काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मन्त्री खड्कालाई प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गठबन्धनलाई असहयोग गरेको भन्दै बर्खास्त गरेका हुन्।
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको जनाइएको छ ।
गठबन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री नेपाली र कानूनमन्त्री बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।
मंसिर ४ को निर्वाचनमा कास्की– २ को प्रदेशसभा २ मा टिकटकको आकांक्षी खड्काले टिकट नपाएपछि कांग्रेस नेतृत्वमाथि आक्रोश पोखिरहेका थिए ।
आफूले टिकट नपाएपछि कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई पनि उनले असहयोग गरेको आरोप थियो ।
खड्काले कानूनमन्त्री थापालाई पाखा लगाएर कास्की २ ‘२’ मा उठ्ने तयारी गरेका थिए । तर कांग्रेसले उनलाई टिकट दिएको थिएन ।
खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी २०७४ असोजमा औपचारिक रुपमा नेपाली कांग्रेसमा समाहित भएको थियो । त्यसपछि उनी गण्डकीमा मन्त्री बनेका थिए ।
प्रतिक्रिया