पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन

साइपालका च्यांग्रा पोखरामा

महेन्द्रनगर । आइतबार राती बझाङको साइपालबाट भेडा/च्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १ सय ७० च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा यही व्यापारमा निस्कने गर्छन् । तीन/चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेका उनले काठमाडौं/पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए । ‘बाटो–बाटोमा वनपखेरामा च्यांग्रा चराउँदै आउनुपर्छ ।’ उनले भने, ‘सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।’ उनले पोखरालगायतका क्षेत्रमा च्यांग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताए ।

‘एक लटमा ५०/६० लाख रुपैयाँसम्मको कारोबार हुन्छ ।’ उनले भने, ‘दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।’ च्यांग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको उनले सुनाए । हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्यांग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरूलाई कुनै खालको सहयोग÷अनुदान नरहेको दुःखेसो गरे उनले ।

‘थोरै मात्रै मेरो घरको भए पनि अरू सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्यांग्रा पोखरा लग्दैछु’, उनले भने, ‘साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।’ गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ कै किन्थे बोहराले गाउँमा थोरै संख्याा किसान भेडा/च्यांग्रा पालनमा रहेको बताए । ‘समयमा पुर्याउनसके राम्रै खपत हुन्छ ।’ ५६ भेडा लिएर पोखरा हिँडेका उनले भने, ‘हामीअघि दुई/चार खेप च्यांग्रा साइपालबाट पोखरा पुगिसक्यो ।’

त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दसैँमा भेडा च्यांग्राको व्यापार गर्न थालेको वर्षौं यो । बझाङ तथा दार्चुलाका भेडा च्यांग्र्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उनको मौसमी व्यापार हो । हिमाली च्यांग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्यांग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्यांग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।

पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा÷च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उनको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्यांग्रा बिक्रीका लागि ओसारिसकेका छन् । ‘दसैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्यांग्रा बिक्री हुन्छ,’ पूर्वअध्यक्ष धामीले भने, ‘बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ । फूलपातीसम्म पनि बिक्री नभए ठूलो घाटा हुन्छ’ उनले भने ।

प्रतिक्रिया