क्यानडाली पप स्टारलाई १३ वर्ष कैद

बेइजिङ । यौन अपराधमा दोषी ठहरिएका चिनियाँ–क्यानेडाली पप स्टार क्रिस बुलाई १३ वर्ष लामो काराबास सजाय सुनाइएको छ । चीनको राजधानी बेइजिङस्थित एक अदालतले ३२ वर्षीय गायक तथा अभिनेता बुलाई तीनजना महिलालाई बलात्कार गरेको र भिड जम्मा गरेर नाङ्गो नाच देखाएको अभियोगमा दोषी करार गरेको हो ।
गत वर्ष एक १७ वर्षीया छात्राले भेट्न बोलाएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई गिरफ्तार गरिएको थियो । त्यसपछि थप २४ जना महिलाले उनीविरुद्ध मुख खोलेका थिए ।

अदालतले उनलाई क्यानडासमक्ष सुपुर्दगी गरिने पनि जनाएको छ । तर, चीनको प्रचलित कानुन अनुसार प्रायः सजाय भुक्तान गरिसकेपछि मात्र कुनै पनि अभियुक्तलाई सम्बन्धित मुलुकमा सुपुर्दगी गरिने चलन छ ।
बेइजिङको छाओयाङ जिल्ला अदालतले शुक्रबार सन् २०२० मा आफ्नो घरमा मदिराले मातिएर प्रतिवाद नै गर्न नसक्ने अवस्थामा पुगेका तीन महिलालाई बलात्कार गरेको अभियोगमा बुलाई ११ वर्ष र ६ महिना लामो कैद हुने निर्णय सुनाएको हो ।

साथै उनलाई यौन दुराचार गर्दा भिड जम्मा पारेको अर्को अभियोगमा एक वर्ष र १० महिना लामो कैद सुनाइएको छ । त्यसैगरी गायक बुलाई कर छलेबापत ६ करोड ९० लाख पाउन्ड जरिबाना पनि तोकिएको छ ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले उनले आफ्नो विश्वव्यापी आयको बारेमा झुठा घोषणा गर्न काल्पनिक व्यवसायहरूलाई प्रयोग गर्ने गरेको जनाएको छ । बुले आफूमाथि लगाइएका अभियोग अस्वीकार गरेका छन् । उनीमाथि मदिरायुक्त काराओके पार्टीमा महिलाहरूलाई आमन्त्रण गरेर यौन शोषण गर्ने गरेको आरोप लागेको छ ।

चीनमा जन्मेका बुसङ क्यानडाली नागरिकता रहेको छ । २०१० को दशकमा के–पप ब्वायब्यान्ड ईएक्सओको सदस्यको रूपमा उनी लोकप्रियताको शिखरमा पुगेका थिए ।

प्रतिक्रिया