निर्माता संघमा जोडिए गिरी र बानियाँ

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत गरिएको छ । नेपाली चलचित्र निर्माताहरूको छाता संगठनको रुपमा रहेको संघको मंगलबार बसेको कार्यसमिति बैठकले उनीहरुलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको हो ।

निर्माता गिरीले छक्का–पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाएका छन् । यसैगरी निर्माता बानियाँ पनि लगातार चलचित्रमार्फत सफलता हात पारिरहेका छन् । उनी निर्मित चौथो चलचित्र ‘महापुरुष’ अहिले प्रदर्शन भइरहेको छ । यस चलचित्रले रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको निर्माण पक्षले जनाएको छ ।

संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा सफलता प्राप्त गरेका दुई निर्मातालाई जोडेको बताए । उनले भने, ‘नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ । हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको संगठन बनाउनु हो ।’ अध्यक्ष खड्काले आफूहरुले चलचित्र क्षेत्रलाई अगाडि बढाउने योजना बनाइरहेको बताए । उनले थपे, ‘हामी नेपाली फिल्मलाई प्रत्यक्ष रूपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।’

अध्यक्ष खड्काका अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित संघमा जोडिएको निर्माता बानियाँले बताए । उनले भने, ‘हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ । हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।’ संघले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित चलचित्र निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।

प्रतिक्रिया