निरीह मतदाता, स्वार्थी उम्मेदवार

एउटा फरक भूगोलको व्यथा

कपिलवस्तु । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । निर्वाचन आयोग आगामी मंसिर ४ गते हुने चुनावको अन्तिम तयारीमा व्यस्त छ । राजनीतिक दलहरू पनि जोडतोडका साथ प्रचारप्रसारमा व्यस्त छन् ।

यस पटकको ठुलो संख्यामा स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदानमा होमिएका छन् । देश बहुदलीय व्यवस्थामा प्रवेश गरेयता सातौँपटक प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । प्रत्येक निर्वाचनमा विकास र समृद्धिको गतिलो पोको बोकेर उम्मेद्वारहरू मतदाताको घरदैलोमा पुग्छन् ।

तर, विडम्बना विकास र समृद्धिको कुरा त परै जाओस, अझै पनि देशको दूरजराजका गाउँबस्तीमा बस्ने अधिकांश मतदाता गरिबी, अशिक्षा र कुसंस्कारको अँध्यारोमा जीवन व्यतित गर्न बाध्य छन् । यतिबेला चुनावको मिति नजिकिँदै जाँदा पनि देशभित्र दुई फरक परिवेश सहजै देख्न पाइन्छ ।

सहर, जहाँ विकास छ, समृद्धि छ अनि शिक्षा र स्वास्थ्यमा सहज पहुँच छ । अर्को विकासले पाइला टेक्न नसकेको गाउँ । जहाँ गरिबी छ, दुःख छ, प्रत्येक घरको आआफ्नै वेदना छ, चेतनाको अभाव छ, अन्धविश्वास छ अनि निरिहता र बाध्यतामा पिल्सिएको जीवन छ ।

निर्वाचनको संघारमा आएर यहाँ चर्चा गर्न खोजिएको विषय त्यस्तै ग्रामीण परिवेशको हो । जहाँका मतदाता वर्षौंदेखि भोक, रोग, गरिबी र अशिक्षाको अन्धकारमा पिल्सिन बाध्य छन् । उनीहरू हरेक निर्वाचनमा सुखद् भविष्यको कल्पना गर्दै मत खसाल्न लाममा बस्छन् तर, उनीहरूको जीवनस्तरमा कहिल्यै कुनै चमत्कारी परिवर्तन आउँदैन ।

कपिलवस्तु विजयनगर गाउँपालिका लालपुरका कृष्णकुमार चौधरी कुर्मी बिहानै मिनरवल वाटरको बोतलमा पानी भर्छन् । दाँत माझ्दै उनी खेतमा पुग्छन् र शौच गर्छन् । कुर्मीको यो सधैँको दिनचर्या हो ।

कुर्मी अहिलेको चुनावमा पनि नेतालाई भोट माग्दै हिँडेका छन् । तर, उनी सहभागी हुने चुनावी घरदैलोमा नेताले कहिल्यै पनि गाउँलेको शिक्षा, स्वास्थ्य र जीवनस्तरको विषयमा चासो राख्दैनन् । उम्मेदवारहरू आउँछन्, भोट माग्छन्, मिठो आश्वासन दिन्छन् अनि अन्यत्र लाग्छन् ।

कुर्मी भन्छन्, ‘हामी नेतासँगै दिनभरि भोट माग्न हिँड्छौँ । तर, नेताहरूले कहिल्यै हाम्रो जीवनस्तरको बारेमा चासो राख्दैनन् । उनीहरूको हामीलाई कहिल्यै शिक्षा, स्वास्थ्य र सरसफाइको विषयमा शिक्षा दिएको थाहा छैन ।’

उनको गाउँ खुला दिसा÷पिसाबमुक्त गाउँ हो । गाउँपालिकाले तीन महिनाको अवधि दिएर खुला स्थानमा दिसा÷पिसाब नगर्न निर्देशन जारी गरेको छ । गाउँपालिकाले एक गैरसरकारी संस्थासँग मिलेर हरेक घरमा शौचालय पनि बनाइदिएको छ ।

तर, १० जनाको कुर्मीको परिवार शौचालयमा शौच गर्दैनन् । खुला ठाउँमा दिसा÷पिसाब गर्छन् । गैरसरकारी संस्थाले बनाइदिएको शौचालय भने अहिलेसम्म प्रयोगमै आएको छैन । कुर्मी एउटा उदाहरण मात्र हुन् ।

कपिलवस्तुका देहात (गाउँ) का अधिकांश स्थानीय खुला क्षेत्रमै दिसा÷पिसाब गर्छन् । कपिलवस्तु शिवराज नगरपालिका–२ हर्रह्वाका राजकुमार चौधरीको अहिलेको दिनचर्या पनि नेतालाई भोट माग्नु नै हो । टाटा सुमोमा चौधरीसहित १० जनाको टोली एमालेलाई भोट माग्न हिँड्छन् ।

डिजे बजाउँदै माइकमा भोट माग्ने चौधरीको समूहले खुलास्थानमै दिसा÷पिसाब गर्छन् । घरमा तीन वर्षअघि खुला दिसा÷पिसाब मुक्त अभियानकै क्रममा गैरसरकारी संस्थाले शौचालय बनाइदिएको छ । तर, त्यो शौचालय प्रयोगमै छैन । चौधरीको परवार पनि खुला ठाउँमै दिसा÷पिसाब गर्छन् ।

यतिमात्र होइन, दलका लागि भोट माग्दै हिँडने चौधरीलाई यस पटकको चुनावमा कति वटा मतपत्र हुन्छ र मतदान कसरी गर्ने विषयमा समेत राम्रो जानकारी छैन । भोट कसरी भोट खसाल्ने ? भनि सोधिएको प्रश्नमा उनी भन्छन्, ‘नेताहरुले सिकाएकै छैन ? पहिला पो एउटा मतपत्र थियो सजिलो पनि थियो । अहिले त मतपत्र नै थुप्रै हुन्छ भन्छन्, कसरी छाप लगाउने सिकाएका छैनन् ।’
चौधरीले भनेका विषय आफैमा सोचनीय छ । माला लगाएर घर दैलो गर्दै हिँडेका नेता तथा कार्यकर्ताले मतदातालाई आफ्नो पक्षमा मत खसाल्न आग्रह गरे पनि यसरी भोट खसाल्नुपर्छ भनेर कपिलवस्तुका अधिकांश मतदातालाई भनेका छैनन् ।

कपिलवस्तुकै कृष्णनगर नगरपालिका राजेश साह पनि चुनावमा नेताले भोट खसाल्न नसिकाएको बताउँछन् । मतदान गर्न सिकाउने पहिलो दाहित्व सरकारको भए पनि भोट माग्ने नेतालले समेत यस विषयमा सिकाउनु पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘कतिवटा मतपत्र छन्, मलाई नै थाहा छैन । नेताले मेरो चिन्हमा छाप लगाउ मात्रै भनेर हुन्छ ? हामीलाई मतदान गर्न सिकाउनु पर्दैन ?’

कपिलबस्तु मात्र होइन, रुपन्देहीका गाउँवस्तीमा पनि स्थानीयहरू सकभर खुला स्थानमै दिसा÷पिसाब गर्छन् । रुपन्देही शुद्धोधन नगरपालिका फर्साका रामकुमार पौडेल शौचालय प्रयोग गर्दैनन् । घरमा पक्की शौचालय हुँदाहुँदै पनि सानैदेखि लागेको बानी भन्दै खुला स्थानमै शौच गर्न पौडेल बिहानै बोतलमा पानी भरेर खेततिर दौडन्छन् ।

यति मात्र होइन, उम्मेद्वारहरूले ग्रामीण क्षेत्रका मतदातालाई निर्वाचन शिक्षासमेत दिएको पाइँदैन । उम्मेद्वाहरू केवल आफ्नो मतपत्रमा मत हाल्न सिकाउँछन् । जनप्रतिनिधिको काम के हो ? स्थानीय तहका जनप्रतिनिधिले कस्तो काम गर्छन् ? प्रतिनिधिसभा र प्रदेशसभाका जनप्रतिनिधिको मुख्य जिम्मेबारी के हो ? यसपटकको निर्वाचनमा कति वटा मतपत्रमा मत हाल्नुपर्छ ? भन्नेजस्ता कुरा कुनै पनि उम्मेद्वारले मतदातालाई सिकाएको पाइँदैन ।

त्यसैले पनि प्रत्येक निर्वाचनमा ग्रामीण क्षेत्रको मतदान केन्द्रमा ठुलो संख्यामा मत बदर हुने गरेको छ । बालचन्द्रलाल कर्ण धनुषा जिल्ला घर भए पनि विगत २२ वर्षदेखि कपिलवस्तुमा बस्दै आएका छन् । रोजगारीको सिलसिलामा उनी कपिलवस्तु पुगेका हुन् ।

उनी भन्छन्, ‘एक त सचेत समाज छैन । शिक्षाको अभावमा अन्धविश्वासले जरो गाडेको छ । उम्मेद्वारहरू पनि यस्तो कुरामा उदासीन देखिन्छन् । दलका उम्मेद्वारहरू आउँछन्, आफ्नो चिन्हमा भोट माग्छन् । तर, उनीहरू मतदातालाई सचेत बनाउने विषयमा कुनै कुरा गर्दैनन् ।’

कपिलबस्तुको विजयनगर गाउँपालिकामा चियानास्ताको पसल गरेर बसेका राजु चौधरीलाई अहिले चिया बेच्न भ्याईनभ्याई छ । युवादेखि वृद्धसम्म भेला हुने उक्त चिया पसलमा अधिकांशको भनाई एउटै थियो, ‘नेताहरु भोट माग्छन् तर, कसरी मत खसाल्ने भनेर सिकाउँदैनन् । मत बदर हुने कारण पनि त्यही हो ।’ राजुलाई त मतपत्र कति छन् भन्ने समेत पत्तो छैन ।
प्रोफेसर डा. गोविन्दमान सिंह कार्कीले चुनावमा नेताका एजेन्डा स्वास्थ्य र शिक्षामा हुनुपर्ने भए पनि यसमा कुनै दल जिम्मेवार नभएको बताउँछन् । उनी भन्छन्, ‘गरिबी र अशिक्षा भएका जिल्लामा शौचालय निर्माणका लागिविभिन्न दातृ निकायको सहयोग आउँछ । तर, त्यहाँका वासिन्दालाई पहिलो कुरो खुलास्थानमा दिसा÷पिसाब गर्दा त्यसले स्वास्थ्यमा पार्ने असरका बारेमा बुझाउँदैनन् । जो व्यक्ति हो उसलाई पहिला स्वास्थ्यको चेतना जगाउनु आवश्यक छ ।’

उनको विचारमा मतदाता शिक्षादेखि लिएर हरेक नागरिकलाई आफ्नो जीवनस्तर उकास्न सचेत बनाउनु पनि राजनीतिक दल र उम्मेद्वारहरूको दायित्व हो । नेताले भोटमाग्दा तत्काल हुने फाइदालाई मात्र हेर्ने गरेको ठम्याइ डा. कार्कीको छ ।

प्रतिक्रिया