पूर्वसहयात्रीबीच रोचक प्रतिष्पर्धा

पाल्पा । विगतका सहयात्री । एउटै पार्टी अनि समान उद्देश्य । तर, यतिबेला परिस्थिति फेरिएको छ । दुई फरक पार्टी र एकअर्काका प्रतिद्वन्द्वी । प्रसंग हो, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ को । पात्र हुन्, सोमप्रसाद पाण्डे र ठाकुर गैरे ।

प्रतिनिधिसभा सदस्यको आगामी निर्वाचनमा पाण्डे नेकपा एकीकृत समाजवादी र गैरे नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका छन् । विगतमा पटकपटक सांसदको भूमिकामा देखिएका पाण्डे र पहिलोपटक संसदीय निर्वाचनमा होमिएका गैरेबीचको प्रतिस्पर्धा पनि निकै रोचक छ ।

विगतमा पार्टी राजनीतिको थुप्रै मोर्चामा यी दुई हस्ती एकसाथ उभिएका थिए । नेकपा एमालेमा रहँदा पार्टीको अभिमानलाई उचाइमा पुर्याउन यी दुबैले थुप्रै पसिना पनि बगाए । यति मात्र होइन, तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अप्रत्यासित रूपमा संसद् विघटन गरेपछिको ‘प्रतिगमन विरोधी आन्दोलन’ मा समेत यी दुबै नेता एकसाथ उभिएका थिए ।

स्थानीय निर्वाचनको नतिजालाई हेर्दा यो क्षेत्रमा गठबन्धन अगाडि देखिन्छ । तर, यसैलाई मात्र आधार मानेर ढुक्क हुने अवस्था पाण्डेको छैन । यतिबेला गठबन्धनको मत एक ठाउँमा खसाल्ने चुनौती पाण्डेसामु छ । अर्कोतिर, गैरेका लागि पनि परिस्थिति सहज छैन । पार्टी विभाजन हुनुअघिसम्म ‘प्रतिगमन विरोधी आन्दोलन’ भन्दै पार्टी अध्यक्ष ओलीको चर्को विरोधमा सडकमा ओर्लिएका गैरेसामु पनि ओली पक्षधरहरूको मन जित्नुपर्ने गतिलै चुनौती छ ।

भनिन्छ, राजनीति सधैँ सरल रेखामा बग्दैन । अन्ततः भयो पनि त्यस्तै । परिस्थितिले यतिबेला यी दुई पूर्वसहयात्रीलाई पनि दुई फरक कित्तामा उभ्याएको छ । पाण्डे र गैरे अहिले एकअर्काका प्रतिद्वन्द्वी बनेर संसदीय निर्वाचनमा होमिएका छन् । भन्न गाह्रो छ, ‘जनमत’ को कसीमा को खरो उत्रन्छ ।

पाण्डे र गैरेबीचको प्रतिष्पर्धाले पाल्पा–२ को निर्वाचन निकै रोचक बनेको छ । यसअघि चारपटक निर्वाचन जितेर सांसद बनिसकेका पाण्डे पूर्वमन्त्री पनि हुन् । उनी ०७२ सालमा उद्योगमन्त्री बनेका थिए । गैरे भने पहिलोपटक चुनावी प्रतिष्पर्धामा होमिएका हुन् ।

विगतका चुनावमा गैरे आफैँ पार्टीको झण्डा बोकेर पाण्डेको प्रचारमा हिँड्थे । तर, अहिले गैरेले एमालेबाट पहिलोपटक टिकट पाएका छन् भने सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले उनै पाण्डेलाई अघि सारेको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावको नतिजालाई हेर्दा यो क्षेत्रमा गठबन्धन निकै अगाडि देखिन्छ । तर, यसैलाई मात्र आधार मानेर ढुक्क हुने अवस्था पाण्डेको छैन । यतिबेला गठबन्धनको मत एक ठाउँमा खसाल्ने चुनौती पाण्डेसामु छ ।

अर्कोतिर, गैरेका लागि पनि परिस्थिति सहज छैन । पार्टी विभाजन हुनुअघिसम्म ‘प्रतिगमन विरोधी आन्दोलन’ भन्दै पार्टी अध्यक्ष ओलीको चर्को विरोधमा सडकमा ओर्लिएका गैरेसामु पनि ओली पक्षधरहरूको मन जित्नुपर्ने गतिलै चुनौती छ ।

एमाले विभाजन हुनुअघि गैरे पार्टीभित्र माधवकुमार नेपालको पक्षमा थिए । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा सडकमा ओर्लेर विरोध गरे पनि पार्टी विभाजन हुँदा भने उनी नेपाल पक्षमा नगई एमालेमै बसेका थिए ।

निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै जनाले आफ्नो प्रचारप्रसार र घरदैलोलाई तीव्रता दिएका छन् । उम्मेद्वार मनोनयनसँगै उनीहरू आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभा खटिरहेका छन् । चुनाव प्रचारप्रसार र कोणसभाका क्रममा मस्याममा भेटिएका पाण्डे आफ्नो जितप्रति विश्वस्त देखिए ।

उनले पाल्पाली जनताले विगतदेखि नै विश्वास गर्दै आएकोले यसपटक पनि त्यो विश्वासलाई निरन्तरता दिने बताए । पाण्डेले भन्छन्, ‘गठबन्धनका कारण पनि थप सहज भएको छ ।’ राष्ट्रिय राजनीतिमा बलियो पहँुच राख्ने पाण्डेको पार्टी एकीकृत समाजवादी पाल्पामा त्यति बलियो नभए पनि उनलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ ।

उता सिंगो पार्टी हुँदा कहिल्यै टिकट नपाएका गैरेले पार्टी विभाजन भएको बेला पहिलोपटक टिकट पाएका छन् । ०७४ सालअघि पाल्पामा तीन वटा निर्वाचन क्षेत्र थियो । त्यसपछि भने पाल्पा २ वटा क्षेत्रमा सीमित भएको छ ।
यसअघि ०७४ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर २ बाट पाण्डे ३४ हजार ८ सय ९९ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार हरि नेपालले भने २४ हजार ५ सय ५४ मत ल्याएका थिए । पाण्डे ०५१, ०५६, ०७० र ०७४ सालमा गरी चारपटक सांसद भइसकेका छन् । ०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए । गत स्थानीय तहको चुनावलाई आधार मान्दा यो क्षेत्रमा गठबन्धन केही अगाडि देखिन्छ ।

स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षहरूले कुल ३० हजार ५ सय ६६ मत ल्याएका थिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले भने ३३ हजार ७ सय ८५ मत पाएका थिए ।

स्थानीय तहको चुनावमा एकीकृत समाजवादीबाट पाल्पाको चुनावी कमान्ड पाण्डेले सम्हालेका थिए भने एमालेको नेतृत्व गैरेले गरेका थिए । स्थानीय चुनावमा पाल्पाका १० वटै पालिकामा सत्तारूढ दलबीच गठबन्धन भएको थियो ।

स्थानीय तह चुनावको मत हेर्दा पाण्डेको सबैभन्दा ठुलो चुनौती भनेको कांग्रेसको मत आफूतिर ट्रान्सफर गर्नु नै देखिन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट पाण्डे, एमालेबाट गैरे, अन्य दलका १० र तीन जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३ र १४, तिनाउ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ६, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका तथा माथागढी गाउँपालिकाको वडा नम्बर १ पर्छन् ।

प्रतिक्रिया