विविधताबीचको एकता नै नेपालको मौलिक पहिचान : उपराष्ट्रपति पुन

इलाम । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छन् । इलामको माङसेबुङ गाउँपालिका– ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले त्यस्तो बताएका हुन् ।

उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको दावी गरे । ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो’, उपराष्ट्रपति पुनले भने, ‘यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’

धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए । पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।

उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौँदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म–संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।

महाबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुन

उनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।

उनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ । उपराष्ट्रपति पुन पहिलोपटक माङसेबुङ आएका हुन् ।

कार्यक्रमम पूर्व संविधानसधा अध्यक्ष सुवासचन्द्र नेम्वाङले धर्मगुरुको आशिर्वादकै कारण आफुले यसपटक पनि निर्वाचन जितेको बताउँदै निर्वाचनका क्रममा जनतामाझ राखेका बाचाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया