भारतीय भूमिबाट उछिट्टिएर आएको ढुङ्गाले दार्चुलामा एक बालककाे ज्यान गयाे

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका २ तम्बाकुमा भिरको बाटोमा हिँडिरहेका एक जना बालकको ढुङ्गाले लागेर ज्यान गएको छ । बाटो हिँडिरहेको अवस्थामा सीमापारि भारतीय भूमिबाट उछिट्टिएर आएको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का हिक्मत महराका नाै वर्षका छोरा पवनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडकभन्दा अलि माथि भारतीय पक्षले बाटो निर्माणको काम गरिरहेकाले त्यहीँबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अहिले प्रहरीको टोली घटनास्थलमा गएको छ । तर यकिन बुझ्नका लागि फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पवन बुबा र बहिनीसँगै हिँडिरहेका थिए । पवनकी बहिनी घाइते भएकी छन् । भारत पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण भइरहेको छ ।

प्रतिक्रिया