सरकारले हेक्का राखोस् : आत्मदाहको घटनाबाट

विनोद पौडेल

वैदेशिक भूमिमा कमाएर नेपालमै केही गर्छु भन्ने मनसाय बोकेका प्रेमप्रसाद जस्ता व्यक्तिले राज्यका निकाय अनि ठूला व्यवसायीको सिन्डिकेटको मारमा पर्दा जीवन आहुति दिन बाध्य हुन्छन् भने यो देशमा भविष्य खोज्ने अन्य नागरिकको अवस्था कस्तो रहला सोचनीय छ । यस्तै घटना मात्र निम्तिने हो भने यो देशमा युवा जमात बस्नै चाहँदैनन् । यहि देशमा केही गर्ने सोच र हुटहुटी भएका धेरै छन् तर राज्यका निकायले आफ्नो मात्र दुनो सोझाउँदा असली युवा उद्यमी पलायन या त संसारबाटै बिदा हुनुपर्ने अवस्था देख्दा निकै पीडा आमनेपालीमा जरुर पर्दछ ।

गत मंगलबार दिउँसो संसद् भवन अगाडिको डरलाग्दो दृश्य सामाजिक संजालमा छ्यापछप्ती भएको थियो । उक्त डरलाग्दो दृश्य के थियो भने, सूर्योदय नगरपालिका फिक्कल–११, केराबारी, इलामका प्रेमप्रसाद आचार्य सन्तोषले आत्मदाहको प्रयास गरेका थिए ।

आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमार्फत सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको भन्ने उल्लेख गरेका थिए । आफूलाई युवा उद्यमी भन्दै ३६ वसन्त पार गर्दा पनि कुनै पनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै व्यवसाय असफलताको कथा, राजनीतिक वितृष्णा र असहयोगको विषयमा लेख्दै सामाजिक संजालका पोखेका थिए । देशमा उद्यम गर्दादेखि विदेश जाँदासम्म भोगेका विषयवस्तु उल्लेख गर्दै उनले सरकारमाथि थुप्रै प्रश्नसमेत गरेका छन् भने सरकारका प्रतिनिधिलाई सल्लाह पनि दिएका छन् । विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरी पटकपटक आत्महत्या गर्ने प्रयास गरेको तर परिवारको मायाले गर्न नसकेको व्यक्त गर्दै योपटक कुनै विकल्प नेदेख्दा आत्महत्याको बाटो रोज्नुपरेको उनले फेसबुक स्टाटसमा उल्लेख गरेका थिए । उनलाई आत्मदाह गर्न कसैले उक्साए या आफैँ त्यो निर्णयमा पुगे त्यसको पनि सत्यतथ्य बाहिर आउनुपर्छ ।

आचार्यको बुधबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको हो । संसद् भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दै गर्दा आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो तर उनलाई बचाउन डाक्टर सफल भएनन् । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । अस्पतालमा स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले अवलोकन गर्ने क्रममा राम्रैसँग बोलिरहेका भए पनि उनीलाई चिकित्सकले बचाउन भने सकेनन् । उनले आत्मदाह गर्नुपर्ने प्रमुख कारण व्यवसायमा असफलता, साना व्यवसायलाई बेवास्ता, सरकारका सम्बन्धित निकायको उदासीनता, पारिवारिक असहयोगलगायत उल्लेख गरेका छन् ।

आत्महत्या गर्नुपर्ने बाध्यता उनको स्टाटसले बताउदँछ । उनले आफ्नो फेसबुकमा करिब ६ हजारभन्दा बढी शब्ददेखि पूर्णरूपमा तयारी गरी आत्मदाहको प्रयास गरेका थिए । उनलाई रोक्न सकिथ्यो तर ती पात्रले बेवास्ता गरे उनको स्टाटसमा उल्लेख छ । पोस्ट गर्नुपूर्व केही व्यक्तिलाई जानकारी गराइएको थियो तर रोक्न सकिएन । उनको जस्तो हालत मुलकका अन्य व्यवसायका नभएका छैनन् होला, यस्तै वितृष्णा मुलुकका अन्य व्यवसायीलाई हुँदै जाने हो भने मुलुकको अवस्था कस्तो रहला कल्पनासमेत गर्न सकिँदैन । केही गर्न खोज्ने उद्यमीलाई सरकारका निकायहरूले बचाइराख्नु पर्दछ । यो घटनाबाट सरकारलाई हेक्का होस् देशका नागरिक कुन रूपमा बाँचिरहेका छन् । आफ्नै मुलुकमा केही गर्न खोज्ने व्यवसायीलाई सरकारले संरक्षण गरोस् नत्र मुलुक अधोगतितर्फ जाने निश्चय नै देखिन्छ भन्दा अतियुक्ति नहोला ।

प्रेमप्रसाद आचार्य आज एक प्रतिनिधि पात्र हुन् यस्ता प्रेमप्रसादको जस्तो घटना दिनहुँ बाहिर आउने र दुर्घटना मात्र निम्तिने हो भने मुलुकको कुन अवस्था होला र नागरिक कुन हालतमा रहन सक्लान् यसको पनि हेक्का रहोस् यो सरकारलाई । स्टाटसमा उनले उत्पादित सामग्री उधारोमा खरिद गरी भुक्तानी नगरेका विभिन्न व्यक्ति, संस्था जो उल्लेख गरेका छन् तिनको छनविन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । यो सरकारले ध्यान लियोस्, कतै आत्मदाह गर्ने दुरुत्सान तिनैले गरेका हुन् या अन्य कारण छन् त्यसको पाटाहरू केलाउनु जरुरी छ । प्रेमप्रसादको जस्तो अवस्था अन्य व्यवसायीले भोग्नु नपरोस् जसका लागि यसै घटनाबाट सम्बन्धित निकायले समयमा नै यसका समाधानका उपायहरू केलाउनुपर्ने आवश्यकता रहेको छ ।

वैदेशिक भूमिमा कमाएर नेपालमै केही गर्छु भन्ने मनसाय बोकेका प्रेमप्रसाद जस्ता व्यक्तिले राज्यका निकाय अनि ठूला व्यवसायीको सिन्डिकेटको मारमा पर्दा जीवन आहुति दिन बाध्य हुन्छन् भने यो देशमा भविष्य खोज्ने अन्य नागरिकको अवस्था कस्तो रहला सोचनीय छ । यस्तै घटना मात्र निम्तिने हो भने यो देशमा युवा जमात बस्नै चाहँदैनन् । यहि देशमा केही गर्ने सोच र हुटहुटी भएका धेरै छन् तर राज्यका निकायले आफ्नो मात्र दुनो सोझाउँदा असली युवा उद्यमी पलायन या त संसारबाटै बिदा हुनुपर्ने अवस्था देख्दा निकै पीडा आमनेपालीमा जरुर पर्दछ । यसले राज्यलाई कति घाटा पर्छ त्यो राज्यले नै जानोस् ।

देशमा नयाँ सरकार छ, केही गर्ने जोश जाँगरका प्रतिनिधि सांसद छन् । त्यसैले होला प्रेमप्रसाद आचार्य नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिश्वप्रकाश शर्मा, योगेश भट्टराई, तोसिमा कार्कीलगायत तमाम नयाँ अनुहारहरूलाइ बिन्ती गर्दै सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरू आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस् भन्दै अन्त्यमा करका समस्या, वैदेशिक रोजगारमा जाँदाका समस्या, सहकारी खारेजी, शिक्षा स्वास्थ्यमा सरलता, गाँजा खेतीलाई वैधानिकता, स्वदेशी उत्पादनमा शून्य भ्याट सहितका विभिन्न विषयका सुझावहरू राखेर ध्यानाकर्षणसमेत गराएका छन् । उनका सुझावमा कत्तिको यथार्थपरक छ या छैन राज्यका संयन्त्रले ध्यान दिनुपर्ने हुन्छ । जसकारण स्वदेशमा नै केही साना व्यवसाय सञ्चालनमा सहजता मिल्ने उनको तर्क रहेको छ जुन जायज छ ।

मुलुकको वर्तमान अवस्था हेर्ने हो भने चरम आर्थिक संकटमा गुज्रिरहेको छ । भ्रष्टाचारले निकै जरो गाडेकोले मुलुकलाई थिलथिलो पारिसकेको छ । महँगीले आमनेपालीको ढाड दिनप्रतिदिन सेकिरहेको छ । स्वदेशमा रोजगारीको सुनिश्चितता पटक्कै छैन । भएका कलकारखाना उद्योगधन्दा संकटमा पुगिसकेका छन् भने थप उद्योगधन्दा सञ्चालनमा ल्याउन सकिरहेको छैन । तर सरकार केही गर्न खोज्नेका निमित्त मुकदर्शकका रूपमा हेरिरहेको मात्र छ ।

जनतालाई गरिबीले दिनप्रतिदिन गिजोल्दै छ, सहजै घरको चुल्हो बल्ने अवस्था छैन । साधारण मानिसमा आर्थिक जोहोका निमित्त केही गर्न खोज्दा पुँजीको अभाव, सजिलै बैंकले ऋण दिने अवस्था छैन, दिएको ऋणका चर्को व्याज, बैंक आफैँ संकटमा अवस्था छ । मुलुक यस्तो अवस्थामा रहँदा पनि मानिसले केही स्वदेशी उत्पादन गर्छु उत्पादित सामग्रीलाई यहि खपत गर्छु भनिरँदा खुट्टा तान्ने प्रवृत्तिले यहाँ अनाहकमा ज्यान गुमाउनु परेको अवस्था छ । जुन घटना प्रेमप्रसाद आचार्यसँग सम्बन्धित छ । यो उनले व्यक्त गरेका कथा हुन् यस्ता अव्यक्त कथा कति छन् कति त्यता ध्यान पु¥याउन यो नयाँ सरकारले तदारुकता देखाउन जरुरी छ । प्रेमप्रसाद आचार्यको जस्तो नियति अन्यले भोग्नु नपरोस् ।

प्रतिक्रिया