विमानस्थल सञ्चालनको नारा

आठ करोड रुपैयाँ खर्च गरेर चार वर्षअघि कालोपत्रे गरिएको बाग्लुङको बलेवा विमानस्थल सञ्चालनमा आउन सकेको छैन । त्यसो त ४१ करोड खर्च गरेर निर्माण सम्पन्न गरिएको गुल्मीको रेसुङ्गा विमानस्थल पनि कहिलेदेखि कसरी सञ्चालनमा आउँछ ? कुनै टुंगो छैन । ठूलो धनराशि खर्च गरेर इलाम जिल्ला सदरमुकाममा निर्माण सम्पन्न गरिएको विमानस्थलको हालत पनि यस्तै छ । त्यसो त डेढ दशकअघि करोडौँ रुपैयाँ खर्च गरेर बनाइएको सोलुखुम्बुको कागेलडाँडा विमानस्थल पनि सञ्चालनमा आएको एक/डेढ वर्ष पुग्दा नपुग्दै बन्द भएको छ ।

देशभरीको आँकडा हेर्ने हो भने पहाडी क्षेत्रका १८ वटा विमानस्थल प्रयोगमा आउन सकेका छैनन् । तर जब जब चुनावको मिति नजिकिँदै जान्छ तब तब दल तथा उम्मेद्वारहरूले विमानस्थल सञ्चालनको एजेन्डा अघि सार्छन् । विमानस्थल निर्माण तथा सञ्चालनका लागि भनेर बजेट पनि विनियोजन हुन्छ । तर, सञ्चालनमा आउन नसकेपछि बजेट खेर जान्छ । विमानस्थल किन र केका लागि हो ? निर्माण तथा सञ्चालनका लागि कति खर्च लाग्छ ? दिनमा कति वटा उडान भए भने घाटा लाग्दैन ? दैनिक कति वटा उडान गर्न पुग्ने गरी यात्रुको चाप हुन्छ ? लगायतका प्रश्नको उत्तर स्थानीय सर्वसाधरणलाई थाहा नहुन सक्छ । त्यसैले उनीहरू आफ्नो ठाउँमा विमानस्थल बन्दिए हुँदो हो, भएको विमानस्थल चालु भइदिए हुँदो हो भन्ने चाहन्छन् । तर, जनप्रतिनिधिहरूले यथार्थता बुझ्नुपर्छ । भोट बटुल्ने नाममा जस्तोसुकै माग पनि हुन्छ, हुन्छ भनिदिँदा राज्यको बजेट खेर गएको छ ।

उदाहरणका लागि वाग्लुङको बलेवा विमानस्थललाई लिन सकिन्छ । ०४८ सालअघि वाग्लुङसम्म सडक यातायात थिएन । भैरहवा, पोखरा, र काठमाडौं सम्मको उडानका लागि बलेवा विमानस्थलमा खचाखच यात्रु हुन्थे । मुक्तिनाथ जाने आउने काठमाडौं, पोखरा तथा भैरहवा क्षेत्रका स्वदेशी तथा विदेशी पर्यटकले पनि बलेवा विमानस्थल प्रयोग गर्थे । तर ०४८ सालमा पोखरा–बाग्लुङ पक्की सडक निर्माण पछि बलेवा विमानस्थलले यात्रु पाउन छाड्यो । अनि बन्द भयो । यति बेला त बाग्लुङदेखि मुस्ताङसम्म सडक बनिसकेको छ । बाग्लुङदेखि रिडिहुँदै बुटवलसम्म सडक बनिसकेको छ । त्यस कारण बलेवा विमानस्थलले यात्रु पाउने कुनै गुन्जाइस छैन ।

यो जान्दाजान्दै पनि कालोपत्रे गरियो । सातामा एक दिन उडान पनि गरियो । तर यात्रु नभए पछि बन्द भयो । अहिले फेरी विमानस्थल सञ्चालनमा ल्याउने नारा बोकेर उम्मेद्वारहरू जनताकहाँ भोट माग्न गएका छन् । जनता पनि भ्रममा छन् । बाग्लुङलगायत तत्कालीन धवलागिरि अञ्चलका लागि अब वलेवा विमानस्थल प्राथमिकता हुँदै होइन । पोखरा–बाग्लुङ जम्मा दुई घण्टाको ड्राइभिङ दुरी हो । एक साता पर्खेर जहाज चढ्ने गरी विमानस्थल सुचारु गर्नुभन्दा सडक दुरी छोट्याउनेतर्फ यस क्षेत्रका जनताले उम्मेद्वारसँग प्रतिवद्धता माग्नु जरुरी छ ।

पोखरा महानगरपालिका–२३ मा पर्ने घाँटीछिनाबाट कुश्माको दोविल्लासम्म चार किलोमिटर सुरुङ सडक निर्माण गर्ने योजना दुई वर्षअघि गण्डकी प्रदेश सरकारले अघि सारेको थियो । बाग्लुङ क्षेत्रका लागि गर्नुपर्ने भनेको यही हो । यो सुरुङ मार्ग निर्माण गर्न सक्ने हो भने पोखराको पृथ्वीचोकबाट पर्वतको कुश्मा सम्मको दुरी २२÷२३ किलोमिटरभन्दा लामो हुँदैन । बढीमा आधा घण्टाको हो । तर चुनावी एजेन्डा बनेको छ, ‘बलेवा विमानस्थल सञ्चालनको ।’ यहाँभन्दा ठूलो अदूरदर्शिता अर्को के हुन सक्ला ?’ सुरुङ सडक निर्माणका लागि अत्यधिक महँगो पर्ने अफवाह फैलाइएको छ । थानकोट नागढुंगामा निर्माणधिन सुरुङ सडकलाई लिएर यस्तो हल्ला फैलाइएको हो ।

जहाँसुकै यही स्तरको सुरुङ सडक बनाउनुपर्छ भन्ने छैन । उदाहरणका लागि सुनकोसी–मरिन ड्राइभर्सनको १३ किलोमिटर सुरुङ निर्माणका लागि हालै १० अर्ब रुपैयाँको ठेक्का लागेको छ । प्रतिकिलोमिटर एक अर्ब रुपैयाँ पनि परेन । यो भन्दा दोब्बर ठूलो सुरुङ बनाउने हो भने सडकका लागि प्रयोगमा ल्याउन सकिने रहेछ भन्ने देखियो । १५/२० अर्ब रुपैयाँ बजेट खर्च गर्दा घाँटीछिना–दोबिल्ला सुरुङ सडक निर्माण गर्न सकिन्छ भन्ने कुरा मोटामोटी अध्ययनले पनि देखाइसकेको छ । यो सुरुङ सडक निर्माण भएको अवस्थामा पोखरा–जोमसोमको धरापयुक्त हवाई उडानसमेत आधा कटौती हुन्छ ।

प्रतिक्रिया