पर्यटन प्रवर्द्धनका लागि कोखे महोत्सव हुने

स्याङ्जा । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’, भन्ने मूल नारासहित १९ असोजदेखि तेस्रो कोखे महोत्सव हुने भएको छ । विजया दशमीको अवसर पारी नवज्योती युवा क्लवले पाँच दिनसम्म उक्त महोत्सव गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । महोत्सवमा स्थानीय कृषिको प्रदर्शन, बृहत् भलिबल प्रतियोगिता, कला संस्कृतिको प्रदर्शनी गरिने महोत्सव मूल आयोजक समितिका संयोजक भविराज गुरुङले बताए । लोपोन्मुख अवस्थामा पुगेको सोरठी, रेलीमै जस्ता संस्कृतिलाई पनि संरक्षण गर्न उक्त महोत्सवले भूमिका खेल्ने गुरुङको भनाइ थियो ।

१० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । वालिङ नपा—१२ मा पर्ने कोखे गाउँ सिद्धार्थ राजमार्गबाट झण्डै १३ किलोमिटर ग्रामीण सडकखण्डमा पर्दछ । महोत्सव अवधिभर बाहिरबाट आउने अतिथिको लागि सहुलियत दरमा कोखे सामुदायिक होमस्टेमा आवासको व्यवस्था गरिएको छ । गुरुङ सुमदायको बाहुल्यता रहेको कोखेमा गुरुङ संस्कृति झल्किने भेषभुषा, झाँकीसमेत प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
यस्तै, युवा पुस्तामा लोकप्रिय भलिबल खेल महोत्वको अर्को आकर्षण हुनेछ ।

खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि एक लाख राखिएको गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए । ‘ग्रामीण क्षेत्रमा खेलिने लोकप्रिय खेललाई प्रोत्साहन गर्न महोत्सव अवधिभर बृहत् भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ’, गुरुङले बताए । यहाँ आउने दर्शकले होमस्टेको अतिरिक्त धाराचु मिनी पार्कको समेत अवलोकन गर्न सक्नेछन् । महोत्सव यही २४ असोजसम्म सञ्चालन हुनेछ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया