महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । ०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको सो स्वास्थ्य संस्था ०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालमा रूपान्तरण भए पनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भयो । तत्कालीन समयमा डा.गणेशदत्त भट्ट एक जना चिकित्सकले मात्रै जिल्ला अस्पताबाट सेवा प्रवाह गरेका थिए । जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै ०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रूपमा परिणत भयो । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।

०४५ सालमा अस्पताल समिति विकास गठन भयो । ०६१ सालमा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी सय शय्याको सञ्चालन गर्न स्वीकृति प्राप्त भयो । अस्पतालका लागि भौतिक पूर्वाधार निर्माण भए । तर अस्पतालले आवश्यक जनशक्तिको अभाव झेलिरह्यो । प्राथमिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल, अञ्चल अस्पताल हँुदै उप–प्रादेशिक अस्पतालसम्म स्तरोन्नति भयो तर अस्पतालले स्थापनाकालदेखि नै दरबन्दी अनुसारका विशेषयज्ञ चिकित्सक कहिले पाएन ।

२८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक १५ जना मात्रै रहेका छन । विशेषज्ञ बाहेक जनरल फिजिसियन कार्यरत रहे पनि जनशक्ति अझै अपुग नै छ । हाल गाइनो विशेषज्ञ दुई जना एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिस्ट र एनएसथेसिया लगायतका विशेषज्ञ मात्रै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भट्टले जानकारी दिए ।

विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकमीसमेत अभाव रहेको उनले बताए । ‘पर्याप्त जनशक्ति अभावकै कारण हामीले कोभिडका बेला निर्माण गरेका वार्ड सञ्चालनमा ल्याउन सकेका छैनाँै ।’ उनले भने, ‘अस्पतालको सेवा विस्तार हँुदै गए पनि स्थापनाकालदेखि कहिल्यै दरबन्दी अनुसारका चिकित्सक भएनन् ।’ यसका कारण यहाँको स्वास्थ्यसेवा प्रवाहमा समस्या हुने गरेको उनले बताए ।

महाकाली अस्पताललाई सुविधामा राखिएकाले यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पताल व्यवस्थापन समितिका पूर्वध्यक्ष अशोक पाण्डेयले बताए । ‘हामीले अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन धेरै प्रयास ग¥याँै, चिकित्सक आउन मानेनन्’, उनले भने, ‘यहाँ आम्दानी कम छ निजी मेडिकल छैनन्, अस्पतालबाट अतिरिक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।’ विगतका वर्षमा चिकित्सकमाथि हुने धरपकडले पनि महेन्द्रनगरमा चिकित्सक आउन नचाहने उनले बताए ।

स्वास्थ्यजस्तो संवेदनशील ठाउँमासमेत राजनीतिक हस्तक्षेप हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको यहाँका स्थानीयवासी मदन चन्द बताउँछन् । ‘राज्यले पनि स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी भनेको ठाउँमा जादैनन्’, उनले भने, ‘यहाँका स्थानीय र यहाँबाट निर्वाचित भएर गएकालेसमेत यसप्रति चासो नदिएका कारण दरबन्दी अनुसारका चिकित्सक अभाव भयो ।’

प्रतिक्रिया