धनगढीमा बालिका मृत्यु प्रकरण : चालकविरुद्ध जाहेरी दर्तापछि परिवारले शव बुझे

धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर ज्यान गुमाएकी १५ वर्षीया बालिका चेतना साउँदको शब परिवारले बुझेको छ । शुक्रवार बालिकालाई कुल्चिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक चितवनको भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय विमल कुमालविरूद्व जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी दर्ता गरेपछि मृतकका परिवारले शब बुझेका हुन् ।

चालकविरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको शब परीक्षणपछि परिवारको जिम्मा लगाइएको सूचना अधिकारी जोशीले बताए ।

बैतडीको डिलासैनी गाउँपालिका-६ घर भई धनगढी स्थित पञ्चोदय माध्यमिक विधालयमा कक्षा ८ मा अध्ययनरत बालिका साउँदलाई बिहीबार बिहान विद्यालय गइरहेको बेला धनगढी उपमहानगरपालिका- ५ हसनपुर पिपल चौतारामा सडक पिच गर्ने क्रममा ग्रेडरले कुल्चिदा उनकाे घटनास्थलमै मृत्यु भएको थियो ।
बालिकाको मृत्युपछि विधार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । बिहिबार स्थिति असहज भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

शुक्रबार निषेधाज्ञा तोड्दै मृतक बालिकाको न्यायका लागि विरोध प्रदर्शन गर्ने क्रममा विधार्थी र स्थानीय गरि २१ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन ३७ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । निषेधाज्ञा शनिबार विहान ४ बजेबाट हटाइने जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया