गठबन्धन दलसँगको सहकार्य निरन्तर : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन गर्यौँ, देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्यौँ’, उनले भने ।

बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताए ।

‘देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ’, उनले भने । बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ । अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताए ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताउनुभयो । निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

‘निर्वाचनमा जेजस्तो मत परिणाम प्राप्त गर्यौँ, त्यो हामीले सोचेजस्तो छैन’, उनले भने, ‘तर सोचेजस्तो छैन भन्दैमा, गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार आगामी दिनमा सहकार्य गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’

सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उनले जानकारी दिए । निर्वाचनको अन्तिम नतिजा आइसकेको छैन । केही स्थानमा निर्वाचन हुनै बाँकी छ । केही स्थानमा विवाद छन् ।

‘समानुपातिक मत परिणामबाट राजनीतिक दलहरुले प्राप्त गर्ने सिट संख्याका आधारमा संसद्को समीकरणमा तलमाथि हुन सक्छ, सरकार गठनको अवस्थाका बारेमा आज हामीले छलफल गरेनौँ’, उनले भने, ‘संसद्को गणित निश्चित हुनुपर्यो, सरकार कस्तो बन्छ भन्ने कुरा पहिले टुङ्गिनुपर्यो ।

सरकार बन्दा त्यसका नीति कार्यक्रम पाँच वर्षसम्म जान सक्ने सम्भावनाका बारेमा हेरेर मात्रै अन्य विषयमा छलफल गर्न सकिन्छ ।’

सरकारमा सहभागी हुने आधार र वातावरण तयार भएपछि मात्रै यस विषयमा छलफल हुने उनको भनाइ छ । ‘सरकारमा सहभागी हुने विषयमा आज कुनै निर्णय भएन’, प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

प्रतिक्रिया