काठमाडौं । नेपालीहरूको महान चाड वडा दसैंले हरेकलाई छोएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको भीड छ । तर, यसपटकको दसैं खेलाडीलाई भने त्यति महत्वको रहेको देखिदैन । दसैं सकिए लगत्तै नर्वा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने भएकाले दसैंले खेलाडीलाई नछोएको हो । कोजाग्रत पूर्णिमाको भोलीपल्टैदेखि नवौं खेलकुद प्रतियोगिता सुरु हुँदैछ । खेलाडीहरूका लागि राष्ट्रिय खेलकुद नै सबैभन्दा ठूलो चाड भएको उनीहरू बताउँछन् । ‘हाम्रो दसैं त असोज २३ देखि सुरु हुन्छ’ टेबुलटेनिस प्रशिक्षक संजिव ढुंगेलले भने ।
नवौं खेलकुदकै कारण कतिपय खेलको अझै बन्द प्रशिक्षण चलिरहेको र कतिपय आफैं प्रशिक्ष्णमा रहेकाले पनि यसपटकको दसैंंले खेलाडीहरूलाई नछाएको हो । कोजाग्रत पूर्णिमाको भोलपिल्टै नवौं खेलकुदले कतिपय काठमाडौंमै घर भएका खेलाडीलाई पनि दसैंको रमझमले छोएको छैन । कसरी राम्रो गर्ने भन्ने चिन्ता भएकाले दसैं त आएकै जस्तो नलागेको खेलाडी बताउँछन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका विभागिय क्लबमा आवद्ध खेलाडीलाई दसैं बिदा नदिइएको बताइएको छ । आर्मीका मासंलआर्टका खेलाडी त म्याग्दीमा प्रशिक्षण लिइरहेको र उनीहरूको अभ्यास खेल दसैंभरी चल्ने बताइएको छ ।
त्यसो त कतिपय खेलको प्रतियोगिता दसैंकै अवसरमा पनि राखिएको छ । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा ‘बडा दशैं महाभिडन्त’ रिङ रेस्लिङ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ ।
रेप्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार नगद पुरस्कार बेल्ट, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडर म्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
नेपाली यू–१७ फुटबल टोलीको दसैं भियतनाममै
दसैंकै मुखमा यू–१७ फुटबलको एशियन छनौट भइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई शनिबार बिदाइ गरेको छ । एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली दसैैंको फूलपातीकै दिन (आइतबार) त्यसतर्फ प्रस्थान गर्ने छन् । समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेल दसैंको मुख्य टिकाको दिन (बुधबार) थाइल्याण्डको सामना गर्नेछ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
उमा कुङफुले यसरी मनायो दसैं
मनमैजुस्थित उमा कुङफु स्कुलले शनिबार नै दसैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेर मनाएको छ । सो कार्यक्रममा स्कूलले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई सम्मानसमेत गरेको छ ।
तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उनीहरुलाई प्रशंसा पत्र र खादा प्रदान गरी सम्मान गरेका थिए ।
सो अवसरमा मेयर महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिता दिएर योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सन्जिवले स्वर्ण जितेका थिए । उनले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि कांस्य हात परेका थिए । त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य जितेका थिए ।
प्रतिक्रिया