भारतीय हेपाइ झन् झन् बढ्दो

छिमेकी देश भारतले सीमा नदी महाकालीको बहावलाई प्रभावित पार्ने गरी पक्की तटबन्ध निर्माणको काम जारी राखेको छ । गत भदौमा बाढी आउँदा महाकाली नदीको बहाव धार नेपाल(पूर्व) तर्फ सरेको थियो । त्यसैलाई आधार बनाएर भारतले यतिबेला नदीको पश्चिमी किनारामा धमाधम पक्की तटबन्ध निर्माण गरिरहेको छ । जसका कारण नदीको पूरै धार नेपाली भूमीमा परेको छ । जिल्ला सदरमुकाम दार्चुला बजारलगायत नेपाली भूमि महाकाली कटानको थप जोखिममा परेपछि स्थानीय बासिन्दा आक्रोसित हुँदै प्रतिकारमा उत्रेका छन् । गत शनिबार महाकालीवारी र पारिका बासिन्दाबीच ढुंगा हानाहानसमेत भएको थियो । भारतले निर्माण सुरु गरेको आठ मिटर चौडाइको विशाल तटबन्धका कारण नेपाली भूमि अतिक्रमित मात्रै भएको छैन, महाकाली नदी आसपासका बासिन्दालाई थप त्रास उत्पन्न भएको छ । महाकालीको मुख्य सहायक नदी द्यौली गंगा भारतमा पर्छ । द्यौली गंगामा भारतले तीन÷चार वटा जलाशययुक्त जलविद्युत् आयोजना बनाइसकेको छ । कहिलेकाहीँ एक्कासि बाँध खोलिदिँदा महाकाली नदीमा अचानक बाढी आउने गरेको छ । तटबन्धमार्फत भारतले आफ्नो क्षेत्रलाई सुरक्षित गरेकोले अब नेपालीहरू मात्रै यसको मारमा पर्ने भएका छन् ।

सीमा अतिक्रमणको अनुगमन गर्ने काम जिल्ला प्रशासन कार्यालयको हो । तर, नेपालमा आमनिर्वाचन भइरहेको मौका छोपेर भारतले तटबन्ध निर्माणको काम थालनी गरेका कारण समयमै जानकारी नपाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको भनाइ छ । गत शनिबार स्थानीय जनता प्रतिकारमा उत्रेपछि आफूले जानकारी पाएको र तत्काल गृहमन्त्रालयमा खबर गरिसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जनाएका छन् । तर नेपाल सरकारका तर्फबाट भारत सरकारलाई सचेत गराइएको समाचार अहिलेसम्म आएको छैन । महाकाली नदीको दार्चुला क्षेत्र नजिक भारतले पक्की तटबन्ध निर्माण गरेको घटना यो पहिलो होइन, तर नेपालले समयमै आपत्ति नजनाउँदा भारतले थप हेप्दै गएको हो । हेप्दाहेप्दै अहिले त सीमा क्षेत्र नै प्रभावित हुने गरी तटबन्ध निर्माण गरिरहेको छ ।

सीमा नदीमा तटबन्ध तथा बाँध निर्माण गर्दा दुवै देशको सहमति अपरिहार्य हुन्छ । यो अन्तर्राष्ट्रिय नियम नै हो । आफ्ना अन्य छिमेकी देशसँगको मामिलामा भारतले यो अन्तर्राष्ट्रिय नियमको इमानदारीपूर्वक पालना गर्दै आएको छ । चीनसँगको सीमा क्षेत्रका सन्दर्भमा त भारत केही किलोमिटर वर नै अडिने गरेको छ । तर नेपालजस्तो भौगोलिक रूपमा आफूभन्दा २२ गुणा सानो असल छिमेकीलाई भने भारतले निरन्तर हेप्ने र पेल्ने गरेको छ । नेपाल आफूभन्दा कमजोर छ, सजिलै ङ्याँक्न सकिन्छ भन्ने मानसिकता भारतका सत्ता सञ्चालकहरूको छ ।

उनीहरूले नेपाल–भारतबीचको अभिन्न संबन्धको मर्म बुझ्न सकेको देखिँदैन । अहिले सतहमा आएको तटबन्ध निर्माणको मामिला त एउटा सानो उदाहरण मात्रै हो । स्थानीय जनता नै विद्रोहमा उत्रेका कारण यो प्रकरण सतहमा आएको हो । सतहमा नआएका प्रकरणहरू निकै धेरै छन् । महाकाली नदीको उद्गमस्थल नै नक्कली खडा गरेर लिपुलेक, लिम्पियाधुरा क्षेत्रको ठूलो नेपाली भूभाग भारतले हडपेको कुरा तीन दशकपछि मात्रै सतहमा आएको हो, जनताले थाहा पाएका हुन् । यसबाहेक त्रिवेणी सुस्ता, इलामको पशुपतिनगर, सन्दकपुर लगायतका १ सय ५२ ठाउँमा भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतको यो प्रवृत्तिलाई कसरी प्रतिकार गर्ने ? भन्ने सन्दर्भमा सबै दलहरू एक ठाउँमा बसेर निष्कर्ष निकाल्नु र स्वेतपत्र जारी गर्नु जरुरी छ । दलहरू बीचको आपसी विवाद तथा नेताहरूको व्यक्तिगत स्वार्थका कारण पनि भारतीय हेपाइ बढेर गएको हो ।

प्रतिक्रिया