प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए । जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन् ।

अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे समन्धित दललाई पत्राचार गरिने जनाएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि अन्तिम समयमा आएर महराको नाम हटाएको हो । आफ्नै इच्छामा नाम हटाइए पनि प्रत्यक्ष चुनाव नलड्ने महराले यसअघि नै बताइसकेका छन ।

आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो ।

उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया