अप्रत्याशित प्रारम्भिक नतिजाले दबाबमा दलहरू

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजा आउनेक्रम जारी छ । मतदान कार्य सम्पन्न भएको एक दिनपछि सोमबार अबेरसम्म करिब एक सय वटा निर्वाचन क्षेत्रमा मतगणना कार्य सुरु भएको छ ।
कतिपय स्थानमा स्थगित चुनाव, उम्मेद्वार र दलहरूबीचको आपसी विवाद, मतपेटिका संकलनमा भएको ढिलाइजस्ता कारणले अधिकांश स्थानमा मतगणना कार्य सुरु नै हुन सकेको छैन । भौगोलिक दृष्टीकोणले सुगम भनिएकै कतिपय स्थानमा समेत मतगणना कार्य अगाडि बढ्न सकेको छैन ।

मतगणना प्रारम्भ भएका निर्वाचन क्षेत्रहरूमा समेत सोमबार अबेरसम्म प्रारम्भिक नतिजा मात्र अगाडि आएका छन् । हालसम्म प्राप्त प्रारम्भिक नतिजालाई आधार बनाएर कुनै स्पष्ट खाका तयार पार्न सक्ने अवस्था देखिँदैन ।
यद्यपि, हालसम्म प्राप्त नतिजालाई विश्लेषण गर्दा स्थापित राजनीतिक दलहरूमाथि गतिलो दबाब भने सिर्जना भएको देखिन्छ । भर्खरै स्थापना भएका दल र स्वतन्त्र उम्मेद्वारहरूले प्राप्त गरेको अप्रत्यासित मतले पुराना र स्थापित दलहरूलाई दबाबमा पारेको देखिन्छ ।
दलहरूको अनुदार कार्यशैली, चुनाव जित्नैका लागि फरक सिद्धान्त र आदर्श बोकेका दलहरूबीच भएको गठबन्धन, वर्षौंदेखि मतदान गर्दै आए पनि परिस्थितिमा परिवर्तन नआएपछि छाएको निराशाजस्ता कारणले मतदाताले विकल्प खोज्ने प्रयास गरेको स्पष्ट संकेत दिएका छन् ।

सोमबार रातीसम्म गणना गरिएको मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरूले आठ स्थानमा अग्रता लिएका छन् । काठमाडौंका तीन र ललितपुरको एक स्थानमा स्वतन्त्र पार्टीका उम्मेद्वार अगाडि देखिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल १ हजार १ सय ५१ मतसहित अगाडि रहेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ सय ४ मत ल्याएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा पनि स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पराजुली ६ सय १५ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ५ सय ९ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीकी सोविता गौतम ८ सय ८ मतसहित अगाडि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४ सय ७८ मत ल्याएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की २ हजार ४ सय १५ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले २ हजार ३९ मत ल्याएका छन् ।

यसैगरी झापा क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल १ हजार ३ सय ४८ मतसहित अगाडि छन् । त्यहाँ नेकपा एमालेका लालप्रसाद साँवा लिम्बुले १ हजार १ सय १८ मत ल्याएका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका गणेश पौडेल १ हजार ९१ मतसहित अगाडि छन् । त्यहाँ पूर्व अर्थमन्त्री एमालेका उम्मेद्वार विष्णुप्रसाद पौडेलले ९ सय ६४ मत ल्याएका छन् ।

यसैगरी कास्की क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल ८ सय ७५ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विद्या भट्टराईले ६ सय ९० मत ल्याएकी छन् । कास्की क्षेत्र नम्बर ३ मा पनि स्वतन्त्र पार्टीका योगराज पौडेल १ हजार ५ सय ९० मतसहित अगाडि छन् । त्यहाँ एमालेका दामोदर पौडेलले १ हजार २ सय २८ मत ल्याएका छन् ।

यसका अतिरिक्त देशका अन्य निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र उम्मेद्वारहरूले अग्रता लिएका छन् । सर्लाही १, मोरङ ५, रौतहट २ र ३, चितवन ३ र बदिर्या निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र उम्मेद्वार अगाडि देखिएका छन् ।
यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ३८ स्थानमा अग्रता लिएको छ । कांग्रेसका प्रदीप पौडेल, एनपी साउद, रामनाथ अधिकारी, विनोदकुमार चौधरी, बालकृष्ण खाँण, शेरबहादुर देउवा, दुर्लभ थापा क्षेत्री, डा. नारायण खड्का, गगनकुमार थापा, रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा, महालक्ष्मी उपाध्याय, डा. शेखर कोइराला, अभिषेकप्रताप शाह, रमेश रिजाल, तेजुलाल चौधरी, अजयकुमार चौरसिया, शंकर भण्डारी, दिनेशकुमार यादब, हृदयराम थानीलगायतका नेताहरूले आ–आफ्नो क्षेत्रमा अग्रता लिएका छन् ।

यसैगरी नेकपा एमाले २५ स्थानमा अगाडि छ । एमालेका केपी शर्मा ओली, दामोदर भण्डारी, देवराज घिमिरे, गोकर्ण बिष्ट, कृष्णभक्त पोखरेल, टोपबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, जुलिकुमारी महतो, शेरधन राई, नवराज सिलवाल, ज्वालाकुमारी शाह, राजेन्द्रकुमार राई, प्रेमबहादुर महर्जन, पृथ्वी सुब्बा गुरुङ, बलराम अधिकारी लगायतका उम्मेद्वारले अग्रता लिएका छन् ।

नेकपा एकीकृत समाजवादीले आठ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादीका माधवकुमार नेपाल, मेटमणी चौधरी, विरोध खतिवडा, राजेन्द्रप्रसाद पाण्डे, प्रकाश ज्वाला, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर र प्रेमबहादुर आलेले अग्रता लिएका छन् ।

नेकपा माओवादी केन्द्रले पनि आठ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रका पुष्पकमल दाहाल, रेखा शर्मा, वर्षमान पुन, अमनलाल मोदी, लेखनाथ दाहाल, देवेन्द्र पौडेल, नरेन्द्र साह कलवार र महिन्द्र राय यादवले अग्रता लिएका छन् ।

निकै चासोका साथ हेरिएको सप्तरी क्षेत्र नम्बर २ मा भने जनमत पार्टीका डा. सिके राउतले जनता समाजवादी पार्टीका उपेन्द्र यादबलाई निकै ठुलो अन्तरले पछाडि पारेका छन् । राउतले ५ हजार ७ सय १८ मत ल्याएका छन् भने यादबले २ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच स्थानमा अग्रता लिएको छ भने जसपा तीन स्थानमा अगाडि छ । राप्रपाका अशोककुमार राई, धवलशमशेर राणा, ध्रुवबहादुर प्रधान, राजेन्द्रप्रसाद लिङ्देन र रविन्द्र मिश्रले अग्रता लिएका छन् । मिश्रले कांग्रेसका प्रकाशमान सिंह र लिङ्देनले कांग्रेसकै कृष्णप्रसाद सिटौलालाई पछाडि पारेका हुन् । राणाले जसपाका मोहम्मद इश्तियाक राई र प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेललाई पछाडि पारेका हुन् ।

प्रतिक्रिया