स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा सूर्योदय नगरपालिका पहिलो

इलाम । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा इलामको जिल्लाका १० स्थानीय तहमध्ये पर्यटकीय नगरी सूर्योदय नगरपालिका पहिलो भएको छ । संघीय मामलिा तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार सूर्योदय नगरपालिका पहिलो भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमुल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ९६ दशमलव २५ अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार सूर्योदयन गरपालिकाले स्वमुल्यांकन गर्दा १० वटा विषययक्षेत्रहरुको अङ्कभार जोड्दा १०० मा ९६ दशमलव २५ अंक पाएको हो ।

सूर्योदय नगरपालिकाले स्वमूल्याङ्कनमा सात वटा विषययक्षेत्रहरुमा १०० प्रतिशतमा १०० अङ्क नै पाएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार एवम् सहकार्य र समन्वयमा १०० प्रतिशतमा १०० अंक प्राप्त गरेको हो ।

यस्तै सामाजिक समावेशीकरणमा ९०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ८८ दशमलव ६४ र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ८३ दशमलव ३३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
दोश्रो स्थानमा परेको इलाम नगरपालिकाले ९३ अंक प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा माईजोगमाई गाउँपालिकाले ८१ दशमलव २५ अंक, चोथो स्थानमा चुलाचुली गाउँपालिकाले ७७ दशमलव २५ अंक, पाँचौ स्थानमा सन्दकपुर गाउँपालिकाले ६७ दशमलव २५ अंक, छैटौं स्थानमा माई नगरपालिकाले ६३ दशमलव २५ अंक प्राप्त गरेको छ ।

त्यस्तै सातौं देउमाई नगरपालिकाले ६० दशमलव २५ अंक, आठौं स्थानमा फाकफोकथुम गाउँपालिकाले ६० दशमलव ७५ अंक, नवौं स्थानमा माङसेबुङ गाउँपालिकाले ५७ दशमलव ५ अंक र दशौं अर्थात् अन्तिम स्थानमा रोङ गाउँपालिकाले ५२ अंक प्राप्त गरेको छ ।
मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमुल्यांकन गराउँदै आएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशितभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ठ स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ ।

प्रतिक्रिया