सुध्रेनन् ठूला दलहरू

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा (आम)निर्वाचनका लागि उम्मेद्वारी दर्ताको काम सकिएको छ । समानुपातिक तर्फका उम्मेद्वारको नाम निर्वाचन आयोगले असोज २२ गते सार्वजनिक गरेको छ । प्रत्यक्ष तर्फको उम्मेद्वारी असोज २३ गते दर्ता भएको छ । अब मंसिर ४ पछिको पाँच वर्षका लागि सत्ता संहाल्ने भनेको यिनै उम्मेद्वारमध्येबाटै हो । समानुपातिक तर्फका उम्मेद्वारहरूको सूचीमा भएका नामहरू बारे जनताले सकारात्मक टिप्पणी गरेको सुनिएको छैन ।

प्रत्यक्ष तर्फका उम्मेद्वारको हकमा भने जनतालाई अझै पनि विकल्प छान्ने अवसर छ । समानुपातिक भनेको पार्टीलाई भोट दिने प्रणाली हो भने, प्रत्यक्ष भनेको व्यक्तिलाई भोट दिने प्रणाली हो । प्रत्यक्षतर्फ चुनाव जित्नका लागि सकेसम्म राम्रा व्यक्तिलाई उम्मेद्वारका रूपमा अघि सार्ने परिपाटी जुन मुलुकमा हुन्छ त्यो मुलुकमा बहुदलीय लोकतन्त्र संस्थागत हुन्छ । जुन मुलकमा ‘राम्रा’लाई होइन ‘हाम्रा’लाई अघि सारिन्छ त्यो मुलकमा बहुदलीय लोकतन्त्र धरापमा पर्ने गरेको छ । हाम्रो मुलुकमा पनि बहुदलीय लोकतन्त्र दुईपटकसम्म धरापमा परिसकेको छ । अहिले तेस्रोपटकको अभ्यास हो । यो अभ्यासका क्रममा पनि दलहरूले ‘राम्रा’ लाईभन्दा ‘हाम्रा’लाई अघि सार्न थालेको देखिएको छ । राजनीतिकदलहरू निश्चित व्यक्तिको कब्जामा छन् ।

जनता ‘खाए खा नखाए घिच’ को अवस्थामा छन् ।
सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको अवस्था हेर्ने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा जिल्लाबाट सातौँपटक उम्मेद्वार बनिसकेका छन् । उनले आफ्नी श्रीमतीलाई समानुपातिक तर्फको उम्मेद्वार बनाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण रूपन्देहीबाट उम्मेद्वार छन्, उनले पनि आफ्नी श्रीमतीलाई समानुपातिकको सूचीमा राखेका छन् । यता राजनीतिमा नैतिक मूल्य मान्यता कायम राखेका भनिएका डा.मिनेन्द्र रिजाल भने उम्मेद्वार बन्ने अवसरबाटै वञ्चित गरिए । नेकपा एमालेको कुरा गर्ने हो भने महासचिव शंकर पोखरेल दाङबाट उम्मेद्वार बनेका छन् भने आफ्नी बहिनीलाई समानुपातिक सिट सुरक्षित गरेका छन् ।

नेकपा एमालेले घनश्याम भुसालजस्ता विचारवान नेतालाई गलहत्याएर पञ्चायतकालदेखि नै दुर्गन्धित राजनीति गरेका बयोवृद्ध दीपक बोहोरालाई समर्थन गरेको छ । कमल थापालाई त सूर्य चिन्ह नै प्रदान गरेको छ । आफ्नै प्राइभेट कम्पनी जसरी माओवादी केन्द्र नाम गरेको पार्टी चलाउ“दै आएका पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि बुहारी अघि सारेका छन् भने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बन्नबाटै वञ्चित गरिदिएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र मात्रै होइन प्रायः सबै पार्टीको हविगत यस्तै देखिएको छ ।

गत स्थानीय निर्वाचनमा जस्तै कुनै कुनै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारहरूको पक्षमा लहर आयो भने बेग्लै कुरा, होइन भने आसन्न आमनिर्वाचनमा अधिकांश क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने भनेको यिनै दलहरूबीच नै हो । तर नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छैनन् । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी गरी पाँच दलीय गठबन्धन भएको छ । नेकपा एमालेको नेतृत्वमा राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापाको राष्ट्रिय प्रज्रातन्त्र पार्टी नेपाल, जनता समाज वादी पार्टी, नेपाली कांग्रेस बिपीलगायत पाँच पार्टीको गठबन्धन भएको छ । एमाले नेतृत्वको गठबन्धनमा आवद्ध प्रायः सबै पार्टीहरू वर्तमान संविधान भत्काउने पक्षधर हुन् । एमाले गठबन्धनमा सामेल पाँचमध्ये दुई वटा राप्रपा र नेपाली कांग्रेस बिपीको घोषित एजेन्डा भनेको प्रतिगमन हो ।

जसपा जत्तिको अवसरवादी पार्टीहरू कुनै छैनन् भन्ने देखिइसकेको छ । त्यसैले एमाले नेतृत्वको गठबन्धनलाई अवसरवादी तथा प्रतिगामीहरूको ध्रुवीकरण भन्ने टिप्पणीसमेत गरिएको छ । यता कांग्रेस नेतृत्वको गठबन्धन वर्तमान सत्ताधारी हो । सत्तामा रहेर जनतालाई चित्तबुझ्ने काम गर्न यो गठबन्धन पनि असफल छ । गठबन्धनका कारण सजिलै चुनाव जितिन्छ भन्ने आँकलनका साथ मतदातालाई कतिसम्म हेपिएको छ ? भन्ने प्रश्नको उत्तर उम्मेद्वारहरूको अनुहार हेर्दा प्रष्ट हुन्छ । आफूहरू हेपिएको महसुस गरेका मतदाताले धमाधम स्वतन्त्र उम्मेद्वारलाई भोट नदेलान् भन्न सक्ने अवस्था छैन । कम्तीमा यति हेक्का दलहरूले राख्न सक्नुपथ्र्यो ।

प्रतिक्रिया