विकास निर्माण र सामाजिक कार्यमा बढ्दै महिला सहभागिता

मान्म । चुलोचौकामा सीमित रहने कालीकोटका महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुनु थालेका छन् । कालीकोटमा अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् ।

प्रायः पुरुषहरू रोजगारीका लागि भारत, खाडी मुलुक तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिलामात्र रहेकाले सबै काम महिलाले गर्नुपर्ने अवस्था रहेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बताइन् । ‘पुरुषहरू घरमा भए पनि काम गर्नलाई अग्रसर हुँदैनन्,’उनले भनिन्, ‘चुलोचौकादेखि अन्य सबै काम महिलाले नै गर्नुपरेको छ ।’

पुरुषहरु घरमा भए पनि जुवातास, रक्सीमा व्यस्त हुने गरेका कारणले सबै काम आफूहरूले नै गर्नुपरेको रास्कोट नगरपालिका पूर्व उपप्रमुख मिमसरा शाहीले बताइन् । घरमा रहेका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएका कारणले महिलाले नै सबै काममा अग्रसर हुने गरेको उनले सुनाइन् ।

सबै प्रकारका कामको बोझ हुने भएकाले यहाँका महिलालाई मेलापात, भान्सा, भारी बोक्नेदेखि हाटबजारसम्मका काम गर्ने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका राजनीतिककर्मी सीता रावलले बताइन् । उनले भनिन्, ‘गाउँका महिलालाई कामको बोझ धेरै हुने गर्दछ । त्यसैले यहाँका महिला बढी काम व्यस्त हुने गर्छन् ।’
गाउँमा पुरुष नहुँदा स्थानीय विकास निर्माण तथा अन्य रोजगारीका काममा महिला सहभागिता हुने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणका कामसँगै स्थानीयरूपमा हुने अन्य विकास निर्माणका काममा पनि महिला नै सहभागी भएको रास्कोट नगरपालिका–८ कलसा विकले बताइन् । ‘हामीले स्थानीय विकास निर्माणका काममा पनि सक्रिय सहभागिता जनाउने गरेका छौँ,’ उनले भनिन् ।

गाउँघरमा हुने धारा, पधेँरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणका काममा पनि महिलाको विशेष सहभागिता रहने गरेको पचालझरना गाउँपालिका–५ का मनपुरा बमले बताइन् । ‘हामी गाउँमा नै बसेर विकास निर्माणका काम गरेर आम्दानी गर्ने गरेका छौँ ।’

जाँडरक्सी नियन्त्रणमा गाउँका महिला

महिला सामाजिक काम पनि त्यत्तिकै सक्रिय रहेका छन् । जिल्लाको महावै गाउँपालिका–६ गेला गाउँका महिलाले अवैध मदिरा बन्द गर्ने अभियान सञ्चालन गरेका छन् । यहाँका महिलाले गाउँमा मदिराकै कारण घरेलु हिंसा बढेको भन्दै मदिरा रोक्ने अभियान थालेका हुन् । मदिराले अर्थावस्था कमजोर हुँदै जाने, सामाजिक मान–प्रतिष्ठामा आँच आउने, घरेलु हिंसाका घटना र सामाजिक विकृति बढ्ने भएकाले यो अभियान थालेको महावै गाउँपालिका–६ गेलाका स्थानीय जलसा परियारले बताइन् । ‘मदिराले पैसाका नास गर्नुका साथै सामाजिक विकृति पनि व्यापक हुन थाल्यो,’ उनले भनिन्, ‘यसलाई रोक्न अभियान थालेका हौँ ।’

नरहरिनाथ गाउँपालिका–८ का महिलाले आमा समूह गठन गरेर सामाजिक विकृति फैलाउने जाँडरक्सी नियन्त्रण गर्न अभियान चलाएका छन् । गाउँमा विकृतिविरुद्ध जनचेतना जगाउन आमा समूह गठन गरेर गाउँमा जाँडरक्सी नियन्त्रण गर्ने अभियान थालिएको स्थानीय आमा समूहका सचिव मनकला विष्टले बताइन् । आमा समूहलाई स्थानीय सरकारले सहयोग गर्ने गरेको बताउँदै सचिव विष्टले भनिन्, ‘जाडरक्सी खाएर गाउँमा होहल्ला गरेर जरिवाना गर्ने गरिएको, बनाएर बेच्नेलाई पनि चेतावनी दिने गरिएको छ ।’

महिला एकजुट भएको देख्दा अहिले गाउँका राजनीतिक दल र अन्य समाजसेवीले पनि सहयोग गर्न थालेका स्थानीय रामपुरा भण्डाराले बताइन् । ‘अभियानले समुदायमा मेलमिलाप र एकताको सन्देश दिएको र घरपरिवारमा हुने फजुल खर्च पनि नियन्त्रण भएको छ,’ उनले भनिन्, ‘यो गाउँमा अहिले कोही पनि जाँडरक्सी खाएर होहल्ला गर्ने र सामाजिक विकृति फैलाउने काम बन्द भएको छ ।’

गाउँघरमा कच्ची अवैध मदिरा उत्पादन गर्नेको पहिचान गरेर पहिला घरेलु मदिरा उत्पादन नगर्न र आग्रह गर्दै अभियान सञ्चालन गरिएको छ भने कसैले मदिरा पिएमा कारबाही गर्नेसम्मको अभियान सुरु गरिएको स्थानीय कमला शाहीले बताइन् । उनका अनुसार एक सय घरधुरीमा अवैध मदिरा उत्पादन हुने गरेको पाइएको थियो । ‘पहिले प्रहरी चौकी पाद्मगाडमा महिलाले अवैध मदिरा बन्द गरी पाउँ भनेर उजुरीसमेत दिएको त्यसले नियन्त्रण हुन नसकेपछि अभियान थालेका हौँ,’ उनले भनिन् ।

प्रतिक्रिया