भूकम्पमा परेर बाजुरामा एक महिलाको मृत्यु

काठमाडौं । भूकम्पमा परेर बाजुरामा एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाको गौमुल गाउँपालिका– २ की ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लिएर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

रोकाय बारीमा घाँस काट्दै गरेको अवस्थामा भूकम्पले हल्लाएर भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

यस्तै, गौमुल गाउँपालिका–१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको असर भारतमा पनि परेको बताइएको छ ।

प्रतिक्रिया