धमाधम स्तरोन्नति गरिदैं फिदिम २ का सडक

पाँचथर । फिदिम नगरपालिका २ मा सडकहरुको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । दशैं तिहारलाई लक्षित गरी सडकहरुकाे स्तरोन्नति धमाधम भइरहेको हो । दसैँमा सवारी साधनलाई सहज होस् भनेर बाटो स्तराेन्नति गरिएको २ का वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए । उनले भने, ‘व्यक्तिगत लगानीमा धमाधम सडक बन्दै छन् ।’ अधिकारीका अनुसार फिदिमको मुस्कान चोक घुम्ती शाखा भित्र सिचाइ जाने बाटो, एस् टर्निङ हुँदै दंगाल गाउँ जाने बाटो, सिंचाइ हुँदै कर्नाखर भण्डारीको घर हुँदै वडा दुईको कार्यालय जाने बाटो स्तरोन्नति गरिंदै छन् ।

त्यस्तै वडा कार्यालय हुँदै ओदिन बाटो, ओदिन टावर बाटो, तित्तृबोटे साम्दिन जाने बाटो, कृष्ण मन्दिर हुँदै ढाडे मजिटे, बतासे रिङरोड, इन्द्र ढुङ्गानाको घरबाट ढाडे जाने बाटो लगायत अन्य भित्रि सडकहरु स्तरोन्नति भइरहेका वडा अध्यक्ष अधिकारीले जनाए । आफ्नो पहलमा सडक स्तरोन्नति भइरहेको र रकमका लागि नगरपालिकामा अनुरोध गर्ने अधिकारीको भनाइ छ । उक्त बाटो स्तरोन्नतिको लागि वडाध्यक्ष अधिकारीसँगै वडा समिति सदस्य नविन ओझा लगायतका खटिएका छन् । वडामा हुन सक्ने बिभिन्न अपराध न्युनिकरण गर्न वडामा १२ थान सिसिटिभी समेत जडान गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया