विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

गलेश्वर । ‘गाउँगाउँ जस्तो छैन

सहरसहर जस्तो छैन ।

कसकसले केके गर्दिए कुन्नि

आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।।’

कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशंखर हुँदै जान थालेको छ ।

रुमका चिल्ला ढुंगाले छाएर चिटिक्कै पारिएका छाना । टुनी र सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली । तीन÷चार हल गोरु नारेर दाइँ हाल्न मिल्ने ठूलो आँगन । आँगनकै छेउमा बाह्रैमास पानी झरिरहने धारो । घरको नजिकै धन्सार सहितको गोठ । वरिपरि खेतबारीको हरियाली । उत्तरतिर हेर्दा मुसुक्क मुस्कुराएजस्ता देखिने धौलागिरि हिमशृंखला ।

हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको यो सौन्दर्य अहिले बसाइँसराइका कारण एक्लिँदै जान थालेको छ । गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिस छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भिरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् ।

विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहरबजार र तराईतिर जानेक्रम भने नरोकिएको मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले बताए । रुम मात्रै होइन, आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको जिल्लाका दर्जनौँ गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् ।

एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराइले पातलिँदै गएका छन् । अहिले अवस्था पूरै फेरिएको छ । मालिका, मंगला र बेनी नगरपालिका विभिन्न बस्तीबाट सबैभन्दा बढी बसाइँसराइ भएको छ । कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना भएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोस दिने मानिस छैन ।
जिल्लाका ग्रामीण भेगहरूमा पुग्दा बाक्ला घरहरू त देखिन्छन् तर घरमा बस्ने मानिसहरू भेटिँदैनन् । ताल्चा लगाइएको घरको ढोका अगाडिको पिँढी र आगनमा झार उम्रिएको छ । प्लास्टिकले ओत दिएर घर अडाइएको छ । घरहरूमा भेटिएका केही थान मानिसहरू पनि उमेरले ज्येष्ठ नागरिकहरू नै थिए । रित्तिएका घरहरूका खेतबारी पनि बाँझा छन् । अगेनीमा ऐँजैरु पलाएको छ ।

पछिल्लो आमनिर्वाचनमा कुल मतको ४३ प्रतिशत मत मात्र खसेको बेनी नगरपालिका–३ तोराखेत गाउँको अवस्था पनि यस्तै छ । क्षेत्री र दलित समुदायको मिश्रित बसाई रहेको यो गाउँ पहिराका कारण पनि उजाडिएको छ । एक दशकअघिसम्म २ सय १७ धरधुरी रहेको यो गाउँमा अहिले ३९ घर परिवारको मात्र बसोबास रहेको र अरू सबै बसाइँसराइ गरी अन्यत्र गइसकेको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए ।

गाउँघर रित्तिँदै जाने सिलसिला रुम र तोराखेतको मात्र होइन, जिल्लाका अधिकांश बस्तीहरूको यो साझा समस्या हो । जिल्लाको पश्चिमी क्षेत्रका वडाहरूमा बर्सेनि सयौँ परिवारले गाउँ छोड्ने गरेका छन् । गाउँमा उत्पादनमुखी काममा लाग्नुभन्दा घरमुलीको जागिरको पैसाले सहरको बसाईमा रमाउनेको संख्या अधिक देखिन्छ ।

उता शिक्षा र स्वास्थ्य सेवा गाउँघरमा उपयुक्त नपाएका कारण पनि ग्रामीण समुदायको बसाई रित्तिँदै गएको छ । सहर केन्द्रित बसाई पछिल्लो दुई दशकदेखि बढेर गएको हो । पचासको दशकमा देशमा सुरु भएको सशस्त्र जनयुद्धले धेरै गाउँका मानिसहरू सदरमुकाम र बजार क्षेत्रमा झरे । युद्ध सकिएको साठीको दशकमा यो क्रम रोकिने विश्वास थियो तर बसाइँसराइ रोकिएन ।

पछिल्लो राजनीतिक मुद्दा पनि बसाइँसराइ रोक्नुपर्छ भन्ने छ । निर्वाचनका बेलामा म्याग्दी जिल्लाका प्रतिनिधिसभाका सांसद खमबहादुर शेरपुंजा (खम्वीर) ले पनि गाउँको बसाइँसराइ रोक्ने योजना सार्वजनिक गरेका थिए । उनले गाउँमा मोटरबाटो निर्माण भएको, घरघरमा खानेपानी र अन्य पूर्वाधार बन्दै गरेको भए पनि गाउँका बस्ती रित्तिएकामा चिन्ता व्यक्त गरे ।

