जितमा कुनै शंका छैन

जगन्नाथ खतिवडा

प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उदयपुर–२ उम्मेद्वार बनेका जगन्नाथ खतिवडाका अगाडि जनताका पक्षमा गर्नुपर्ने कामका चाङ छन् । उदयपुर जिल्लालाई सबैतिर छुने तीन ठूला सडक विस्तार, मदन भण्डारी लोकमार्गलगायत धेरै सडक निर्माण र विस्तारलाई उनले अवसर र चुनौतीका रूपमा लिएका छन् । यसले आफ्नो जिल्लाको जनताका भविष्य सुन्दर बनाउनेछ भन्ने उनको ठम्याइ छ । कृषि, पशुपालन र फलफूल उत्पादनका दृष्टिले अत्यन्तै उपयुक्त ठाउँ रहेकाले पनि जनताका जीवनस्तर उकास्न यहाँका सबै सम्भावनालाई अधिकतम उपयोग गर्नुपर्ने उनको बुझाइ छ । ०५६ सालमा यही क्षेत्रबाट सांसद भएका उनले मुलुकमा भएको राजनीतिक उथलपुथलका कारण लामो समय जनप्रतिनिधिका रूपमा काम गर्न पाएनन् । यतिबेला निर्वाचनमा होमिएका उनी नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत हुन् । विद्यार्थी जीवनबाट वाम राजनीतिमा होमिएका उनी यसपटक पनि जनताको विश्वास जित्नेमा ढुक्क छन् । प्रस्तुत छ— निर्वाचनकै सेरोफेरोमा सौर्य दैनिकका लागि चमिना भट्टराईले उदयपुरको कटारीमा गरेको संवादको संपादित अंश :

निर्वाचनको तयारी कहाँ पुगेको छ, कस्तो छ अवस्था ?

–अहिले हामी निर्वाचनको प्रचारप्रसारको काम मध्यम अवस्थामा आइपुगेको छ । मतदातासँगको भेटघाटलाई सँगै लगेका छौँ । सुरुआतका दिनमा राजनीतिक दलहरूभित्र रहेको अन्यौल भ्रमजस्ता सबै कुरा मेट्ने काम भइसकेको छ । गठबन्धनमा रहेका सबै राजनीतिक दलका नेता कार्यकर्ता एकढिक्का भएर चुनाव प्रचारप्रसारको अभियानमा लागिसक्नुभएको छ । म पनि निर्वाचन क्षेत्रका आधाभन्दा बढी वडा घुमेर भर्खर मात्रै कटारी बजार आएको छु । अहिलेसम्मको अवस्थामा निकै नै उत्साहपूर्वक वातावरणमा हाम्रो चुनावी प्रचारको अभियान चलिरहेको छ । हाम्रो सक्रियतासँगै जनतामा पनि निर्वाचनको चासो बढेको अनुभूति गरेको छु ।

मतदाताको अपेक्षा कस्तो पाउनुभएको छ ?

–आमरूपमा मतदाताले मलाई देखाउँदै भन्ने गर्नुभएको छ, हाम्रो ठाउँ असाध्यै पछाडि परेको छ । यस क्षेत्रको पूर्वाधार विकास गर्नका लागि तपाईं जत्तिको उपयुक्त व्यक्तित्व अरू कोही हुन सक्दैन । हामी तपाईंलाई साथ दिन्छौँ’, सायद यहाँका जनताले मबाट केही अपेक्षा गर्नुभएको छ । उहाँहरूले मप्रति अहिले नै एकप्रकारको प्रतिवद्धता जनाउनुभएको छ भन्ने मैले अनुभूति गरेको छु । समग्रतामा यो क्षेत्र विकासका दृष्टिले पछाडि परेको क्षेत्र हो । उदयपुर जिल्लामा पनि निर्वाचन क्षेत्र नम्बर–२ पछाडि परेको क्षेत्र हो । यसलाई प्रतिनिधित्व हामीले मात्रै गर्न सक्छौँ भन्नेमा आमजनता मतदाताको मनोविज्ञान देखिएको छ । त्यसैले यो निर्वाचनमा गठबन्धनका तर्फबाट सबैलाई समेटेर हिँड्न सक्ने र राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा आफ्नो उपस्थित देखाउन सक्ने र विकासका बजेटहरू आफ्ना धेरैमा धेरैभन्दा धेरै ल्याउनका लागि पहल गर्ने सक्ने व्यक्तित्वका रूपमा लिनुभएको छ । मैले मतदाताको त्यो अपेक्षा पूरा गर्ने गरी काम गर्नुपर्छ भन्ने ठानेको छु । यहाँका मतदाताले मेरो उपस्थितिलाई सकारात्मक रूपमा लिनुभएको मैले महसुस गरेको छु । उहाँहरूले यो ठाउँका लागि मेरो उपस्थितिलाई आवश्यक ठान्नुभएको छ भन्ने पाएको छु । त्यसैले पनि हाम्रो गठबन्धनको विजयमा शंका छैन ।

— मेरा लागि उदयपुर कर्मथलो हो । त्यसमा पनि क्षेत्र नम्बर–२ मेरो लागि हिजो संसद् हुँदा वा नहुँदा सबै प्रकारले मेरो काम गर्ने ठाउँ हो । संसद् नभएका बेला पनि मैले त्यो भूमिका निभाएको छु । अर्को कुरा नेतृत्वका हिसाबले म पार्टीको पनि जिम्मेवार ठाउँमा छु । जनताले यहाँको विकासमा पहुँच पनि हेर्नुहुनेछ भन्ने लागेको छ ।

तपाइले निर्वाचन जित्ने आधारहरू के के देख्नुभएको छ ?

– मैले निर्वाचन जित्नका लागि सबैभन्दा पहिलो आधार भनेको यो क्षेत्रमा पाँच पालिका छन्, ती सबैमा गठबन्धनको नेतृत्व छ । यो क्षेत्रका ४० वडा मध्ये अधिक स्थानमा गठबन्धनको नेतृत्व छ । जनताको हामीसँग अपेक्षासँगै धेरै विश्वास पनि छ । त्यस्तै गठबन्धनभित्र कुनै तिक्तता र शंका छैन । अलिअलि भएका अन्यौल मेटाइसकेका छौँ । प्रत्येक कार्यक्रम अत्यन्तै भव्यतापूर्वक सम्पन्न भएका छन् । गठबन्धनमा भएका सहयात्रीका बीचमा कसैले पनि आफ्नो इमानदारीलाई तलमाथि पर्ने गरी काम गरेको देखिएको छैन । सबै इमानदारीपूर्वक लाग्नुभएको छ । यहाँ सबैको संगठन मजबुद छ । त्यस कारण हामीले चुनाव जित्ने आधार यिनै हुन् । जनताको साथ सहयोग र सहयात्री गठबन्धनको बलियो शक्तिका आधारमा हामी चुनाव जित्नेमा ढुक्क छौँ । अर्को मुख्य आधार भनेको जनताको हामीप्रतिको अपेक्षा पनि हो ।

तपाईं पहिला पनि एकपटक यो क्षेत्रबाट निर्वाचित हुनुभयो । लामो समयको अन्तरालपछि फेरि निर्वाचनमा होमिनुभएको छ । यो निर्वाचनमा तपाईंको मुख्य एजेन्डा के के हुन् ?

– म यो क्षेत्रबाट निर्वाचित भएपछि तीन जना यो क्षेत्रबाट निर्वाचित भएर संसद्मा जानुभयो । तर, आज म जनताका घरमा जाँदा मप्रति उहाँहरूको ठूलो भरोसा छ । तपाईं यहाँ आउनुपर्छ । तपाईं नभए अरूले हाम्रो समस्या बुझ्न सक्दैन भन्ने बुझाइ पाएको छु, त्यसलाई मैले जिम्मेवारीका रूपमा लिएको छु । उहाँहरूमा अब मैले केही गर्ला कि भन्ने भाव मैले अनुभूत गरेको छ ।

जहाँसम्म चुनावी एजेन्डा हो त्यसलाई हामीले यहाँको भौगोलिक अवस्थाका आधारमा तय गरेका छौँ । यो जिल्ला भौतिक पूर्वाधार विकासका दृष्टिले पछाडि परेको जिल्ला हो । उदयपुरको पनि यो २ नम्बर क्षेत्र झनै पछाडि छ । सडकको पूर्वाधार, विद्यालयको पूर्वाधार, स्वास्थ्यको पूर्वाधार । राजमार्गहरूको विकास महाभारत सडक कोसी चतरा सडकजस्ता महत्वपूर्ण मुद्दाहरू यस क्षेत्रमा छन् । यसलाई लिएर हामी चुनावमा गएका छौँ । निर्वाचित भएपछि जनताका पक्षमा के के काम गर्ने र यहाँको आवश्यकता र सम्भावना के के हुन् भन्ने बारेमा हामीले घोषणापत्रमार्फत पनि सार्वजनिक प्रतिवद्धता गरेका छौँ । यसलाई वितरण गर्ने तयारीमा छौँ । समग्रतामा गठबन्धनमा रहेका तीन राजनीतिक दल यस क्षेत्रमा छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) तीन राजनीतिक दलका तर्फबाट पनि संयुक्त घोषणापत्र सार्वजनिक गरेका छौँ । आउने पाँच वर्ष यहाँको विकास निर्माणमा सँगसँगै लाग्ने प्रतिबद्धता गरेका छौँ । हाम्रो संयुक्त घोषणापत्रले पनि सबैलाई एउटै सूत्रमा बाँधेको हुनाले सबै मिलेका छन् र यहाँको विकासमा पनि मुख्य राजनीतिक शक्ति मिले उपलब्धी हुन्छ भन्नेमा जनता पनि विश्वस्त छन् । त्यसैले मैले हिजो जे गरे त्यो भन्दा आज धेरै गर्नु छ । समय र आवश्यकताले धेरै काम गर्नुपर्छ आजको दिनमा त्यसलाई मैले राम्ररी बुझेको छु ।

स्थानीय मुद्दाहरू चाहिँ के के हुन यहाँको ?

–सडक सञ्जाललाई पक्की बनाउने, बिस्तार गर्ने नै हो मुख्य त । उदयपुर जिल्लालाई सबैतिर छुने तीन ठूला सडक छन् । एउटा मदन भण्डारी लोकमार्ग, अर्को महाभारत लेक जसले सिंगो उदयपुरलाई छुन्छ, त्यसको ट्रयाक खुलिसकेको छ । त्यसलाई व्यवस्थित गरी बाह्रै महिना चल्न सक्ने बनाउन पक्की बनाउनु छ । अर्को हो सुनकोसी नदीको घुर्मीदेखि चतरा सुनसरी छुनेसम्मको सडक बिस्तार गर्न सकियो भने यो क्षेत्रको मात्रै होइन सिंगो जिल्लाको विकासमा महत्वपूर्ण हुनेछ । यसले यो जिल्लाको साथै पूर्वी पहाडी जिल्लाका लागि पनि सहज बनाउनेछ । यस्तै उत्तर दक्षिण गरेर कोरिने सडकले यसलाई पूरै व्यवस्थित गर्नेछ । यसले जिल्लाको भविष्यलाई राम्रो गर्नेछ भनेर हामीले जिल्लाको पूर्वाधार विकासलाई एजेन्डा बनाएका छौँ ।
हाम्रो दोस्रो प्राथमिकता भनेको यो जिल्ला कृषि, पशुपालन र फलफूल उत्पादनका दृष्टिले अत्यन्तै उपयुक्त जिल्ला हो । यहाँका महाभारत उत्तरका भागहरू अत्यन्तै राम्रा र उर्वर छन् । कटारी फाँटिलो छ । यी फाँटहरू अन्न उत्पादनका लागि निकै राम्रा छन् । यहाँ वनजंगल प्रसस्त छन्, हामीसँग जैविक विविधता प्रसस्त छन् । त्यसैले हामीले यहाँ भएका सबै चिज उत्पादन गरेर बजारमा ल्याउन सक्छौँ । त्यसकारण कृषिमा आधुनिकीकरण, कृषि बिमा, स्थानीय जनताको स्वास्थ्य बिमाको सुनिश्चितता गर्नु र कृषि वन पशुपालनसँग जोडिएका विषयमा स्थानीय उद्योगको स्थापना गरी रोजगारी वृद्धि गर्नेजस्ता विषय हाम्रा स्थानीय महत्वपूर्ण एजेन्डा हुन् । अर्को महत्वपूर्ण विषय भनेको यस जिल्लामा सिमेन्ट उद्योग छन् । यहाँ चुनढुंगाका खानी र उद्योग छन्, त्यसलाई व्यवस्थित गर्नु पनि हाम्रो एजेन्डा हुन् ।

— कृषिमा आधुनिकीकरण, कृषि बिमा, स्थानीय जनताको स्वास्थ्य बिमाको सुनिश्चितता गर्नु र कृषि वन पशुपालनसँग जोडिएका विषयमा स्थानीय उद्योगको स्थापना गरी रोजगारी वृद्धि गर्नेजस्ता विषय हाम्रा स्थानीय महत्वपूर्ण एजेन्डा हुन् । अर्को महत्वपूर्ण विषय भनेको यस जिल्लामा सिमेन्ट उद्योग छन् । यहाँ चुनढुंगाका खानी र उद्योग छन्, त्यसलाई व्यवस्थित गर्नु पनि हाम्रो एजेन्डा हुन् ।

यस्तै नदी नियन्त्रण पनि हाम्रो यस क्षेत्रको ठूलो समस्याको रूपमा छ । यहाँ धेरै खोला नाला छन् त्यसमा बाह्रै महिना गाडी चल्न सक्ने गरी पक्की पुल बनाउनु छ । अर्को, जनताको दैनिकीसँग गाँसिएको ठूलो समस्याका रूपमा सुकुम्बासी समस्या छ । जनतालाई लालपुर्जा दिलाउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने पनि हाम्रो अर्को एजेन्डा हो । सबै प्रकारका सम्भावनालाई जनताका हितमा अधिकतम उपयोग गर्ने गरी काम गर्नेछौँ ती सबै हाम्रा एजेन्डा हुन् ।

पार्टीको उपमहासचिव भएको हैसियतले समग्रमा देशभर पार्टीको चुनावी अवस्था कस्तो पाउनुभएको छ ?

–अहिलेसम्म मैले पाएको सूचनाका आधारमा भन्ने हो भने हाम्रो पार्टीबाट १८ जना प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । सबैका अवस्था निकै सबल भएकाले सबैले निर्वाचन जित्ने सुनिश्चित अवस्था छ । यसमा गठबन्धनका सहयात्रीदलहरूले पनि इमानदारीपूर्वक लागेको र प्रचार गरेको अवस्था छ । प्रत्यक्षमा प्रतिस्पर्धी उम्मेद्वारको जितले समानुपातिक मतमा पनि भूमिका खेल्ने भएकाले हाम्रो पार्टीको अवस्था राम्रो छ । जनताले हाम्रो पार्टी र उम्मेद्वारलाई हिजोका दिनमा जनताका पक्षमा गरेका कामका आधारमा मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास छ । देशभरको प्रदेशसभाका बारेमा भने मैले पूर्ण रिपोर्ट पाएको छैन । आफै पनि निर्वाचन क्षेत्रमा बढी सक्रिय भएकाले पनि हो । तर, हरेक ठाउँमा तीव्र गतिमा चुनावी अभियान चलेको छ ।

तपाईंको क्षेत्रमा गठबन्धनको सहयात्रीबाटै त्यति राम्रो सहयोग छैन भन्ने पनि सुनिएको छ के हो अवस्था ? कुरा बाहिर आएको जस्तो हो कि होइन ?

–सुरुका दिनमा यस्ता कुरा सुनिन्छ, त्यो सामान्य हो । तर, चुनावको अन्त्यतिर पुग्दा एकता भएर जाने र निर्वाचन जित्ने यो चुनावी मनोविज्ञान पनि हो, यो सबैतिर रहन्छ । यही बीचमा परेको चाडवाडका कारण पनि कार्यकर्ताहरू व्यस्त थिए । तर, तिहार र छठपछि निर्वाचनको माहौल तातेको छ । सबै राजनीतिक दलमा नेता कार्यकर्ता एक भएर चुनावी अभियानमा लाग्नुभएको छ । यस क्षेत्रको ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसले यहाँको विद्रोही उम्मेद्वारलाई साधारण सदस्यबाट समेत निष्कासन गरेको छ । उनी मात्रै होइन, सँगै उनका समर्थक र प्रस्तावकलाई समेत निष्कासन गरेको छ । सबैलाई निर्वाचनमा होमिन निर्देशन गरेको छ । जो विद्रोहीको पक्षमा लाग्छु भनेका थिए उनीहरू पनि निरुत्साही हुँदै गएका छन् । यहाँको कांग्रेस नेतृत्व पूर्णरूपमा गठबन्धनको चुनावी अभियानमा लागेको छ । अर्को दल माओवादीको पनि सिंगो जिल्ला नेतृत्व निर्वाचनमा केन्द्रित भएर लागेको छ । पछिल्ला दिनमा यहाँ कुनै पनि दलका नेतृत्वका बीचमा असहमति, बेमेल वा चिसोपन छैन । निकै हार्दिकताका बीचमा हामी चुनाव प्रचारमा लागेका छौँ । नेपाली कांग्रेस र माओवादीले देखाएको एकता निकै प्रशंसनीय छ । यो निरन्तरता रहीरहन्छ भन्ने उहाँहरूको व्यवहारले देखाएको छ । त्यसैले म निर्वाचन जित्ने कुरामा पूर्णरूपमा ढुक्क छु ।

निर्वाचनमा होमिँदै गर्दा के कस्ता चुनौती देख्नुभएको छ ?

–निर्वाचनको मोर्चामा सबै राजनीतिक दलका लागि आर्थिक अभाव र स्रोत नै सबैभन्दा ठूलो चुनौती हो । एकातिर चुनाव यति धेरै खर्चिलो हुँदै छ अर्कोतिर निर्वाचन आयोगको खर्च सीमामा पनि बस्नुपर्नेछ । अर्कोतर्फ जनताको अपेक्षा र स्रोत साधनमा तालमेल मिल्न सकेको छैन । यो दुई वटाको अन्तरविरोधको अवस्थालाई मिलाएर लैजानु अत्यन्तै कठिन कार्य हो । यो मेरा लागि मात्रै होइन, हरेक उम्मेद्वारका लागि चुनौतीको विषय हो । त्यसलाई मैले पनि सामना गर्दै छु । सकेसम्म त्यसको व्यवस्थापन गर्न लागेको छु । अर्को चुनौती भनेको जनताले उम्मेद्वार र समयअनुसार पार्टी हेर्नुपर्नेमा छ ।

— जनताको दैनिकीसँग गाँसिएको ठूलो समस्याका रूपमा सुकुम्बासी समस्या छ । जनतालाई लालपुर्जा दिलाउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने पनि हाम्रो अर्को एजेन्डा हो ।

