पिसाबको रंगले नै बताउँछ कतिपय रोग

डा. अनिल शाह

पिउने पानीको मात्रा बढ्दै जाँदा पिसाब पानीजस्तो देखिन थाल्छ । साथै, पटकपटक शौचालय जानुपर्ने हुन्छ । किनकि शरीरले ती सबै अतिरिक्त तरल पदार्थलाई बाहिर निकाल्न काम गर्दछ । कहिलेकाहीँ पारदर्शी पिसाब ठूलो कुरा होइन तर यदि यो लामो समयसम्म चलिरहेको समस्या हो भने तपाईंले नुन र इलेक्ट्रोलाइटको स्तर आफ्नो शरीरलाई चाहिने भन्दा कम गर्दै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ । यस्तो अवस्थामा विशेषज्ञ युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ ।

मानिसको पिसाब पानी, इलेक्ट्रोलाइट्स र फोहोरको मिश्रण हो जुन मिर्गौलाले रगतबाट फिल्टर गर्दछ । जब मानिस स्वस्थ र हाइड्रेटेड हुन्छ, पिसाब रंगहीन र हल्का पराल र महको रङको बीचमा खस्नुपर्छ । जब मानिसले पर्याप्त तरल पदार्थ उपभोग गर्दैन तब पिसाब अधिक केन्द्रित हुन्छ र गाढा पहेँलो वा एम्बर रंग बदलिन्छ । पिसाबको रङ दिनहुँ अलिअलि फरक हुनु सामान्य कुरा हो तर यो पहेँलो रंगको एक निश्चित दायराभित्र रहनुपर्छ ।
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ । यसले मानिसको शरीरमा के भइरहेको छ ? भन्ने बारे धेरै कुरा बताउन सक्छ । मानिस कत्तिको हाइड्रेटेड छ भन्नेदेखि पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि इत्यादि अवस्थाको बारे बताउन सक्छ ।

जब पिसाबको रङ परिवर्तन हुनासाथ आत्तिइहाल्नु पर्दैन, बरु आराम गर्नुपर्छ । केही खानेकुरा, एन्टिबायोटिकले अस्थायी रूपमा पिसाबलाई फरक रङ बनाउन सक्छ । निःसन्देह, पटकपटक लगातार फरक रङ आइराखे कहिलेकाहीँ ठूलो समस्याको संकेत पनि हुन सक्छ । यदि तपाईंले वास्तवमै यस्तो केही असामान्य कुरा देख्नुभयो भने, यसलाई बेवास्ता नगर्नुहोस् र नजिकैको युरोलोजिस्ट चिकित्सकलाई देखाउनुहोस् ।

त्यसो भए कुन रङ सामान्य हो र कुन असामान्य रङ हो केही छलफल गरौँ ।

पारदर्शी

सफा पिसाबले स्पष्ट सन्देश दिन्छ कि तपार्इंले धेरै पानी पिउनुभएको छ । अब यो सत्य हो कि तपाईंको शरीरलाई हाइड्रेटेड रहन र राम्रोसँग काम गर्न पानी चाहिन्छ । आधारभूत नियम भनेको मूत्र प्रणालीलाई सामान्य सञ्चालन गर्न दिनको लागि २ दशमलव ५ देखि तीन लिटरसम्म तरल पदार्थ पिउने लक्ष्य राख्नुपर्छ । तर, यो कुरा व्यक्तिको दिनचर्या, कामकाज, वातावरणको तापक्रम आदि इत्यादीले फरक पर्न सक्छ । तसर्थ तरल पदार्थ अथवा पानीको मात्रा भन्दा पनि २४ घण्टामा फेरिने जम्मा पिसाबको मात्रा बढी महत्वपूर्ण हुन्छ । एउटा बयस्क ब्यक्तिले सामान्यतया २४ घण्टामा कम्तिमा २ देखि २ दशमलव ५ लिटर जति पिसाब फेर्नुपर्छ । यसले पिसाबको रङलाई लगभग पारदर्शी राख्न मदत गर्छ ।

पिउने पानीको मात्रा बढ्दै जाँदा पिसाब पानीजस्तो देखिन थाल्छ । साथै, पटकपटक शौचालय जानुपर्ने हुन्छ । किनकि शरीरले ती सबै अतिरिक्त तरल पदार्थलाई बाहिर निकाल्न काम गर्दछ । कहिलेकाहीँ पारदर्शी पिसाब ठूलो कुरा होइन तर यदि यो लामो समयसम्म चलिरहेको समस्या हो भने तपाईंले नुन र इलेक्ट्रोलाइटको स्तर आफ्नो शरीरलाई चाहिने भन्दा कम गर्दै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ । यस्तो अवस्थामा विशेषज्ञ युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उचित हुन्छ ।

गाढा पहेँलो रङ वा फिक्का परालको जस्तो पिसाब

फिक्का पहेँलो रंगको पिसाबले तपाईं स्वस्थ र हाइड्रेटेड भएको संकेत गर्छ । त्यो पहेँलो रंग, शरीरद्वारा उत्पादित युरोक्रोम नामक पिग्मेन्टको कारणले हुन्छ ।

