काठमाडौं । बारास्थित प्रसौनी गाउँपालिका–५ प्रष्टोमा एकै परिवारका तीन जनाको हत्या भएको छ । प्रहरीले मृतक तीन जनाको शव स्थानीय ढोरा खोला किनारमा फेला पारेको छ । मृत्यु हुनेमा दीपेन्द्र चौधरीकी पत्नी सुजाता, उनीहरुका तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजवीर छन् ।
मृतकमध्ये आमा र बच्चाको शव तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा भेटिएका दीपेन्द्र अहिले एलएस न्यूरो अस्पतालमा उपचाररत छन् । प्रहरीले दीपेन्द्रमाथि नै आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ ।
मंगलबार सुजाताका माइति पक्षले परिवारका चारै जनाको खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी र आफन्तलाई दीपेन्द्रले परिवारका अन्य सदस्यको हत्या गरेर आफुमाथि पनि हत्या प्रयास भएपछि भागेको बयान दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले परिवारका सदस्यबाटै घटना भएको आशंकामा अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार, धारिलो हतियारले घाँटी रेटेर तीनै जनाको पालैपालो हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
दीपेन्द्रले उनीहरुको हत्या गरी साइकलमा वीरगञ्ज जाँदा सवारी दुर्घटनामा परेको आशंका प्रहरीले गरेको छ । एसपी बोगटीले दीपेन्द्रको बयान र उपलब्ध प्रमाणका आधारमा थप रहस्य खुल्ने जानकारी पनि दिए ।
प्रतिक्रिया