एक दशकअघि ५२ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २२ घरधुरी मात्रै छ । त्यसैगरी २ सय १७ घरधुरी भएको उपल्लो ज्यामरुककोट क्षेत्रबाट ६२ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडा सदस्य चन्द्रकान्त शर्माले बताए । बेनी नगरपािलका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले पाँच वर्षमा ४६ बढी परिवारले बसाइँ सरेको जानकारी दिए । गाउँमा विकासले विस्तारै गति लिँदै गरे पनि बसाइँ सर्नेको संख्या भने कमी नभएको उनले सुनाए ।

गाउँमा समस्या पर्दा सहयोग गर्ने छिमेकीसमेत पाइन छाडेको मालिका गाउँपालिका–५ देविस्थानका ६४ वर्षीय शेरबहादुर बुढाले बताए । बसाइँ सरेर जाने क्रमले गाउँमा विकास निर्माणको काम गर्नसमेत समस्या भएको उनले सुनाए । म्याग्दीबाट प्रायः काठमाडौं, पोखरा, चितवनलगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने गरेका छन् ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा ग्रामीण भेगका बस्ती शून्य बनेका छन् । संघीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा थपिदै गए पनि बसाइँसराइ घट्नुको साटो बढिरहेकामा स्थानीय जनप्रतिनिधिहरूलेसमेत चिन्ता गरेका छन् ।

बढ्दो बसाइँसराइले गाउँघर खाली बन्दै गएका छन् । बस्ती पातलिँदा असुरक्षा बढ्दै गएको रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए । प्रायः छोराहरू वैदेशिक रोजगारीमा जाने र पैसा कमाएपछि सपरिवार सहर झर्ने गरेको उनले सुनाए । ‘कतिपयले गाउँमा भएको घर, खेतबारी बेचेर सहर झरेका छन् भने केहीले खेतबारी बाँझै छोडेर सहर झरेका छन्,’ भण्डारीले भने, ‘आमाबुबा पनि छोराछोरीकै साथ लागेर सहर झर्ने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन जंगलमा परिणत हुँदै गएका छन् ।’

अहिले जिल्ला बाहिर मात्र नभई जिल्लाभित्रै पनि गाउँ छोडेर बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढ्दो छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र सदरमुकाम बेनी, दरबाङ, गलेश्वर, पोखरेबगर, बाबियाचौरलगायतका बजार क्षेत्रमा जनघनत्व बढ्दै गएको छ । द्वन्द्व, झैझगडा, जंगली जनावरको आतंकलगायतका कारण वर्षाैं पहिलेदेखि सुरु भएको बसाइँसराइ गाउँगाउँमा सडक, बत्ती, खानेपानी पुग्दा पनि नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

अहिले गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । छैनन् त केवल प्रकृति, विकास र अवसरलाई सदुपयोग गर्ने युवा । ‘युवा नहुँदा गाउँ, गाउँघरजस्तो लाग्दैन । गाउँले, गाउँले जस्ता देखिँदैनन्,’ आफ्ना २६ वर्षीय छोरालाई विदेश जानबाट रोकेर गाउँमै कृषिकर्ममा लगाएका ज्यामरुककोटका चन्द्रबहादुर कार्कीले भने, ‘मुलुकमा आएको ठूलो परिर्वतनसँगै गाउँलेका रहर र सपनामा पनि परिवर्तन आएको छ । केटाकेटी १० कक्षा पास गरेपछि सहर पस्छन् । १२ पास गरे परदेशी बन्छन् । विदेश जान गाउँमा होड चल्छ । गाउँमा रहेका अवसरहरूप्रति त कसैको आँखै लाग्दैन ।’

म्याग्दीमा केही समययता विदेशबाट फर्केर गाउँमै उद्यम गर्ने युवाहरूको संख्या बढ्दै गए पनि विदेश नै नगई गाउँमा नै अवसरहरूको खोजी गर्ने युवा भने नगण्य मात्रामा छन् । ‘स्कुले बालबालिकादेखि लिएर ४५ वर्षीय वयस्क व्यक्तिले समेत विदेशकै चाहना राख्छन्,’ बुद्ध एकेडेमीका शिक्षक प्रेम शाहीले भने, ‘कक्षामा बालबालिकालाई भविष्यमा तिमी के बन्ने चाहना राखेका छौँ ? भनेर सोध्ने हो भने धेरैको मुखबाट ‘लाहुरे’ शब्द फुत्त निस्कन्छ ।’

प्रतिक्रिया