गठबन्धन भत्कने खतरा

नेपाली जनता यतिबेला मतगणनाको अन्तिम परिणामलाई अधैर्यका साथ पर्खिरहेका छन् । मतगणनाको प्रारम्भिक परिणामलाई अनपेक्षित भन्नेहरू धेरै छन् । तर, चुनावको परिणाम कहिल्यै पनि आफैँमा अनपेक्षित हुँदैन । अनपेक्षित लाग्ने मात्रै हो । किनकी निर्वाचन भनेको को कसको पक्षमा छन् भनेर जनताको टाउको गन्ने प्रविधि हो । जनताले कस्ता उम्मेद्वारलाई भोट हाल्छन् ? कस्ता उम्मेद्वारलाई भोट हाल्दैनन् ? भन्ने प्रश्नको उत्तर यस अघिका धेरै निर्वाचनहरूले दिएका छन् । चुनावमा राजनीतिकदल तथा उम्मेद्वारहरूले आफ्नो हात माथि पार्न के कस्ता दाउपेच अबलम्बन गर्छन् ? भन्ने प्रश्नको उत्तर पनि यसअघिका निर्वाचनबाट आइसकेकै छ । विगत ३१ वर्ष यता मात्रै नेपालमा १० वटा ठूला निर्वाचन सम्पन्न भइसकेका छन् । तर अन्तिम परिणामसम्म नपर्खी हतारमा प्रतिक्रिया दिने चरित्रलाई हाम्रो मुलुकका राजनीतिककर्मीहरूले अझै सुधार गर्न सकेको देखिन्न । हतारमा प्रतिक्रिया दिने चरित्र कम्युनिस्ट तप्काका राजनीतिकर्मीहरूमा बढी देखिएको छ ।

यसपटक पनि सत्तागठबन्धनमा सामेल कम्युनिस्ट कित्ताका केही नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसद्वारा बेइमानी भयो भन्दै आफ्नो फेसबुकका भित्ता रंग्याएका छन् । कांग्रेसका उम्मेद्वार भएको ठाउँमा चुनाव जित्ने, माओवादी तथा एकीकृत समाजवादीका उम्मेद्वार भएका ठाउँमा चुनाव हार्ने अवस्था कसरी सिर्जना भयो ? यस्तो धोकाधडी हुनेगरी किन गठबन्धन गरियो ? भन्ने प्रश्न उनीहरूको छ । कतिपयले त एक कदम अघि बढ्दै भनेका छन्, ‘अब गठबन्धनको औचित्य समाप्त भयो ।’

पहिलो कुरा त चुनावी गठबन्धनमा सामेलदलहरूबीच भोट आदानप्रदानमा कहाँकहाँ कमी कमजोरी भयो ? भन्ने समीक्षा गर्ने बेला भएकै छैन । अन्तिम परिणाम पर्खनै पर्छ । दोस्रो कुरा जनमत आदानप्रदान भन्ने कुरा कसैको बसभित्र हुँदैन । आफ्नो पार्टीका सांसदहरूको मत त पार्टी तथा नेतृत्वको बसमा हुँदैन भने जनताको मत आफ्नो इशारामा आदानप्रदान हुन्छ, या हुनुपर्छ भन्ने सोच राख्नु मुर्खता हो । विगतमा सत्ता समीकरण तरल अवस्थामा पुग्दा दलहरूले आफ्नै पार्टीका सांसदहरूलाई भेडा बाख्रा जसरी हलमा थुनेर राखेको देखिएकै हो । कांग्रेसका सांसदहरूले मतदानका बेला अनुपस्थित भएर आफ्नै पार्टीको सरकारलाई दुई÷दुई पटकसम्म ढालेको देखिएकै हो ।

नेकपा एमालेका संसदहरू पनि महाकाली सन्धी पारित गर्ने बेला तीनतिर भएको देखिएकै हो । माओवादी केन्द्रका सांसदहरू राष्ट्रिपतिको पहिलो निर्वाचनमा आफ्नै पार्टीका उम्मेद्वारविरुद्ध खुलेआम प्रकट भएको देखिएको हो । आफ्नो पार्टीका सांसदहरूलाई त आफ्नो बसमा राख्न नसक्ने पार्टीहरूले आफूलाई अघिल्लो चुनावमा भोट दिने सबै मतदातालाई आसन्न चुनावमा आफ्नो इशारामा भोट हाल्न बाध्य पार्न सक्छन् भन्ने अपेक्षा राख्नु नै गलत हो ।

खुबी भएको योग्य उम्मेद्वारले प्रतिस्पर्धी पार्टीका मतदाताको भोटसमेत लिन सक्छ, तर खुवी नभएको अयोग्य उम्मेद्वारले आफ्नै पार्टीका मतदाताको भोटसमेत लिन सक्दैन । सत्यता यही हो । उदाहरणका लागि गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाका गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्यले प्रतिस्पर्धी पार्टी एमालेको समेत भोट लिएर बाजी मारे, तर काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले आफ्नै पार्टीको मतसमेत ल्याउन नसकेर चुनाव हारिन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि भएको यही हो । गत स्थानीय निर्वाचनमा गठबन्धनको भन्दा एमालेको तीन हजार भोट बढी भएको काठमाडौं क्षेत्र नं ५ मा उम्मेद्वार बनेका प्रदीप पौडेललाई गरिने मूल्यांकन र एमालेको भन्दा गठबन्धनको भोट १० हजार बढी रहेको क्षेत्र नं ६ बाट उम्मेद्वार बनेका भीमसेनदासप्रति गरिने मूल्यांकन एउटै हुँदैन । चुनाव हार्ने उम्मेद्वारले आफ्नो कमजोरी स्वीकार गर्न भन्दा पनि अर्कालाई आरोप लगाउन हतार गर्छ, तर जित्नेले सबैलाई धन्यवाद दिन्छ । गठबन्धन नभएको भए चुनावी परिणाम कस्तो आउने थियो होला ? भन्ने आँकलन नगरी फलानो पार्टीका सबै भोट नपाएकोले चुनाव हारियो भन्दै हिँड्दा आगामी यात्र अझ कष्टप्रद हुनेछ भन्ने हेक्का राख्नु जरुरी छ । ०५६ सालमा तत्कालीन नेकपा मालेको के भएको थियो ? त्यो भन्दा यतिबेलाको अवस्था अझ जटिल रहेछ भन्ने कुरा पुष्टि भएको छ ।

प्रतिक्रिया