पश्चिम सेती आयोजनाको काम छिटै अघि बढ्छ : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती आयोजना निर्माणको काम छिटै अघि बढ्ने बताएका छन् । पश्चिम सेती आयोजनाको भारतीय कम्पनीले लाइसेन्स लिइसकेकोले पश्चिम सेती आयोजना बन्नेमा विश्वस्त रहेको उनले बताए ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको बिहीबार उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम सेती आयोजनाको भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ, निर्माणको काम अघि बढ्छ, करिव करिव पश्चिम सेती आयोजना बन्ने भइसकेको छ, त्यो भरपर्दो कम्पनी हो, ठग्ने कम्पनी होइन, त्यसैले विश्वास छ, त्यो काम हुन्छ ।’

त्यसका साथै पञ्चेश्वर आयोजनाको भारतका प्रधानमन्त्रीले चासो राखेकोले त्यो आयोजनाको काम पनि अघि बढ्ने प्रधानमन्त्री देउवाले जिकिर गरे । ‘पश्चिम सेती र पञ्चेश्वर आयोजना बनेमा सुदूरपश्चिम प्रदेशको ठूलो विकास हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने ।

सुदूरपश्चिम आर्थिक र पर्यटकीय विकासमा ठूलो सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले थपे, ‘सुदूरपश्चिममा खप्तड, रामारोशनलगायत यहाँका पर्यटकीय स्थलदेखि तराइका सुन्दर फाँटहरु रहेका छन् ।’

पर्यटन र कृषिको विकासबाट यस प्रदेशमा आर्थिक समृद्धि ल्याउन सकिने बताउँदै उनले भने, ‘दुवै ठूला मुलुकसँग सीमा जोडिएको यस प्रदेशमा पर्यटन सम्बद्र्धन,औधोगिक वस्तु उत्पादन, कृषि,पशुपालन, जडिबुटीबाट आर्थिकरुपमा विकास गर्न सकिने सम्भावना छन् ।’

यसका लागि प्रदेश सरकार, स्थानीय तहहरुले एक आपसमा समन्वय गरी अगाडि बढ्न आवश्यक भएको भन्दै प्रधानमन्त्री देउवाले यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताए ।

उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने पञ्चेवाजा, सखिया नाच, गौरा प्रदर्शन गरिएको थियो । बिहीबारबाट सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया