प्रविधि पछ्याउँदै उच्च अदालत

बलेवा । काम विशेषले कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेमा तोकिएको पेशी फेरिँदैन । अनलाइनमार्फत पनि बहस गरेर आफ्नो पक्ष र अदालतलाई समयमा मुद्दाको फैसला गर्ने काममा सघाउन पाउने भएका छन् । उच्च अदालत पोखराको बागलुङ इजलासले यो व्यवस्था गरेको हो । परम्परागत व्यवस्थामा मात्रै अदालत सीमित नरहेर उच्च अदालत बागलुङले सूचना प्रविधिको उच्चतम प्रयोग गर्न थालेको हो । ‘समयमा जानकारी भयो भने कुनै वकिल साहेव आउन नसकेकै कारण पेशी रोकिँदैन’ अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले भने, ‘यो अदालतको नौलो र बिद्युतीय माध्यम प्रयोगको नमूना हो ।’ विशेषगरी कोरोना सङ्क्रमणका बेला बाधा अड्काउ फुकाउन गरिएको कार्य समय समयमा प्रयोगमा आइरहेको उनले जानकारी दिए ।

अनलाइन प्रविधिलाई अदालते अन्य बिषयमा पनि प्रयोगमा ल्याएको छ । कुनै मुद्दाको पक्ष पेशी तोकेको दिन जिल्ला बाहिर भएपनि उसले अनलाइनबाटै पेशी लिन पाउने व्यवस्था छ । ‘जुन जिल्लामा बसेको छ, त्यही जिल्लाको अदालतमा पुगेर हाजिर भएपछि उक्त अदालतले जानकारी दिन्छ’ उनले भने, ‘यी विधिले कानून व्यवसायी, मुद्दाका पक्ष समेतलाई फाइदा पुगेको छ ।’ फौजदारी मुद्दाका अभियुक्तबाहेक अन्य विषयका पक्षलाई भने यो विधिले सहयोग पुगेको छ ।

पुरानो शैलीका कारण मुद्दा मामिलामा झण्झट भएको गुनासो आइरहेको बेला यो विधि भने उपयोगी भएको हो । ‘हामीले अदालतमा आएका सेवाग्राहीलाई अप्ठ्यारो नहोस् भनेर सहयोगी पनि नियुक्त गरेका छौँ’ मुख्य न्यायाधीश कृष्ण गिरीले भने, ‘काम लिएर आएको सेवाग्राही वा पक्षलाई मुद्दा दर्तादेखि इजसालमा बसहमा उपस्थित हुने सम्मको सहयोग गर्ने सहयोगी अदालतमा छन् ।’ छिटो न्याय दिने कामका लागि ती सहयोगी नियुक्त भएको उनले बताए । गत आर्थिक वर्षको समीक्षा र चालु वर्षको लक्ष्य तथा कार्यप्रगतीबारे समेत गिरीले जानकारी दिए ।

अदालतको तथ्याङ्क अनुसार चालु वर्षको साउनमा १८ र भदौमा २८ मुद्दा फछ्र्यौट गर्ने आफ्नै लक्षभन्दा बढी काम गरेको भुसालले जानकारी गराए । साउनमा २३ र भदौमा ३८ मुद्दा फछ्र्यौट गरेर एक सय ४५ प्रतिशत प्रगति गरेको उनले बताए । चालु वर्ष दुई सय ७० मुद्दा दर्ता हुने र एक सय गत वर्ष सरेर आएका गरी एक वर्षमा तीन सय ७० मुद्दा पर्ने र दुई सय ४० मुद्दा फछ्र्यौट गर्ने अदालतको लक्ष छ । उच्च अदालत बागलुङमा रिट निवेदन, साधक र प्रतिवेदन गर्ने समेत काम हुने गरेको छ ।

त्यस्तै अदालतले फैसला लेखनमा पनि प्रगति गरेको छ । फैसला भएको सातै दिनमा मुद्दाका पक्षलाई फैसला उपलब्ध गराउने काम अदालते थालेको छ । कानूनमा २१ दिनमा दिनुपर्ने भनेपनि अधिकांश अदालतमा महिनौसम्म फैसला नपाएको गुनासो आएपनि बागलुङस्थित उच्च अदालतमा समयमै फैसला दिने व्यवस्था भएको हो ।

अदालतले सेवाग्राहीलाई शुद्ध खानेपानी, सूचना र सहायता कक्ष तथा बैतनिक कानून व्यवसायी सहजै उपलब्ध हुने व्यवस्था गरेको छ । प्राथमिक उपचार, श्रब्यदृश्यमार्फत मुद्दाको सुनुवाइ र पायक पर्ने स्थानमा मुद्दाको तारेख लिन पाउने व्यवस्था सुधारको सङ्केत भएको उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अखिलनाथ शर्माले बताए । अदालतले दोभाषेको पनि व्यवस्था गरेको छ । – रासस

प्रतिक्रिया