दुर्घटनामा एकै घरका ६ जनाको मृत्यु

सल्यान । बडादसैं सुरु भएको तीन दिन पनि बित्न नपाउँदै सल्यानको कपुरकोटमा बुधबार बिहान नौ जना सवार डबल क्याप जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलासहित आठ जनाको मृत्यु भएको छ । आठै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बाँकेको ढकेरीबाट सिनवाङका लागि छुटेको रा १ ज ५६३ नम्वरको जिप राप्ती राजमार्गअन्र्तगत कपुरकोट गाउँपालिका–३ मूलपानी र वनस्पति कार्यालयबीचको डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा एकै घरका ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी जिप चालक कपुरकोट–६ जलवांङका २१ वर्षीय जितबहादुर बोहराको पनि मृत्यु भएको छ ।

यसैगरी सोही स्थानका ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर वली, उनका ११ वर्षीय छोरा वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षीय ललित वलीको मृत्यु भएको छ ।
दुर्घटना परी कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वली घाइते भएका छन् । बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्कंदै गरेका व्यक्तिलाई बोकेको जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो । चालककै लापरवाहीका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।

गत वर्ष कात्तिक २१ गते भाइटीकाको भोलिपल्ट जिल्लाको दुलधाराबाट दाङको तुलसीपुर जाँदै गरेको ना १ ख २५५२ नम्बरको बस पनि कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको थियो । बस दुर्घटनामा परेर १२ यात्रुको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । त्यतिबेला पनि तीव्र गतिका कारण सहज ठाउँमा दुर्घटना भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
यी दुई त ठुला दुर्घटना मात्र हुन् । जिल्लामा चाडपर्वको समयमा हुने दुर्घटनामा अझै कमी आउन सकेको छ्रैन । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा जिल्लाका विभिन्न स्थानमा १ सय ४५ दुर्घटना भएका छन् । दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने २ सय ४२ घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी दामोदर केसी चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्थाले बढी दुर्घटना हुने गरेको बताउँछन् । ग्रामीण क्षेत्रसँगै राजमार्गमा बढीमात्रामा सवारी दुर्घटना हुने भएकाले राप्ती राजमार्ग केन्द्रित भएर चाडपर्वको समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न प्रहरी र ट्राफिक प्रहरी सक्रियताका साथ लागेको उनले बताए ।

उनले दुर्घटना न्यूनीकरण गर्न र त्यसबाट हुनसक्ने क्षतिलाई कम गर्न चालकसँग दुई मिनेट अभियान पनि सञ्चालन गरिएको जानकारी दिए । ‘बुधबार भएकै घटनालाई हेर्न हो भने पनि सल्यानबाट बिहान बाँके गएर बिहे भोजमा सहभागी भई राती साढे ११ बजे मात्रै जिल्ला फर्किएको पाइयो । जिप कपुरकोट चेक प्वाइन्टमा पनि इन्ट्री नगरेर हिँड्यो । यो चालककै लापरबाही हो,’ उनले भने, ‘घुम्ति पनि छैन, सडक साँघुरो पनि छैन । चालक निदाएको आशंका छ, त्यसैले चालकलाई फ्रेस बनाउन पनि चालकसँग दुई मिनेट अभियान सञ्चालन गरेका छौँ ।’

यसैगरी दसैं–तिहारलाई लक्षित गरेर जिल्लाका सात स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको पनि उनले बताए । स्थानीय तोरण बस्नेतले जीर्ण सडकसँगै सवारी चालकमा हुने अस्वस्थ प्रतिष्पर्धाले दुर्घटनाको जोखिम बढाएको बताए ।

‘सडक जीर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि तीव्र गतिमा सवारी हाँक्नु, क्षमताभन्दा बढी यात्रु राख्नुलगायत कारणले दुर्घटनाको जोखिम धेरै छ’, उनले भने, ‘यात्रुको सुविधाभन्दा पनि चाडपर्वको समयमा बढी पैसा कमाउने लोभले दुर्घटना हुने सम्भावना धरै देखिन्छ ।’


असोज लागेपछि देशका विभिन्न भागमा भएको यो तेस्रो ठुलो दुर्घटना हो । यसअघि असोज ६ गते एकै दिन दुई ठुला दुर्घटना भएका थिए । ती दुई दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो । काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

यसैगरी रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो । काठमाडौंबाट रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया