जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्याे

बिहेमा रमाइलो गर्दागर्दै झगडा

जाजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नम्बर ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

बिहेमा रमाइलो गर्दागर्दै झगडा

छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । कुटाकुटमा दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर, दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्याइदिन आग्रह गरे ।

दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भएको हो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया