हार्दिक मंगलमय शुभकामना

यतिबेला हामी नेपाली महान चाड बडा दशैंको उल्लासमा छौं । १५ दिनसम्म मनाइने बडा दशैं पर्व नेपालको मौलिक संस्कृति हो । बडा दशैंका १५ वटै तिथिको आ–आफ्नो महत्व तथा विशेषता छ । त्यसमध्ये पनि सप्तमीदेखि विजया दशमीसम्मका चार दिन विशेष रुपले मनाउने चलन छ । हाम्रा धेरै जसो चाड पर्वहरु देवी देवताको पूजा आराधाना तथा भक्तिभाव प्रकट गर्दै मनाउने प्रचलन छ , तर बडा दशैं पर्व पूजा आराधानाका अलवा उत्सव तथा मनोरन्जनका रुपमा मनाउने चलन छ । बडादशैंको अर्को नाम राष्ट्रिय उत्सव भन्दा पनि हुन्छ । वर्षको एक पल्ट बडा दशैंका अवशरमा उत्सव मनाउने हाम्रो परम्परा ज्यादै पुरानो हो । यो परम्परा सँग धार्मिक तथा पौराणीक विभिन्न किंवदन्तीहरु जोडिएका छन् ।

बडा दशैंले धार्मिक तथा सांस्कृतिक पक्षलाई मात्रै नभएर नेपालको आर्थिक तथा समाजिक पक्षको समेत नेतृत्व गरेको छ । बडा दशैंको समाजिक पक्ष निकै नै महत्वपूर्ण छ । दशैं सुरु हुना साथ घर लिप पोत गरेर चिटिक्क सिँगार्ने, गाउँलेहरुले श्रमदान जुटाएर बाटो सफाइ तथा मर्मत गर्ने, पिङ हाल्ने, पिङ खेल्न सबै जमघट हुने , बर्ष भरीमा मन मुटावलाई बिस्मृतिमा राख्दै टीका जमरा ग्रहण गरी एक आपसमा सुख दुख साट्ने । नाता गोता, बन्धु वान्धवहरु एकै ठाउँमा जम्मा हुने लगायतका विशेषताका कारण दशैंको सामाजिक महत्व अतुलनीय छ ।

विश्व बैंकले गरेको पछिल्लो सर्वेक्षण अनुसार नेपाली परिवारले वर्षमा औसत ३ लाख ८० हजार रुपैयाँ खर्च गर्ने गर्छन् । जसको २० प्रतिशत खर्च दसैंको समयमा मात्रै खर्च हुने गरेको छ । बडा दशैंको आर्थिक महत्व के कति छ ? भन्ने कुरा यो तथ्यांकले नै स्पष्ट पार्छ । हुन पनि नेपालमा वर्षमा ६ अर्ब ५० करोड रुपैयाँ हाराहारीको लत्ताकपडा खपत हुने गरेको नेपाल स्थानीय गार्मेन्ट उत्पादक संघको तथ्यांक छ ।

जसको ४० प्रतिशत खपत दसैं र तिहारमा हुने गरेको छ । वार्षिक ५ देखि ६ करोड जोर जुत्ताको माग नेपाली बजारमा देखिन्छ । जसमध्ये दसैंको समयमा मात्रै २ करोड जोर जुत्ताचप्पल बिक्ने गरेको छ । करिव ८० अर्ब रुपैंया बराबरको त माछ–मासु नै खपत हुने गरेको छ । बडा दशैंका अवशरमा एक करोड भन्दा बढी नेपालीले यात्रा गर्छन् । करिव ८–१० अर्ब रुपैंया त यही यात्राका क्रममा खर्च हुन्छ ।

पछिल्लो समयमा दशैंको सामाजिक पक्ष विस्तारै संकट तर्फ धकेलिएको छ । विज्ञान तथा सूचना प्रवृधिको विकासले दशैंको सामाजिक पक्षमा निकैठूलो परिवर्तन ल्याइदिएको छ । उदाहरणका लागि घर सिंगार्न रुखका बोक्रालाई पानीमा पकाएर खोटो बनाइन्थ्यो । कमेरो माटोको प्रयोग हुन्थ्यो । यसका लागि अर्म–पर्मको चलन हुन्थ्यो । तर अहिले यसको ठाउँ विदेशबाट आयातित रसायनयुक्त रङले लिएको छ ।

गाउँलेहरु अर्मपर्म गरेर दशैंमा चिउरा कुट्ने चलन थियो । तर अहिले विदेशबाट आयातित चिउराले परम्परागत चिउरा विस्थापित गरिदिएको छ । पिङ खेल्ने प्रचलन लोप हुन थालिसकेको छ । एउटा गाउँ र अर्को गाउँबीचका युवा युवतीहरु भेटघाट तथा नाचगानका साथ रमाइलो गर्ने , माया प्रेम साटासाट गर्ने सेतुका रुपमा पिङको भूमिका थियो । तर अहिले टेलिभिजन तथा सामाजिक संजालले विस्थापित गरिदिएको छ ।

बडा दशैंमा मदीराको प्रयोग आफ्नो संस्कृति अनुसार निश्चित समुदायमा मात्रै थियो । अहिले सबै समुदाय तथा जात जातीमा मदीरा प्रवेश भएको छ । युग परिवर्तन सँगै सांस्कृतिक चाल चलनहरु प्रिवर्तन हुनु स्वभाविकै हो । तर राम्रा पक्षलाई निरन्तरता दिँदै नराम्रा पक्षलाई सुधार गर्दै लैजानु पर्छ । वडा दशैं २०७९ का अवशरमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया