धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले पनि मुख्य बजारक्षेत्रमा सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना भत्काउन सुरु गरेको छ । उपमहानगरपालिकाले सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना हटाउन सुरु गरेको हो । उपमहानगरपालिकाले वडा–१ स्थित सेती प्रादेशिक अस्पतालको कोभिड प्रयोगशाला रहेको भवनको बुधबार पर्खाल भत्काएर भौतिक संरचना हटाउने काम सुरु गरेको हो । सडक अधिकारक्षेत्र भित्र पर्ने संरचना हटाउने अभियान सुरु भएकोे उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए । उनले भने सुरुआतमा सरकारी र सार्वजनिक संरचना भत्काउने काम अघि बढेको छ ।
सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना भत्काउने अभियान सुरु भयो हमालले भने यो अभियान निरन्तर चल्छ रोकिँदैन । क्रमिक रूपमा सडक अधिकारक्षेत्र भित्र पर्ने सबै भौतिक संरचना हटाइने नगरप्रमुख हमालको भनाइ छ ।उपमहानगरपालिकाले वडा–१ को कैलाली पुलदेखि वडा–८ क्याम्पस चोक हुलाकी सडकसम्मको मुख्य सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको हो ।
उपमहानगरपालिकाले सो मुख्य सडकका भत्किने भौतिक संरचनाको लगत संकलन गर्ने काम पनि सुरु जनाइएको छ । सडक फराकिलो पार्नका लागि सडक अधिकार क्षेत्रभित्र परेर भत्किन लागेका घरका घरधनी र उपमहानगरका प्राविधिकहरूको वार्ता टोली गठन पनि गरिएको नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउन यसअघि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।
उपमहानगरपालिकालले मुख्य सडकलाई चौडा पारी नयाँ निर्माण गर्न भन्दै सडकको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना असोजमसान्तभित्र हटाउनसम्बन्धि घर तथा जग्गा धनीलाई अनुरोध गरेको थियो । तोकेको समयभित्र कुनै पनि संरचना नहटाइएकाले उपमहानगरपालिकाले आफैँ भत्काउन सुरु गरेको जनाइएको छ ।
प्रतिक्रिया