ग्रीस–टर्की सीमामा १०० पुरुष नाङ्गै भेटिए

ग्रीस । ग्रीस र टर्कीबीचको सीमामा झण्डै एक सय पुरुष नग्न अवस्थामा भेटिएपछि संयुक्त राष्ट्रसंघले ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । योसँगै दुई देशबीच आरोप–प्रत्यारोपको सिलसिला पनि सुरु भएको छ । ग्रीस प्रहरीले ती व्यक्तिहरूलाई टर्कीको उत्तरी सीमा नजिकबाट उद्धार गरिएको जनाएको छ । तीमध्ये केही पुरुष घाइते पनि छन् । यद्यपी, यो राज्यमा कति मानिस पुगे भन्ने अझै स्पष्ट भइसकेको छैन ।

ग्रीसले टर्कीलाई यस्तो व्यवहार ‘सभ्यताको अपमान’ भएको आरोप लगाएको छ । यस्तै, टर्कीले आफ्नो छिमेकीलाई ‘बर्बरता’ को आरोप लगाएको छ र छिमेकीको दाबीलाई ‘झुटो’ भनेको छ । ग्रीस प्रहरी र युरोपेली संघको सीमा एजेन्सी फ्रन्टेक्सको अनुसन्धानले यी सबै आप्रवासीहरू टर्कीबाट नदी पार गरी ग्रीसको भूभागमा प्रवेश गरेको खुलासा भएको छ ।

संयुक्त राष्ट्र संघले पनि यस विषयमा एक विज्ञप्ति जारी गर्दै ग्रीस र टर्कीको सिमानामा १०० जना पुरुष नग्न अवस्थामा भेटिएकोमा ‘अत्यधिक चिन्तित’ रहेको जनाएको छ । सन् २०१५ र २०१६ को बीचमा शरणार्थीको संख्या तीब्र रुपमा बढेको थियो जब सिरिया, इराक र अफगानिस्तानमा युद्ध र गरिबी झेल्ने लाखौँ शरणार्थी टर्कीको बाटो हुँदै त्यहाँ पुगिरहेका थिए ।
तर, त्यसपछि शरणार्थीको संख्या घट्यो । तर ग्रीसका अधिकारीहरूले हालैका दिनमा टर्कीको भूमिबाट आफ्नो क्षेत्रमा प्रवेश गर्ने शरणार्थीहरूको संख्या फेरि बढ्न थालेको बताएका छन् ।

प्रतिक्रिया