एमालेकै ढोक्सामा राष्ट्रपति पद नपर्ने संकेत

काठमाडौं । राष्ट्रपति पदलाई लिएर नेपालको राजनीति झन, झन रोचक हुदै गएको छ । फागुन २८ अघि राष्ट्रपति निर्वाचन गर्नु अनिवार्यता छ । किनभने अहिलेकी राष्ट्रपति विद्यदेवी भण्डारीको पद फागुन २८ मा सकिदैछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा संसदको दोश्रो ठूलो दल नेकपा (एमाले) संग भएको सहमतिबाट माओवादी पछि हट्न लागेकोजस्तो देखिदैछ । माओवादीको यही हाउभाउले राष्ट्रपति पद आफ्नो ढोक्सामा पर्ने कुरामा नेपाली कांग्रेस जति विश्वस्त देखिएको छ, एमाले त्यतिनै संशंकित देखिएको छ ।
वर्तमान सरकार गठन हुँदाताका एमालेलाई राष्ट्रपति अनि प्रधानमन्त्री र सभामुख पद आलोपालो भन्ने सहमति भएको बताइएको थियो । सोहीअनुसार प्रधानमन्त्री प्रचण्ड र सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । अब राष्ट्रपतिमा भने माओवादीले बैठक नै बसेर राष्ट्रिय सहमति हुनुपर्ने निर्णय सार्वजनिक गरेको छ । माओवादी केन्द्रको बिहीबारको पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाले कांग्रेस हौसिएको छ भने एमाले झस्किएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले पनि विश्वासको मत दिने निर्णयप्रति कटाक्ष गर्दै काँग्रेसले थापेको ढोक्सामा माछा नपर्ने बताएका थिए । उनले मुखले कांग्रेसको ढोक्सा रित्तै हुने बताइरहँदा उनको अनुहारमा भने त्यतिको चहक देखिएको थिएन अर्थात उनी त्यतिबेलै झस्किएको अनुमान गर्न गाह्रो थिएन । अहिले आएर उनको त्यो झस्काई गलत थिएन भन्ने पुष्टि हुँदै गएको छ ।

एकथरी माओवादी नेता यो गठबन्धन प्रचण्डलाई सहज नभएको बताउदै आएका छन् । उनीहरूकाअनुसार प्रचण्ड अहिलेदेखि नै निसास्सिएको अनुभव गर्न थालेका छन् । एमाले अध्यक्ष ओलीकोभन्दा संघीयताको कट्टर विराधि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको अभिव्यक्ति र काम गर्ने शैलीले उनलाई वाक्क लगाउन थालिसकेको बताइन्छ । अर्को कांग्रेसले राष्ट्रपतिमा समर्थन गरे पाँचै वर्ष प्रधानमन्त्रीमा समर्थन गर्ने वचन दिएको बताइन्छ । एमालेसंगको गठबन्धन कायम राखे आलोपालोको पूर्वसहमति लागु गर्नु पर्ने हुन्छ । त्यसपछि प्रधानमन्त्री एमाले, सभामुख एमाले, राष्ट्रपति एमाले हुने भएकाले माओवादी तर्सिएको छ । माओवादीभन्दा कांग्रेस तर्सिएको छ ।

अर्कोतिर सत्तासाझेदार दलका मन्त्री प्रधानमन्त्री प्रचण्डभन्दा एमाले अध्यक्ष ओलीतिर ढल्किएकाले पनि उनले असहज महसुश गर्ने गरेको बताइन्छ । यसै प्रकरणमा शुक्रबार मात्र अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुँदा अकोृ किचोला थपिदिएको छ । रास्वपा गृहमन्त्री व्यक्तिले नभई भागवण्डामा पार्टीले पाएको बताएर गृहमन्त्री नछाड्ने बताइसकेको छ । कांग्रेस नेता शेखर कोइरालाले पनि शनिबार मात्र एक प्रशंगमा गृहमन्त्री दिने भए कांग्रेसले सरकारमा सहभागिता वारे सोच्न सक्ने जनाउ दिइसकेका छन् ।

हुनत प्रधानमन्त्री प्रचण्डले चाहेमा गृहमन्त्रीमा रवि लमिछाने नै सोमबारै फर्कन सक्ने स्थिति छ । आइतबार उनले नेपाली नागरिकता लिए आइतबारै पनि पुनः गृहमन्त्रीको सपथ लिन सक्छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डको सदाशयता आवश्यक हुन्छ । गैर–सांसद ६ महिनाका लागि मन्त्री हुन सक्ने प्रावधान संविधानमा व्यवस्था छ । यसको प्रयोग ओलीले नै युवराज खतिवडालाई अर्थमन्त्र िबनाएर गरिसकेका पनि छन् । तर, प्रचण्डले त्यसो गर्ने सम्भावना नरहेको उनकै पार्टीका एक नेता बताउँछन् ।

कांग्रेस प्रधानमन्त्री नदिएर बालकोट पुगेर ओलीको साथलिएर प्रधानमन्त्री नियुक्त भएर कांग्रेसलाई देखाइदिएका प्रचण्डले कांग्रेसले व्यवहारबाटै भूलसुधार गर्दै विश्वासको मत दिएपछि पग्लिएका छन् । यदी राष्ट्रिय सहमतिका नाममा माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई भोट दिए एमालेको ढोक्सामा सभामुख पदवाहेक केही रहनेछैन । किनभने एमाले, रास्वपा र राप्रपाले समर्थन फिर्ता लिंदा पनि प्रचण्डले कांग्रेस,एकीकृत समाजवादी, जसपा र लोसपाको समर्थन पाइरहने भएकाले बहुमत गुमाउने छैनन्, उनको प्रधानमन्त्री पद झन दिगो हुने कांग्रेस नेताहरूले सार्वजनिकरूपमै बताउदै आएका छन् ।

प्रतिक्रिया