विश्रान्त महाकाव्य : जीवनका पथन र विपथनको द्वन्द्व

सुदीप पोखरेल

‘एउटा सङघर्षशील योद्धा आफ्नो यात्रामा विचलित हुन सक्छ, थाक्न सक्छ तर भाग्न सक्दैन, बाध्यकारी विगत र अभिशप्त वर्तमानबाट सुदूर भविष्यमा सम्भावनाको खोजी नै विश्रान्त महाकाव्य हो’ भन्ने प्रकाशकीय दृष्टिकोणसँग प्रस्तुत आलेखको मूल रुचि रहेको छ । कविताविधाको चूणान्त परिणति मानिने महाकाव्यको रचनाकार रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ नेपाली महाकाव्यमा द्वन्द्वजन्य सङ्घातलाई प्रस्तुत गर्ने अभिव्यक्तिगत प्रौढतातिर उन्मुख समसामयिक महाकाव्य हो । नेपाली समाजको पञ्चायतकालदेखि गणतन्त्रकालसम्मको सामाजिक परिवर्तनलाई यस महाकाव्यले परिवेशका रूपमा ग्रहण गर्दै नेपाली जनताले निरङ्कुशताबाट मुक्ति र पूर्ण प्रजातन्त्र वा लोकतन्त्र प्राप्तिका लागि गरेका बलिदानीपूर्ण सङ्घर्षहरूको सङ्केत महाकाव्यमा छ । यसै परिप्रेक्ष्यमा यस महाकाव्यले नेपालको इतिहासको एक महत्त्वपूर्ण क्षण वि.सं २०५१ सालपछिको माओवादी सशस्त्र युद्ध, २०६३ को शान्ति प्रक्रिया तथा लोकतन्त्र प्राप्ति र त्यसपछिको नेपालको राजनीतिक अवस्थाको निकै कलात्मक चित्रण गरेको छ । वर्तमानको वैरागी र अतीतको तुफानको जीवनान्वेक्षणबाट उक्त सशस्त्र सङघर्ष, त्यसपछिको शान्तिप्रक्रिया तथा त्यसपछिको राजनीतिक अवस्थाको सङ्केत गरी माओवादी सशस्त्र सङ्घर्षपछिको लोकतन्त्रकालमा आएको राजनीतिक वैचारिक, आदर्श, मूल्य र राजनैतिक इमानजन्य नैतिकताको स्खलन नै महाकाव्यको प्रतिपाद्य विषयका रूपमा प्रस्तुत छ ।

साँझको सन्ध्याकालीन आरती मन्दिरमा गरिरहेको म पात्रसामु अत्यन्त उत्साहहीन, जराजीर्ण, विरक्तिएको, तापित, हर्ष र इच्छाहरु समाप्त भएको कुनै एक वैरागी आइपुगेको छ र तिनै दुई पात्रको संवादजन्य प्रकरणमा समग्र महाकाव्यीय सन्दर्भको अनुबन्धन–प्रबन्धन गरिएको छ । वैरागीको वर्तमानबाट अतीततर्फको यात्राका क्रममा समग्र महाकाव्यका प्रकरणहरू घटित भएका छन् । त्यसै जोगी वैरागीले आफ्नो जीवनको पर्यवेक्षण ‘म’ पात्रसमक्ष गरेको छ । २०४५ सालतिरको भूकम्पको सन्दर्भ, त्यसपछिको जोगी÷वैरागी भनिएको पात्रको काठमाडौंको पठनयात्रा, पठनयात्राकै क्रममा तत्कालीन राजनीतिक– सामाजिक व्यवस्थाबाट क्रमशः विद्रोही बन्दै गएको सन्दर्भबाट महाकाव्यको विषयगत प्रबन्धन अगाडि बढेको छ ।


त्यसपछि जोगी÷वैरागी काठमाडौंमा पढिसकेर घर फर्किएको, कृषिकर्ममा लागेको, जीवनको गृहस्थ सुरु गरेको, सन्तान भएको सन्दर्भ महाकाव्यमा प्रस्तुत छ । वि.सं २०५१ सालबाट माओवादी सशस्त्र विद्रोह सुरु भएको, माओवादी वैचारिकताको सौन्दर्यले जोगी वा साधुलाई पनि आकर्षित गरेको, उसको विद्यार्थीकाल र युवासुलभ विद्रोहको ज्वारभाटालाई उक्त माओवादी वैचारिकताले सम्बोधन गर्ने ठानेर त्यसै युद्धको सौन्दर्यमा होमिएको प्रकरण महाकाव्यमा प्रस्तुत छ । त्यसपछि ऊ माओवादी विचारधारामा पूर्ण रूपमा प्रशिक्षित भएको, रक्तरञ्जित सशस्त्र सङ्घर्षबाट मात्र वर्गीय मुक्तिको सम्भावना देखेको, नेताका भाषणबाट उत्तेजित हुने गरेको सन्दर्भ काव्यमा प्रस्तुत छ । सशस्त्र युद्धमा सङ्घर्षरत रहँदा चेतना नामकी सहकर्मीसँग परिचय भएको, वैरागीको तत्कालीन नाम तुफान रहेको, चेतना र तुफानका बिच सम्बन्ध घनिष्ठतर हुँदै प्रेममा परिणत भएको, चेतना गर्भवती भएकी, तुफान अन्तद्र्वन्द्वमा फँसेको, चेतनाले नै त्यस समस्याको समाधान गरेकी, युद्धका क्रममा तुफान घाइते भएको, अनेक पीडा र दुःखहरू त्यस सङ्घर्षको क्रममा गर्नुपरेको, ती कठिनतम सङघर्षलाई पनि भविष्यको समतामूलक समाजव्यवस्थाको निर्माणको आशमा सहेर अगाडि बढी अन्त्यमा शान्ति सम्झौताको अवस्थासम्म आइपुगेको प्रसङ्ग महाकाव्यमा रहेको छ ।

० कविताविधाको चूणान्त परिणति मानिने महाकाव्यको रचनाकार रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ नेपाली महाकाव्यमा द्वन्द्वजन्य सङ्घातलाई प्रस्तुत गर्ने अभिव्यक्तिगत प्रौढतातिर उन्मुख समसामयिक महाकाव्य हो । नेपाली समाजको पञ्चायतकालदेखि गणतन्त्रकालसम्मको सामाजिक परिवर्तनलाई यस महाकाव्यले परिवेशका रूपमा ग्रहण गर्दै नेपाली जनताले निरङ्कुशताबाट मुक्ति र पूर्ण प्रजातन्त्र वा लोकतन्त्र प्राप्तिका लागि गरेका बलिदानीपूर्ण सङ्घर्षहरूको सङ्केत महाकाव्यमा छ

शान्ति प्रक्रिया पश्चातको लोकतान्त्रिक भनिएको व्यवस्थामा सहभागी भई त्यही पुरानै संसदीय परम्परा (जसको परिवर्तनका लागि दश वर्ष क्रान्ति गरिएको थियो) मा सांसद भई तुफान र चेतना सहर पसेका, उच्च महत्त्वाकाङ्क्षाले युक्त भएका, चेतना र तुफानको सम्बन्धमा विस्तारै खटपट उत्पन्न भएको, उनीहरूका बिचमा वैचारिक असहमति देखिएको, तुफानको पारिवारिक वियोग र विघटन (श्रीमतीको मृत्यु ?) भएको, शान्तिप्रक्रियापछिको मूल राजनैतिक नेतृत्व र त्यसमा पनि मूल माओवादी नेतृत्वमा वैचारिक पलायन देखिएको, नेतृत्व सत्तास्वार्थमा रुमलिएको, अनेक प्रकारका ‘कमाउ र आफूलाई बनाउ’ धन्दामा मूल नेतृत्व स्खलित भएपछि तुफानमा निराशा उत्पन्न भएको, युद्धमा त्यत्रो बलिदानीपूर्ण परिश्रम केका लागि गरिएको थियो भन्ने कुराले उसलाई विचलित तुल्याएको, यसै कारणले उसका सबै आदर्श, विचार र निष्ठाहरूको अवसान भएको, उसमा चरम निराशा छाएको, बिस्तारै उसमा राजनैतिक नेतृत्वप्रति घृणा उत्पन्न भई त्यसबाट मुक्तिका लागि क्रमशः वैराग्य चेत उत्पन्न हुँदै गएको र ऊ वैरागी बनेर देश देशावर डुलिरहँदा ‘म’ पात्रसँग भेट भई आफ्ना जीवनका कुण्ठाहरूको प्रस्तुति ‘म’ पात्रसमक्ष गरेको सन्दर्भ यस महाकाव्यमा छ । त्यसपछि ‘म’ पात्रसँगको सानिध्यताले उसमा अधुरो र अपुरो छोडिएको क्रान्तिलाई पुनः अगाडि बढाउने जोस र जाँगरको सञ्चार भएसँगै यस महाकाव्यको विषयगत प्रबन्धन समाप्त भएको छ ।

प्रस्तुत महाकाव्यको प्रमुख वैचारिकी नै जीवनको पथन र विपथनका बिचको द्वन्द्व हो । तमाम सामाजिक अव्यवस्थामा बाँचिरहेको एक युवकले ती सम्पूर्ण सामाजिक अव्यवस्थाहरूको आमूल परिवर्तनका लागि क्रान्तिको सहारा लिई त्यस्ता अव्यवस्थाका विरुद्धमा लड्न समतावादी, समाजवादी सौन्दर्यको वैचारिकी निर्माण गर्नु जीवनयात्राको विकासमा सकारात्मक पथन हो । त्यसै प्रक्रियाबाट सुन्दर समाज निर्माण हुनसक्छ भन्ने ठानेर आफ्नो जीवनको आहुति दिन पनि पछि नपर्ने दृढ वैचारिक अठोट महाकाव्यमार्पmत् प्रस्तुत सर्वथा उत्तम वैचारिकी हो । द्वन्द्वको व्यवस्थापनका लागि शान्तिप्रक्रिया मार्पmत् शान्तिपूर्ण राजनीतिक यात्रामा सहभागी भई समाजसुधार र रूपान्तरणका बाँकी अभिभारा पूरा गर्ने प्रण गर्नु र सैद्धान्तिक वैचारिकीको प्रायोगिक पदमार्ग निर्माण गर्नु अर्को उत्तम पथनको प्रयास हो ।

० २०४५ सालतिरको भूकम्पको सन्दर्भ, त्यसपछिको जोगी/वैरागी भनिएको पात्रको काठमाडौंको पठनयात्रा, पठनयात्राकै क्रममा तत्कालीन राजनीतिक–सामाजिक व्यवस्थाबाट क्रमशः विद्रोही बन्दै गएको सन्दर्भबाट महाकाव्यको विषयगत प्रबन्धन अगाडि बढेको छ


० द्वन्द्वका अधुरा तथा अपुरा समाज रूपान्तरणका कामहरू पुनः सम्पन्न गर्ने दृढ अठोटका साथ नायकले वैचारिकीको पुनर्निर्माण त गरेको छ तर उसको अन्तद्र्वन्द्वको पूर्ण शमन भने हुन सकेको छैन । यही नै आजको नेपाली समाज र त्यसभित्रको राजनीतिक अव्यवस्थाले जन्माएको प्रमुख समस्या हो

शान्तिप्रक्रिया पश्चात् संसदीय व्यवस्थामा संलग्न हुनु र संसदीय प्रजातान्त्रिक मूल्यभित्रैबाट सामाजिक अव्यवस्थाको अन्त्य गरी प्रक्रियासम्मत रूपमा समाज रूपान्तरणको मार्गमा अग्रसर हुनु विश्वकै लागि उदाहरणीय कार्य हो । यस आलेखको शीर्षकमा प्रस्तुत ‘पथन’ संज्ञा यही सन्दर्भका लागि प्रयोग गरिएको छ । यसका विपरीत सत्तालिप्सा, स्वार्थ, क्षणिकवाद, व्यक्तिवाद, सत्तावाद, नाताकृपावाद, फरियावादमा संलग्न भई पुरानै अव्यवस्थाको नाइके स्वयं बन्नु, आदर्शको भ्रष्टीकरण गर्नु, वैचारिकी स्खलनको मतियार बन्नुले निष्ठावान् कार्यकर्ता र सकारात्मक आमूल परिवर्तनको आशा गरेर बसिरहेका जनताप्रतिको चरम निराशा ‘विपथन’ हो । महाकाव्यको नायक वैरागीमा यिनै ‘पथन’ र ‘विपथन’ का बिच चर्को द्वन्द्व छ । यो द्वन्द्व आजको नेपाली समाजको द्वन्द्व हो । यस प्रकारको निराशाजन्य विपथन युवापुस्तामा देखिएको डरलाग्दो समस्या हो । द्वन्द्वका अधुरा तथा अपुरा समाज रूपान्तरणका कामहरू पुनः सम्पन्न गर्ने दृढ अठोटका साथ नायकले वैचारिकीको पुनर्निर्माण त गरेको छ तर उसको अन्तद्र्वन्द्वको पूर्ण शमन भने हुन सकेको छैन । यही नै आजको नेपाली समाज र त्यसभित्रको राजनीतिक अव्यवस्थाले जन्माएको प्रमुख समस्या हो । यसैको कलात्मक प्रत्यन्तरण महाकाव्यमा प्रतिबिम्वित छ ।

कृति : विश्रान्त

कवि : रूपक अलङ्कार

विधा : महाकाव्य

प्रकाशक : शिखा बुक्स

मूल्य : ३७५

प्रतिक्रिया