आरआर क्याम्पसबाट ३ जना विद्यार्थी निष्कासित

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै ३ जना विद्यार्थीलाई निष्कासन गरेको छ । सोमबार क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति जारी गर्दै कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई निष्कासन गरिएको जानकारी दिएका छन् ।

उनीहरूले गत पुस १३ गते कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरी क्याम्पसको शैक्षिक वातावरणमा खलल पुऱ्याएको क्याम्पस प्रमुख ज्ञवालीले बताएका छन् । उनीहरूलाई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको उनले बताएका छन् ।

पुस १३ गते भएको झडपमा अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मदन भण्डारीसहित ४ जना घाइते भएका छन् । क्याम्पस कमिटीको सम्मेलनलाई लिएर विवाद हुँदा अनेरास्ववियुकै दुई गुटबीच झडप भएको बताइएको छ ।

प्रतिक्रिया