माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडान कायमै छ : रञ्जिता श्रेष्ठ

टीकापुरका निर्दोष थारुहरुलाई रिहाइ गर्नुस्, हामी सरकारमा जान्छौँ भनिरहेका छौँ । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौँ भन्ने हाम्रो कुरा हो,' उनले भनिन् ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहा नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताइन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरु प्रतिवद्ध रहेको बताए । आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टीकरण थियो ।

‘टीकापुरका निर्दोष थारुहरुलाई रिहाइ गर्नुस्, हामी सरकारमा जान्छौँ भनिरहेका छौँ । सुदूरपश्चिम सरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौँ भन्ने हाम्रो कुरा हो,’ उनले भनिन्, ‘त्यसो भएन भने हामी बैठक बसेर आवश्यक निर्णय गछौंँ । आफूहरुको माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौँ ।’ अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।

प्रतिक्रिया