किन चलेन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ?

राज्यको अर्बौं रुपैयाँ लगानी कसरी खेर गइरहेको छ ? भन्ने प्रश्नको ज्वलन्त उदाहरण बनेको छ । भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) । करिव ३१ अर्ब रुपैयाँको लगानीमा गत पुसमा निर्माण सम्पन्न भएको जिआइए गत जेठ १ गते वैशाख पूर्णिमाको दिनदेखि सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा आएको साढे चार महिना पुग्न लाग्दा पनि जिआइएमा एउटा मात्रै विमान सञ्चालन गरिएको छ । कतार गन्तव्यको उक्त विमानले पनि सरकारी उदासीनताका कारण प्रर्याप्त यात्रु पाइरहेको छैन ।

यति ठूलो लगानीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एउटा मात्रै उडान हुनु, त्यसमा पनि प्रर्याप्त यात्रु नपाउनु भनेको सामान्य विडम्वना होइन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिआइएमा भन्दा जिआइएमा उडान गर्दा विमान कम्पनीहरूलाई प्रतिउडान २ लाख ५० हजार रुपैयाँ छुट छ । नेपालबाट कतार जाने यात्रुलाई पनि टिआइएबाट उडान गर्नुभन्दा जिआइएबाट उडान गर्दा जनही पाँच हजार रुपैंया सस्तो पर्छ । त्यसबाहेक तराईका सबै यात्रु र धादिङभन्दा पश्चिम तर्फको पहाडी भेगका सबै यात्रुका लागि काठमाडौंको टिआइएभन्दा भैरहवाको जिआइए पायक पर्छ । तैपनि जिआइएले गति लिन सकेको छैन । जिआइएले गतिलिन नसक्नुमा सरकारी उदासीनताबाहेक अरू कुनै पनि कारण छैनन् ।

भैरहवाको जिआइए विमानस्थल प्रयोग गर्ने यात्रु भनेका पर्यटक होइनन्, वैदेशिक रोजगारमा जाने र आउने यात्र हुन् । अहिले पनि नेपालबाट दैनिक सरदर एक हजार जना वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्छन्, त्यति नै संख्यामा फर्कन्छन् । त्यसमध्ये ७५ प्रतिशत यात्रुलाई भैरहवाको जिआइए नै पायक पर्छ । तर, जिआइएले दैनिक सयभन्दा बढी यात्रु पाउन सकेको छैन । भाडा सस्तो पर्दा पर्दै पनि, धेरैलाई पायक पर्दा पर्दै पनि जिआइएमा यात्रुहरू नजानुको मुख्य कारण कामदारको श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको तथा भिसा आवेदनको काम भैरहवाबाट नहुनु हो । यी कामहरू अझै पनि काठमाडौंबाट मात्रै भइरहेको छ ।

यी काम लिन काठमाडौं आइसकेपछि फेरी प्लेन चढ्नका लागि भैरहवामा पुग्नु व्यावहारिक हुँदैन । अर्कोतर्फ जिआइए सहरी क्षेत्रभन्दा केही टाढा छ । तर विमान उडान तथा अवतरण गर्ने समयमा यातायातको सुविधा छैन । ट्याक्सी रिजर्भ गरेर जाँदा धेरै नै महँगो पर्ने गरेको छ ।

त्यसो त एकैसाथ दुई लाइट भए साँघुरो टर्मिनल भवन, डिपार्चर कक्षमा यात्रु बस्न पर्याप्त कुर्सी नहुनु, भन्सार र इमिग्रेसनमा पर्याप्त कर्मचारी नहुनु, भन्सारको एक्सरे मेसिन र ब्यागेज बेल्ट बेलाबेलामा बिग्रनु, चर्को गर्मी हुने ठाउँ भए पनि भिजिटरका लागि प्रतीक्षालय नहुनु, ग्राउन्ड ह्यान्डलिङमा पनि पर्याप्त जनशक्ति र इक्विपमेन्ट नहुनु, कफी सप, कन्फेक्सनरी र सोभेनियर सप पनि नहुनु, बिजनेस लाउन्ज नहुँदा बिजनेस क्लासका उडान गर्न समस्या लगायतका अनेकौं कठिनाइहरू जिआइएले बेहोर्दै आएको छ ।

सजिलै सामाधन गर्न सकिने समस्या पनि महिनौदेखि थाति छन् । अर्कातिर काठमाडौंको टिआइएले विमान तथा यात्रुको चाप थेग्न सकेको छैन, जसका कारण पर्यटन व्यवसायमा ठूलो असर परिरहेको छ । वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको यतिका महिना बितिसक्दा पनि पूरा प्रयोगमा आउन नसक्नु ठूलो विडम्वना हो । संघीय सरकारलाई व्यापक दबाब दिन नसक्नु स्थानीय सरकार तथा प्रदेश सरकारको पनि कमजोरी हो । स्थानीय होटल व्यवसायीहरू पनि चनाखो हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया