चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप हुँदा शय्या अभावमा भुइँमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रूपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल हुने गरेको छ ।
अस्पतालको तथ्यांकलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार ९ सय ६१ ले प्रसूति सेवा लिएका थिए । तीमध्ये सामान्य प्रसूति गराउने ७ हजार ४ सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने ४ हजार १ सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका ३ सय ३५ रहेका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरूपमा दुई तीन जना हुने गर्दछन् । उनका अनुासर प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उनले भने, ‘२०÷२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।’ विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् ।
निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढंगबाट प्रसूति गराउने प्रयास गरिन्छ । उनले भने, ‘यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।’ निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा एक हजार रुपैयाँसमेत दिइन्छ ।
अस्पतालको यो विभागमा १ सय ४७ शय्या र यसका अतिरिक्त क्याबिन छन् । प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), नौ शय्याको एक्टिभ (सक्रिय) र तीन शय्याको लेवर रुम छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोस्टनल र २३ शय्याको पोस्टअप छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनले बताए । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले जानकारी दिए ।
डा. सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे । उनले भने, ‘हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ ।’ कोभिड हुन् वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गरिन्छ । अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले जानकारी दिए ।
मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष (एसएनसियु) (लेबल टु) समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ ।
यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरू उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कंगारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ ।
बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दाे व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए । सरकारले संघीय अस्पतालका रूपमा भरतपुर अस्पताललाई विकास गरेको छ ।
प्रतिक्रिया