तिहारका नाममा विदेशी सामान

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । तिहारका लागि आवश्यक बस्तुको किनमेलका लागि बजारमा भिड बढ्न थालेको छ । तिहारमा भाइ मसला, लत्ताकपडा लगायतका उपहारजन्य बस्तु, झिलिमिलि बत्ती तथा फूलको माला अत्यधिक खपत हुन्छ । यी बस्तुहरू कति मूल्य बराबरका खपत हुन्छन् ? भन्ने एकीन तथ्यांक छैन । तर प्रतिव्यक्ति सरदर एक हजार रुपैयाँ अनुमानित खर्चको हिसाब गर्ने हो भने पनि ३० अर्ब रुपैयाँ हुन्छ । यो त न्यूनतम रकम हो । तर, नेपालको दुर्भाग्य के छ भने तिहारका लागि प्रयोग हुने यी प्रायः सबै बस्तुहरू विदेशबाट आयातित हुन् ।

यस वर्ष बिलासी बस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएका कारण भाइ मसला तथा झिलिमिलि बस्तुको मूल्य अत्यधिक बढेको छ । एकातिर आयात प्रतिबन्ध र अर्कातिर अत्यधिक मूल्य बढेका कारण भारतबाट तस्करी हुन थालेको छ । यसरी तस्करी हुँदा ठूलो परिमाणमा राजस्व गुमेको छ । काला व्यापारीहरू मोटाएका छन् । विगतका दुई वटा तिहार कोरानाका कारण नेपालीहरूले मन फुकाएर मनाउन पाएनन्, यसपटक मन फुकाएरै मनाउँदै छन् । त्यसैले ठूलो रकम बिदेसिने अवस्था बनेको छ ।

तिहार हामी नेपालीको मौलिक चाड हो । तिहारको बेला, मीठो मसिनो खाने, मनोरञ्जन गर्ने प्रचलन धेरै पुरानो हो । यो प्रचलनले विगतमा नेपालको आर्थिक अवस्थालाई राम्रै गरेको थियो । आफ्नै देशको गाउँमा उत्पादित बस्तु सहर बजारमा पुग्थ्यो, सहर बजारमा उत्पादित बस्तु गाउँमा पुग्थ्यो । सेलरोटी लगायतका परिकारहरू घरमै बन्थे । स्वदेशमा उपलव्ध फलफूलकै प्रयोग हुन्थ्यो ।

आफ्नै बारीको कपासबाट कातिएका बत्ती आफ्नै गाउँठाउँको कुमालेले तयार गरेका पालामा, आफ्नै बारीको तोरी पेलेर उत्पादन गरिएको तेलमा भिजाएर बाल्ने गरिन्थ्यो । आफ्नै गाउँको दर्जी दाइले सिलाएको नयाँ टोपी लगाइन्थ्यो । जसका कारण तिहार पर्वले रोजगारी पनि सिर्जना गर्ने गथ्र्यो । तर आजभोलि घरमै बन्ने रोटी तथा मिठाइको ठाउँ विदेशबाट आयातित भाइ मसलाले विस्थापित गरिदिएको छ ।

दीपावलीका नाममा विदेशबाट आयातित झिलिमिलि बत्तीको प्रयोग हुन थालेको छ । दिदीबहिनीले दाजुभाइलाई भड्किला उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई नगद दक्षिणाको सट्टा विदेशबाट आयातित भड्किला जिन्सी उपहार दिने प्रचलन बढ्न थालेको छ । जसका कारण तिहारको मौलिकता त हराउँदै गएको छ नै, सँगसँगै देश कंगाल बन्दै गएको छ । हाम्रा चाड पर्वहरू विदेशी बस्तु खपत हुने माध्यम बन्न थाल्नु भनेको ठूलो चिन्ताको विषय हो ।

अरू बेला विदेशी उत्पादन प्रयोग गरे पनि चाडवाडका बेला स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने मान्यता विगतमा थियो । देवकार्य र पितृ कार्यका लागि आफ्नै घरको कृषि उपज अनिवार्य चाहिन्छ भन्दै जोहो गरेर राख्ने चलन विगतमा थियो । जसका कारण चाडपर्वहरूले देशको अर्थतन्त्र बलियो बनाउन योगदान पु¥याएका थिए । तर पछिल्लो समय नेपालीहरूको जीवनशैली बदलिएसँगै खर्च गर्ने संस्कारसमेत बदलिएको छ । काला बजारीयासँग खरिद गरेरै भए पनि विदेशबाट आयातित भाइ मसला, झिलिमिलि बत्ती प्रयोग गर्नुभन्दा प्रयोग नै नगर्दा पनि हुन्छ । विकल्प अपनाउन सकिन्छ ।

सरकारले यस्तो गरेन, उस्तो गरेन भन्दै सामाजिक संजालमा अर्ती उपदेश दिने, चोक, चौतारी र चिया पसलमा बसेर कुरा काट्दै दिन बिताउने तर आफूले भने सरकारले आयातमा प्रतिबन्ध लगाएका बस्तु तस्करमार्फत काला बजारीसँग मोटो रकममा खरिद गर्ने प्रवृत्ति नेपालमा बढेर गएको छ । देशको ढुकुटी जोगाउने कामको सुरुआत व्यक्ति आफैँबाट गर्नुपर्छ । अत्यावश्यकीयबाहेक विदेशी समान प्रयोग गर्दै नगर्ने, केही महँगो भए पनि स्वदेशी उत्पादन प्रयोग गर्ने हो भने देश आफैँ समृद्ध हुन्छ । विदेशी हस्तक्षेप आफैँ घट्छ ।

छिमेकी मुलुक भारत र चीनका जनताबाट पनि हामी नेपालीले सिक्नुपर्छ । भारतीय जनताले विदेशी समान बहिष्कार गरेरै अंग्रेजहरूलाई घुँडा टेकाइदिएका होइनन् र ? तर हामी स्वदेशी सामानलाई आफैँ विस्थापित गर्दै छौँ, अनि सरकारलाई गाली गर्दै छौँ । सरकारले विलासी बस्तु आयातमा लगाएको प्रतिबन्धलाई सफल बनाउने कर्तव्य हामी जनताको हो ।

प्रतिक्रिया