कतिपय मतदाता पहिलेदेखि नै समाएको पार्टी हो त्यसलाई छोडेर कसैलाई भोट हाल्दिनँ भन्ने मनोविज्ञानमा पनि छ । उनीहरूलाई पुरानो छोडनु हुन्न भन्ने भ्रम पारिएको छ । यसबारेमा म मतदातालाई आग्रह गर्न चाहन्छु, । तपाईंलाई पार्टी छोडन मन छैन भने सैद्धान्तिक रूपमा समानुपातिकमा आफ्नो पार्टीलाई भोट हाल्नुस्, आफ्नो क्षेत्र हेर्ने र भविष्य बनाउने सवालमा यो वाम लोकतान्त्रिक गठबन्धनको टिमलाई आउने पाँच वर्षका लागि स्थायी सरकार बनाउने संकल्प बोकेको टिमलाई सहयोग गर्न आह्वान गर्न चाहन्छु । यस्ता केही चुनौती छन् जसलाई हामी निर्वाचनका दिनसम्म व्यवस्थापन गर्नेछौँ ।

जीतका लागि आफ्नो सवल पक्ष के देख्नुहुन्छ ?

–म जुन भेगमा बस्छु त्यो भेगमा जनसंख्याका हिसाबले मतदाता धेरै छन् । यहाँको भूगोलमा म सबैका लागि परिचित पात्र हुँ । सानैदेखि यही माटोमा राजनीति गरेका कारण यहाँका सबै जनताले मलाई चिन्नुभएको छ, बुझ्नुभएको छ । यहाको हरेक टोल गाउँसम्म पुग्ने नेता हुँ, म । यसले पनि यहाँका जनताका समस्या चिन्ने हिसाबले र अनुभवका आधारमा पनि मलाई यस क्षेत्रका समस्या सम्भावाना र जनताका आधारभूत आवश्यकता के के हुन् भन्ने बारेमा म पूर्ण रूपमा जानकार छु । कहाँ के गर्नुपर्छ म जानकार छु । अर्को कुरा मैले हिजोका दिनमा सांसद हुँदा वा नहुँदा व्यक्तिका लागि होस् वा संघ संस्थाका लागि सधैँभरी आफू जिम्मेवार रहेर काम गरेको छु । त्यसैले पनि होला धेरै जनाले भन्दै हुनुहुन्छ, हिजो तपाईंले हामीलाई अफ्टारो पर्दा सहयोग गर्नुभएको थियो । आज तपाईंका लागि स्वतस्फूर्त ढंगले हामी लाग्नेछौँ । यो मेरो लागि सवल पक्ष हो । हिजो मलाई निर्वाचित गराउने मतदाता र एमाले निर्माणमा मैले गरेको योगदान यहाँका सबैलाई थाहा छ । मैले एमाले बनाउनका लागि खाइनखाइ खेलेको भूमिका देख्ने एमाले मतदातासमेत मप्रति सकारात्मक हुनुहुन्छ । त्यो नै मरो लागि राम्रो पक्ष हो । उहाँहरूले मलाई हृदयदेखि नै सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्णरूपमा विश्वस्त छु ।

त्यसो भए तपाइँ जित्नेमा ढुक्क हुनुहुन्छ ?

–यसमा शंका गर्ने ठाउँ नै छैन । मेरा लागि उदयपुर कर्मथलो हो । त्यसमा पनि क्षेत्र नम्बर–२ मेरो लागि हिजो संसद् हुँदा वा नहुँदा सबै प्रकारले मेरो काम गर्ने ठाउँ हो । संसद् नभएका बेला पनि मैले त्यो भूमिका निभाएको छु । अर्को कुरा नेतृत्वका हिसाबले म पार्टीको पनि जिम्मेवार ठाउँमा छु । जनताले यहाँको विकासमा पहुँच पनि हेर्नुहुनेछ भन्ने लागेको छ । मैले हरेक समय यहाँका जनतालाई आफ्ना र यो ठाउँलाई आफ्नो ठानेको छु । भोलिका दिनमा यो ठाउँका सम्भावनाका ढोका खोल्नका लागि पनि मैले जित्नुपर्छ भन्ने यहाँको मतदाताको चाहना छ । सबैभन्दा ठूलो कुरा म जहाँ गएको छु जसलाई भेटेको छु सबैबाट सकारात्मक व्यवहार पाएको छु । उहाँहरूले हरेक प्रकारले सहयोग गर्ने वचन दिनुभएको छ ।

प्रतिक्रिया