निर्वाचन पर्यवेक्षणका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौं । मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षणको लागि नेपाल आउँदै छन् ।

उनी निर्वाचन पर्यवेक्षणका लागि यही मंसिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आम निर्वाचनमा जापान सरकारले पूर्वउपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।

मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । ‘नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ’, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुईदिने नेपाल बसाइको क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया