सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार बस्ने भएको छ । सोमबार प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको बैठक मंगलबार बस्ने जनाएको छ ।माघ १ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार माघ २ गते नेपाल राज्यभर राष्ट्रिय शोक बिदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएकोले सोमबार विहान ९ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित भएको हो । उक्त बैठक मंगलबार बिहान १० बजे बस्ने गरी आह्वान गर्नेे सोमबार बसेको सर्वदलीय बैठकको निर्णय भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि भएका प्रदेशसभा बैठकले सभामुख चयन गर्न सकेको छैन । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार सोमबार अन्तिम दिन हो । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो ।

यसअघि दुईपटक भएको सभामुखको निर्वाचनमा कुनै पनि उम्मे्दवारले बहुमत प्राप्त नगरेकाले सभामुख चयन हुन सकेको छैन । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेद्वार रहेका छन् ।

पहिलोपटक पुस २८ गते भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत र कांग्रेसका रावलले २३ मत पाएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ जना सदस्य आवश्यक पर्छ । सो दिन सत्ता गठबन्धनको एक मत बदर भएको थियो भने सत्ता गठबन्धन दल एमालेका सांसद चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए ।
दोस्रोपटक पुस ३० गते भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सहमति कार्यान्वयन नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेद्वारको बहुमत पुगेन ।

सो दिन सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत र कांग्रेसका रावलले २२ मत पाए । मतदानमा ४४ जना सांसदले भाग लिएका थिए । नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसे । कांग्रेसका एक सांसद अनुपस्थित रहे भने कांग्रेसकै शिवराज भट्ट सभामुखको भूमिकामा रहेकाले मतदान गर्न पाएनन् ।
यस प्रदेशमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ सांसद छन् । त्यस्तै नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया