उत्तमको एकल पौभा प्रदर्शनी

ललितपुर । कलाकार उत्तम डंगोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन संग्रहालयमा बुधबार प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गरिन् । उनले कलाकार डंगोलले नेपालको मौलिक पौभा कला प्रदर्शनी गरी संस्कृति जर्गेनामा योगदान दिएको बताइन् । उनले भनिन्, ‘पौभा कलालाई संरक्षण, विकास तथा प्रवद्र्धनसँगै उद्योगका रुपमा विस्तार गरी कला र कलाकारको जीवनस्तर उकास्ने गरी काम गर्नु पर्दछ ।’

मन्त्री भुसालले कलाले नेपालको पर्यटन क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको बताइन् । उनले भनिन्, ‘नेपालको कला र संस्कृति पर्यटन उद्योगसँग समेत जोडिएको छ । यसको विकासमा हामीले योजनाबद्ध ढंगले काम गर्नु पर्दछ । कला र कलाकारको योगदानलाई पनि कदर गर्दै देशको हित र विकासमा लगाउनु पर्दछ ।’ सो प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले मौलिक कलाको संरक्षण र प्रवद्र्धनमा योजनासहित काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालको कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अगाडि बढाउन सके देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे । प्राज्ञ शाक्यले कला र संस्कृतिले सम्पन्न पाटन सहरलाई कलाकार उत्तम जस्ता प्रतिभाले सिँगारिरहेको बताए ।

कलाकार डंगोलको कलायात्राका बारेमा चर्चा गर्दै डा. सुदिन शाक्यले उत्तमले कलाका विविध विधा र आयाममा काम गर्दै आएको बताए । उनले नेपाली मौलिक कलाको रुपमा चिनिएको पौभामा समेत कलाकार डंगोलले लामो समयदेखि काम गर्दै आएको सुनाए । उनले कलाकारमा रहेको ज्ञान, सीप तथा प्रविधिलाई हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्ने जिकिर गरे । कलाकार श्यामसुन्दर यादवले कलाकार डंगोलले आधुनिक चित्र, मूर्ति तथा परम्परागत चित्र तथा मूर्तिकलामा समेत काम गर्दै आएको बताए । उनले नेपालको पहिचानलाई चिनाउने कलाको रुपमा चिनिएको पौभा कलामा समेत राम्रो दख्खल राख्ने कलाकार डंगोल कलाको अभियन्तासमेत भएको जनाए ।

सो कार्यक्रममा ज्यापू समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान डंगोलले काठमाडौं उपत्यकाको मौलिक कलाको रुपमा परिचित पौभा कलामार्फत कलाकार उत्तमले नेपालको पहिचानलाई बाहिर ल्याएको बताए । उनले कलाकारमा रहेको ज्ञान र सीपलाई राज्यले पहिचान गरी कला र संस्कृतिको जर्गेना गर्न विशिष्ट भूमिका खेल्नु पर्ने जिकिर गरे । कलाकार उत्तम डंगोलले आफूले नेपालको मौलिक कलाको रुपमा परिचित पौभाको जर्गेना गर्ने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरेको बताए ।

उनले हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र बनाएको जानकारी दिँदै प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्न मद्दत मिल्ने विचार व्यक्त गरे । अग्रज कलाकार गेहेन्द्रमान अमात्यले कलाकार डंगोल नेपालकै प्रतिभाशाली कलाकार भएको बताए । उनले कलाकारले पौभा कलामार्फत आफूमा अन्तरनिहित प्रतिभालाई प्रदर्शनीबाट अभिव्यक्त गरेको धारणा व्यक्त गरे । ललितकला गुठी, उसमाज कलेक्सन र ज्यापु समाजले आयोजना गरेको प्रदर्शनीलाई पाटन संग्रहालयले समेत सहयोग गरेको छ । प्रदर्शनी १० दिनसम्म चल्ने कलाकार डंगोलले जानकारी दिए ।

प्रतिक्रिया