बागलुङमा एमालेले लगायो गठबन्धनका कार्यकर्तामाथि बुथ कब्जाको आरोप

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा तथा वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्तामाथि बुथ कब्जा गरेको नेकपा एमालेले आरोप लागाएको छ ।

जैमिनी नगरपालिका– ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’ उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको आरोप छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।

प्रतिक्रिया