबाहिर निस्किएपछि भूकम्पको हलचलले मानीस भ्रमितसँगै त्रसित भएका छन् ।

भूकम्पको आउने डरले त्रसति भएर घरबाहिर निस्किएका स्थानीयहरु चिसो मौसमको समयमा सुरक्षीत स्थानमा आगो तापेर जागाराम बस्न बाध्य भएका थिए ।

सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालयको खुल्ला चौर, खाद्य संस्थानको चौर, महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा पुगे भने त्यहाँका स्थानीय पनि दूधे बालक काखमा च्यापेर सुरक्षीत स्थान खोज्दै खुल्ला चौरमा पुगेका थिए ।

यस्ता गलत सूचना प्रचारप्रसार गरेर मानीसमा त्रसित फैलाएर सामाजमा खलल पुर्याउनेलाई सम्बन्धित निकायले पत्ता लगाएर कारवाही गर्नुपर्ने स्थानीय बताउँछन् । यस्ता गलत सूचनाले सामाजिकरूपमा खलल मात्रै होइन, मानसिकरुपमा पनि खलल गर्ने भएकाले सम्बन्धित निकायले चासोका साथ खण्डन गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताए ।

यसैबीच भूकम्प आउने हल्लाको पछि लागेर स्थानीय त्रसित भएपछि छायाँनाथ रारा नगरपालिका विपद् व्यस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ । यता छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्व सूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । यस्तै हल्ला २० वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फिजाइको र त्यतिबेला पनि तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित रारा ताल आसपासका स्थानीय भागेर अग्ला–अग्ला स्थानमा गएका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया