एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा रावल चयन

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । शनिवार एमालेका जेष्ठ प्रदेशसभा सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । त्यस्तै बैठकले दलको उपनेतामा सन्तोष थापा शर्मालाई चयन गरेको उनले बताए ।

एमालेको पोलिट व्यूरो सदस्य समेत रहेका रावल समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । बैठकमा एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट समेतको उपस्थिति रहेको थियोे । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसद छन् ।

नेकपा (माओवादी केन्द्र)ले पनि आजै संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै दलको नेता चयन गरिसकेका छ्न । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र एकीकृत समाजवादीले दीर्घबहादुर सोडारीलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेको छ ।

प्रतिक्रिया