कपिलवस्तु । देशभर चुनावी सरगर्मी बढिरहेका बेला कपिलवस्तु पनि अछुतो छैन । नेताहरुले घरदैलो अभियान सुरु गरिरहेका छन् । कपिलवस्तुमा प्रतिनिधीसभातर्फ तीन वटा निर्वाचन क्षेत्र छ । निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता वृजेश कुमार गुप्ता र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुरेन्द्र आचार्यको बीचमा प्रतिस्पर्धा हुने देखिन्छ । गुप्ताले यसअघि लगातार चार पटक चुनाव जितिसकेका छन् । दुवै उम्मेदवारले घरदैलो अभियानलाई तिब्र पारेका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा
एमालेबाट मंगलकुमार गुप्ता र गठबन्धनका उम्मेदवार कांग्रेसका अभिषेक प्रताप साहबीच प्रतिस्पर्धा हुने देखिन्छ । यहाँका स्थानीयको मुख्य माग सिचाईँ, खानेपानी, अस्पताल र स्वरोजगार हो । पटकपटक नेताले चुनाव अघि यी सबै मागलाई सम्बोधन गर्ने आश्वासन दिन्छन् । तर, चुनाव जितेर गएपछि सबै चुनावी एजेन्डा विर्सने गरेको गुनासो स्थानीयको छ ।
कपिलवस्तु भरि एउटा पनि राम्रो सेवासुविधा सम्पन्न अस्पताल छैन । विरामी उपचार गर्न वुटवल पु¥याउनुपर्ने बाध्यता छ । बालबच्चा पठनपाठन गराउन समेत राम्रो विद्यालय छैन । कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) का स्थानीय काशीराम मौर्य भन्छन्,‘ कपिलवस्तुका अधिकांश स्थानीय कृषीमा निर्भर छन् । तर, सिचाईँ नहुँदा वर्षाको भर पर्नुपर्छ । सरकारले कृषीलाई प्राथमिकता राख्छु भने पनि वर्षौंसम्म सिचाईँको व्यवस्था गरेन ।’ मौर्यका अनुसार नेताहरु चुनावका समयमा भोटको राजनीति मात्रै गर्दै आएका छन् । ‘नेताले जनताका समस्या बुझिदिनुपर्छ । हामी कसरी बाँचेका छौं ? कुन सरकारले देखेको छ ?,‘ मौर्य प्रश्न गर्छन । ’ मौर्यलाई पारिवारिक बोझ छ । बृद्ध बाबुआमा, छोराछोरी र नातीनातीनी गरि १० जनाको परिवार मौर्यकै निर्भरमा छन् । खेतमा धान, गहुँ लगायत अन्नबाली उत्पादन गरेर त्यसैलाई बेचेर मौर्य आफ्नो घरको गर्जो टार्छन् ।
विजयनगर गाउँपालिका वडा नम्बर ९ मा काठमिलमा काम गरिरहेका राम हेत चौधरी, रमेश कुमार चौधरीलाई चुनावको कुनै रौनक छैन । गरिब परिवारमा हुर्किएका उनीहरु पेट पाल्न काठ मिलमा काम गरिरहेका छन् । दिनभरी काठ मिलमा काम गरेबापत जनही पाँच सयको दरले कमाउँछन् । विहान खेतमा काम गर्न जान्छन्, दिउँस मिलमा । राम हेत भन्छन्,‘ चुनाव आउँछ, गाउँमा नेता आउँछन्, चुनाव सकियो नेता देखिंदैनन् । हाम्रो समस्या कस्ले देख्छ ?’ रमेश कुमारको पनि आफ्नै गुनासो छ । गरिब परिवारमा जन्मिएका रमेशले पढ्न पाएनन् । दैनिक ज्यालादारीमा काम नगरे रमेशको परिवार भोकै रहने अवस्था छ । उनी भन्छन्,‘ म राजनीति धेरै जान्दिन । काम नगरि खान पुग्दैन । नेताले एकदिन आउँछन्, ठूला सपना बाँड्छन् र हिंड्छन् । मेरो दुःख म सँग छ ।’
कपिलबस्तु विजयनगर गाउँपालिका ७ का शिव कुमार चौधरी चुनावका बेला मात्रै नेताले सिचाइँको एजेन्डा बनाउने बताए । उनले भने,‘ सिचाईँ नहुँदा कृषीमै निर्भर स्थानीयले दुःख भोग्दै आएका छन् । बाली लगाउने बेला समयमा मल पाउँदैनन् ।’ धान उत्पादन हुने ठूलो हिस्सा बोकेको कपिलवस्तुमा सरकारले धानको उचित मूल्य नदिंदा भारतीय व्यापारीले खेतबाटै धान उठाएर लैजाने गरेको गुनसो चौधरीको छ । त्यही धान चामल बनेर नेपाल आउँछ ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता चक्रपाणी खनालबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
कपिलवस्तुका देहात (गाउँ) मा पढेलेखेका व्यक्ति कमै भेटिन्छन् । राम्रो सँग पठाउँछु भनेपनि त्यो अनुसारका विद्यालय छैनन् । गरिबीले थिचेको छ । कृषीमै निर्भर हुनुपर्ने भएपछि चुनावी रौनक देखिंदैन । कपिलवस्तु बुद्धभूमि नगरपालिका १० लोहरौलाका कृषक राम मोहन कोरी चौधरीको जस्तै समस्या सुनाउँछन् । ‘कपिलवस्तु जिल्ला कृषिको उर्बर भूमि हुँदाहुँदै पनि सरकारले सिचाईँको लागि ठोस पहल गरेन । तीनै तहको सरकारलाई थाहा छ ।’ उनी भन्छन् । कपिलवस्तु २ बाट प्रतिनिधि सभामा ३ पूर्वमन्त्रीसहित ११ जना चुनावी मैदानमा छन् । उनीहरुसँग सिंचाइ समस्या समाधान गर्ने ठोस योजना भने छैन ।
कपिलवस्तुको सिंचाइको समस्या दीर्घकालीन रुपमा समाधान गर्न नौमुरे आयोजना सञ्चालन गर्नुपर्ने बुझाई यी नेताहरुमा छ । तर, सरकारमा पुगेपछि वेवास्ता गर्दा सिंचाईँ समाधान भएको छैन ।
कपिलवस्तुमा कूल मतदाता तीन लाख ७८ हजार दुई सय ३२ छन् । आगामी निर्वाचनमा दुई सय ३४ वटा मतदानस्थल कायम गरिएको छ भने चार सय ७२ मतदान केन्द्र रहनेछन् । निर्वाचन क्षेत्र १ क र ख मा कूल मतदाता संख्या एक लाख ४१ हजार १३, २ क र ख मा एक लाख २१ हजार ६ सय ७६ र ३ क र ख मा एक लाख १५ हजार पाँच सय ४३ मतदाता छन् ।
मतदाताको उम्मेदवारलाई प्रश्न
– सिचाईँको व्यवस्था खै ?
– अस्पताल खै ?
– विद्यालय खै ?
– खानेपानीको व्यवस्था खै ?
– कृषी उत्पादनको बजार खै ?
– रोजगारी खै ?
प्रतिक्रिया