एम्बर वा मह रङको पिसाब

गाढा पिसाब भनेको शरीरले तपार्इंलाई संदेश दिन खोज्छ कि तपाई अलिकति बढी पानी पिउनुहोस् । गाढा रङ हल्का निर्जलीकरणको संकेत हो । यदि तपाईंले गर्मी दिनमा बाहिर पसिना बगाउनुभएको छ वा भर्खर कुनै किसिमको कसरत गरेर आउनुभएको छ भने यस्तो हुन सक्छ । पानीको मात्रा अलिक बढाउनुहोस्, रङ सामान्य बन्छ ।

सिरप वा खैरो रङको पिसाब

यस्तो रंगले निर्जलीकरण स्तर अझ चिन्ताजनक स्थितिमा पुगेको भन्ने संकेत गर्दछ । तुरुन्त तरल पदार्थको सेवन बढाउनु होस् । गहिरो खैरो रंगको पिसाब रगतमा पित्तको मात्रा सामान्यभन्दा बढ्नाले पनि हुनसक्छ, जुन कलेजो रोगको संकेत हो । खिया लागेको वा खैरो रङको पिसाब पोर्फेरिया रोग (छाला र स्नायु प्रणालीलाई असर गर्ने दुर्लभ अवस्था) को लक्षण पनि हो । यदि थप पानी खानाले पिसाबको रंग हल्का गर्दैन भने नजिकैको युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस् ।

गुलाबी तथा रातो रङको पिसाब

यस्तो अवस्थामा सर्वप्रथम तपार्इंले अन्तिम केही दिनभित्र सेवन गरेका खाने–कुराहरूलाई ध्यान दिएर सम्झिनुहोस् । बिट, ब्लुबेरी वा रूबार्ब चुकन्दरजस्ता खाने कुराहरूले यस्तो किसिमको पिसाब निकाल्न सक्छन् । यदि तपाईंले त्यस्ता केही खानुभएको छैन भने, यद्यपि, यस्तो रङको पिसाब छ भने यो चिन्ताको विषय हुन सक्छ । गुलाबी वा रातो पिसाब निम्न अवस्थामा पनि हुन सक्छ –‘मूत्रमा रगत, मिर्गौला रोग, मिर्गौला वा मूत्राशयको क्यान्सर, मिर्गौलाको पत्थरी, मूत्र प्रणालीको संक्रमण, प्रोस्टेटको समस्याहरू ।’ यदि रङ पहेँलोमा फर्किएन भने सकेसम्म चाँडो आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

सुन्तला रङको पिसाब

यदि तपाईंको पिसाब सुन्तला रंगको जस्तो देखिने हो भने तपाईं पर्याप्त पानी पिउनुहुन्न भन्ने सन्देश आउछ, वा तपाईंलाई कलेजो वा पित्त नलीको समस्या हुन सक्छ । वा यो कुनै किसिमको खाना, डाई वा औषधि सेवनले गर्दा हुनसक्छ । यस्तो अवस्थामा सर्वप्रथम पानी सेवनको मात्रा बढाउनुहोस् र यदि सुन्तला रंग हराउँदैन भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

नीलो वा हरियो रङको पिसाब

यो अवस्थाचाहीँ पक्कै एक फरक किसिमको अवस्था छ । सायद, यो तपाईंले खानुभएको कुराको परिणाम हो (अन्तिम केही दिनभित्र आफूले सेवन गरेका धेरै रंगीन खानेकुराहरू वा केही विशेष किसिमको औषधि बारे सोच्नुहोस्) यद्यपि, हाइपरक्याल्सेमिया गराउन सक्ने केही दुर्लभ आनुवंशिक रोगहरूले पनि तपाईंको पिसाब नीलो वा हरियो बनाउन सक्छ । मूत्र प्रणालीमा संक्रमण गर्नसक्ने केही निश्चित प्रकारको ब्याक्टेरियाको कारण पनि यस्तो समस्या आउन सक्छ । यस्तो अवस्थामा तपार्इंले आफ्नो युरोलोजिस्ट डाक्टरसँग सल्लाह गरेमा उचित हुन्छ ।

धमिलो रङको (क्लाउडी) पिसाब

पिसाब नलीको संक्रमण र मिर्गौलाको पत्थरीले पिसाब धमिलो हुन सक्छ । फेरि पनि निर्जलीकरण नै कारण हुन सक्छ । प्रशस्त पानी पिउनुहोस् र लक्षणहरू जारी रह्यो भने आफ्नो युरोलोजिस्ट डाक्टरलाई देखाउनुहोस् ।

पिसाबमा फोम आउनु वा फिँज हुनु

सामान्यभन्दा बढी मात्रामा पिसाब हुनु अथवा पटकपटक उच्च प्रेसरमा पिसाब गर्न खोज्नुले पनि पिसाबमा फोम या फिँज देखिन सक्छ । यद्यपि, अत्यधिक फोम अथवा फिँजले तपाईंको आहारमा अतिरिक्त प्रोटिनको मात्रा वा मिर्गौला समस्यालाई संकेत गर्न सक्छ । यदि यो लगातार हुन्छ भने तपाईं युरोलोजिस्ट डाक्टरसँग कन्सल्ट गर्नुहोस् ।

तसर्थ, तपाईंले आफ्नो पिसाबको रङ हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ । आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ । डाक्टरले पिसाबको केही जाँच गरेर अवस्थाबारे थप सुझाव दिन सक्छन्, जरुरी परेको अवस्थामा थप रगत अथवा मिर्गौलासम्बन्धी केही जाँच गर्न सक्छन् ।

(लेखक नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्)

प्रतिक्रिया