बझाङ । अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी ।
यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गरे, ‘हजारे पसल’ । रु एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल ।
बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उनले निरन्तरता दिएका छन् । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उहाँको पसलका ग्राहक गाउलेहरू नै छन् ।
खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका उनी गत वर्ष आएको बाढीपछि बेसहारा बनेका हुन् । बाढीले सर्वस्व गुमाएसँगै उनको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ ।
मध्यम वर्गीय खाती परिवारलाई गत वर्षेदेखि खाने गास न कमाउने जमिन भएको छ । ‘घर न घाटजस्तै भयो’, उनले भने, ‘वर्षभरि खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ, गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।’
अहिले उनको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने नै । त्यही अवस्थालाई भुलाउने काम उनको पसलले गरिरहेको छ । उनको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उनी आफैँ काममा गए । गरिबी निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई–तीन दिन काम गरेको पैसा मागे । बिहानै तमैल बजार गएर रु एक हजारसम्मको सामान ल्याए ।
बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उहाँले सामान ल्याएर काम गर्ने ठाउँमै लिए । पछि बाटोको काम सकिएपछि घरमै राखे । ‘गाउँदेखि बयलपाटासम्म २५–३० मिटरसम्म बाटो काट्यौँ’, खातीले भने, ‘बाटो काट्दा हामीले दैनिक रु सात सय ज्याला पायौँ, त्यसबाट आएको पैसाले पसलकै सामान थपेँ ।’
उनका अनुसार आठ दिनसम्म गरेको कामबाट रु पाँच हजार मिल्यो । पसल थपेपछि आफूलाई साबुन सरप किन्न फाइदा भएको उनले बताए । ‘दैनिक दुई अढाइ सय बराबरको सामान बिक्री हुन्छ’, उनले भने, ‘त्यसबाट फाइदा त रु २०–२५ मात्रै हो, कहिलेकाहीँ रु एक सय जति पनि फाइदा हुन्छ, त्यसबाट साबुन सरप आउँछ ।’
घरमा रोजगारी कोही नभएको हुँदा नुनतेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उनले बताए । ‘कमाउने मान्छे कोही छैन, आफू वृद्ध भइसकेँ, खेतबारी नि छैन, छोरोको अवस्था प्यारालाइसिसको बिरामी त्यस्तै छ ।’ उनले आफू वृद्धले केही गर्न सक्ने बताए । ‘अब म बूढो कसरी के गरिखाउँ ? दिन बिताउनै निकै आपत् परेको छ ।’
अहिले उनको परिवारमा ६ जना सदस्य छन् । नाति नातिनीसहित छोरा–बुहारी र उनको दम्पती सबै बेसहाराजस्तै बनेको उनले सुनाए । प्रेमबहादुरकी बुहारीले घरमा एउटा गाई पालेकी छन् । उनको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । ‘अलि–अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ’, उनले भने ।
अहिले खातीको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित छैन । ‘यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खोलै छ, घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ’, उनले भने । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेरभित्र लैजान्छन् । ‘मेरो दैनिकी पनि यस्तै बितेको छ’, उनले भने ।
अहिले खातीका ४–६ वर्षका नाति–नातिनी बयलपाटा खातीगाउँकै विद्यालयमा पढ्छन् । उनीहरूलाई कापी–कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उनले बताए । ‘काम केही छैन, कतै जाने ठाउँ पनि छैन’, उनले भने, ‘दिन काट्न पनि निकै गाह्रो हुन्छ, जग्गा–जमिन केही छैन, दिनभर म वृद्धसँग बस्ने कोही छैन, त्यसैले यो पसलमा भुलिरेहको छु ।’
प्रेमबहादुरका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनुपथ्र्यो । अहिले पनि हातखुट्टा चल्दैन । ‘छोराको हात–खुट्टा चल्दैन, दायाँ हात, दायाँ खुट्टाको भाग पूरै नचल्ने छ, अहिले खाना खुवाउनु त पर्दैन, बायाँ हातले खान सिकिहाल्यो’, उनले भने ।
‘छोराको समस्या भएको (प्यारालाइसिस) ६–७ वर्ष भइसक्यो, उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ’, उनले भने ।
अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोग खर्चमात्रै भएको तर, निको नभएको उनले बताए । उनले भने, ‘के पो भयो खै ! कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ, जडीबुटी पनि सबै गरेका हौँ तर केही भएन ।’
अहिले उनले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । ‘खोला नजिक भएको हुँदा कहिलेकाहीँ त माछा मारेर भए पनि छाक टार्छौँ, जालमा तीन–चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक–एक रोटी खाएका छाक धेरै छन् ।’
खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौँतारिरहेका छन् । ‘दुई परिवारको घरसहित केही बाँकी रहेन’, स्थानीय सुरेन्द्र खातीले भने, ‘बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन, अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन्, सरकारी निकायबाट सधैँ बेवास्ता भइरह्यो ।’
प्रतिक्रिया